9 May 2026, Sat

सिन्धुली–२ मा राजन दाहालको प्रतिद्वन्द्वी नै भेटिएन

काठमाडौँ । सिन्धुली–२ मा महेश्वर दाहालको बागी उम्मेदवारीले नेकपाका आधिकारिक उम्मेदवार राजन दाहाललाई राजनीतिक रूपमा कुनै असर नपार्ने देखिएको छ। जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार तथाकथित विद्रोहले चुनावी समीकरणमा उल्लेख्य प्रभाव पार्ने अवस्था छैन।

नेकपाका नेता हरिबोल गजुरेलले सिन्धुलीबाट विद्रोहको झण्डा उठाएको दाबी गरे पनि जिल्लामा उनको संगठनात्मक आधार र जनसमर्थन दुब्लो रहेको स्थानीयहरू बताउँछन्। गजुरेलले शुक्रबार साँझ करिब दुई घण्टा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका थिए।

नेतृत्वले महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरे पनि उनले अस्वीकार गरेपछि पार्टीले कडा अनुशासनात्मक कारबाही गरेको हो। यस कदमले गजुरेलको राजनीतिक भविष्य नै धरापमा पर्ने निश्चितजस्तै देखिएको छ। निर्वाचनको समयमा मात्र होइन, सधैं जिल्लाका गाउँ–बस्तीमा जनताबीच उपस्थित रहने, स्थानीय समस्या बुझ्ने र तर्क तथा तथ्यका आधारमा राजनीतिक बहस गर्न सक्ने नेताका रूपमा राजन दाहाल स्थापित छन्। त्यसको विपरीत, चुनावको मुखमा हैसियतविहीन गुटिय राजनीति चलाएर पार्टी र जिल्लामा फुट ल्याउने प्रयास असफल भएको विश्लेषण गरिँदैछ।

विशेषतः जेन्जी आन्दोलनपछिको राजनीतिक उथलपुथल र विचारविहीन अराजक प्रवृत्तिहरूलाई तर्क र तथ्यले परास्त गर्न सक्ने नेतृत्व आजको आवश्यकता भएको स्थानीय बुद्धिजीवीहरूको मत छ, र त्यो क्षमता राजन दाहालमा रहेको उनीहरू बताउँछन्। सिन्धुली–२ मा दाहालको विकल्प बन्न सक्ने हैसियतको कुनै उम्मेदवार नरहेको जनमत देखिन्छ। भूगोल र समाज नबुझेका, स्वघोषित विद्वान र सामन्ती मानसिकता बोकेका प्रवृत्तिविरुद्ध फेरि एकपटक दाहाललाई जिताउन जिल्लाबासी एकजुट भएका छन्।

सांसद त जो–कोही बन्न सक्छ, तर कस्तो नेता संसदमा पठाउने भन्ने प्रश्नमा पार्टी नेतृत्वले दाहाललाई आधिकारिकता दिँदै स्पष्ट सन्देश दिएको विश्लेषण गरिएको छ। पार्टी अनुशासनको मर्यादा नाघ्ने जो–कोही कारबाहीको भागीदार हुन्छ भन्ने सन्देश दिँदै नेकपाले आफू कुनै हाहाकारको केन्द्र होइन भन्ने कुरा पुनः स्थापित गरेको छ। बागी षड्यन्त्रमा संलग्न गजुरेल पक्षले क्षेत्र नम्बर २ भरिबाट ३०० मतसमेत कटाउन नसक्ने अवस्था रहेको स्थानीयहरूको दाबी छ। अन्तरघाती र अवसरवादी प्रवृत्तिलाई कडा चेतावनी दिँदै दृढ निर्णयका लागि नेतृत्वलाई धन्यवादसहित सिन्धुलीमा राजन दाहालको विजयको अग्रिम बधाईको लहर चलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *