काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी स्पेस-एक्स र आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईलाई मर्जर गर्ने तयारी गरिरहेका छन् । यसै वर्ष हुन लागेको स्पेस-एक्सको आईपीओभन्दा अगाडि यो मर्जर सम्पन्न गर्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रोयटर्सका अनुसार यो सम्भावित मर्जरले मस्कको शक्तिशाली रकेट कम्पनी स्पेस एक्स, स्टारलिङ्क स्याटलाइट नेटवर्क, सामाजिक सञ्जाल एक्स र ग्रोक एआई च्याटबटलाई एउटै निगम अन्तर्गत ल्याउनेछ । यस प्रक्रियालाई सहज बनाउन गत २१ जनवरीमा नेभाडामा K2 Merger Sub Inc र K2 Merger Sub 2 LLC नामक दुईवटा कानुनी एकाइहरू दर्ता गरिएको नियमनकारी फाइलिङलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
यसैबिच ब्लुमबर्गले मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र स्पेस-एक्सबिचको मर्जरको सम्भावनाका बारेमा पनि चर्चा भइरहेको रिपोर्ट सार्वजनिक गरेको छ । लगानीकर्ताहरूले मस्कका धेरै कम्पनीहरू अलग-अलग हुँदा उनको ध्यान बाँडिएको गुनासो गरिरहेको सन्दर्भमा यो एकीकरणलाई सकारात्मक रूपमा लिइएको ब्लुमबर्गले जनाएको छ ।
मस्कले आफ्ना कम्पनीहरू बीचको स्रोत र पुँजीलाई एकीकृत गर्ने रणनीति अपनाएका छन् । हालै मात्र टेस्ला र स्पेस-एक्स दुवैले एक्सएआईमा २-२ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । यो मर्जर सफल भएमा एक्सएआईका शेयरहरूलाई स्पेस-एक्सको शेयरसँग साटिनेछ, जसले गर्दा यो विश्वकै सबैभन्दा शक्तिशाली प्रविधि र अन्तरिक्ष समूह बन्ने टेकक्रन्चले उल्लेख गरेको छ ।
मर्जरको मुख्य रणनीतिक उद्देश्य अन्तरिक्षमा आधारित डेटा सेन्टर निर्माण गर्नु रहेको रोयटर्सको रिपोर्टमा भनिएको छ । मस्कले हालै डाभोसमा आयोजित एक कार्यक्रममा एआई तालिमका लागि अन्तरिक्ष नै सबैभन्दा सस्तो ठाउँ हुने र आगामी दुईदेखि तीन वर्षभित्र यो सम्भव हुने दाबी गरेका थिए । सौर्य ऊर्जाबाट चल्ने यस्ता अन्तरिक्ष डेटा सेन्टरले एआई मोडेलहरू सञ्चालन गर्ने लागतलाई उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ ।
रक्षा क्षेत्रमा पनि यसको ठुलो प्रभाव पर्ने देखिएको छ । क्विल्टी एनालिटिक्सका विश्लेषक क्यालेब हेनरीका अनुसार एक्सएआईलाई स्पेस-एक्समा गाभ्दा पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय) बाट ठुला रक्षा सम्झौताहरू प्राप्त गर्न सहज हुनेछ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हालै मस्कको स्टारबेस भ्रमण गर्दै ग्रोक एआईलाई सैन्य निर्णय प्रक्रिया र योजना तर्जुमाका लागि सैन्य सञ्जालमा एकीकृत गरिने सङ्केत दिएका थिए ।
वित्तीय पक्षको कुरा गर्दा एक्सएआईको पछिल्लो मूल्याङ्कन २३० अर्ब डलर रहेको छ भने स्पेस-एक्स ८०० अर्ब डलरको मूल्याङ्कन सहित अमेरिकाकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनेको छ । आगामी जुन महिनामा स्पेस-एक्स सार्वजनिक कम्पनी (आईपीओ) को रूपमा आउँदा यसको मूल्याङ्कन १ ट्रिलियन डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
यद्यपि, हालसम्म यो मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छैन र यसको समय र संरचनामा परिवर्तन हुन सक्ने रोयटर्सले जनाएको छ ।

