12 Jun 2026, Fri

पूर्व राष्ट्रिय कुमारीहरूको चन्द्रागिरि–भालेश्वर दर्शन यात्रा हिन्दु–बौद्ध सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह

काठमाडौँ, ज्येष्ठ २४ । नेपालको अद्वितीय जीवित देवी परम्पराको संरक्षण, पूर्व राष्ट्रिय कुमारीहरूको सम्मान तथा हिन्दु–बौद्ध धार्मिक–सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व राष्ट्रिय कुमारीहरूको चन्द्रागिरिस्थित भालेश्वर महादेव दर्शन यात्रा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न कालखण्डमा राष्ट्रिय कुमारीका रूपमा प्रतिष्ठित आठ जना पूर्व कुमारीहरूको सहभागिता रहेको थियो । एक जना पूर्व राष्ट्रिय कुमारी हाल विदेशमा रहेका कारण कार्यक्रममा सात जनाको मात्र सहभागिता रहेको थियो । 

नेपालको कुमारी परम्परा विश्वमै दुर्लभ तथा विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा परिचित छ । विशेषगरी काठमाडौँको वसन्तपुरस्थित कुमारी घरमा नेवा बौद्ध शाक्य समुदायका योग्य कन्यालाई निश्चित गुण तथा लक्षणका आधारमा छनोट गरी राष्ट्रिय कुमारीका रूपमा प्रतिष्ठित गरिने परम्परा रहिआएको छ । नेवा सभ्यताभित्र विकसित यो परम्पराले हिन्दु र बौद्ध धर्मबीचको सहअस्तित्व, समन्वय र धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ ।

हिन्दु धार्मिक मान्यताअनुसार कुमारीलाई शक्तिकी अधिष्ठात्री देवी तलेजु भवानी (दुर्गा) को जीवित स्वरूपका रूपमा पूजा गरिन्छ । मल्लकालमा राजाहरूले कुमारीबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको थियो भने गणतन्त्र स्थापना भएपछि राष्ट्रपतिले कुमारीबाट टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा निरन्तर रहँदै आएको छ । हिन्दु आस्थामा कुमारीलाई राष्ट्र, समाज र जनताको कल्याण तथा संरक्षणको प्रतीकका रूपमा मानिन्छ ।

त्यसैगरी बौद्ध परम्परामा कुमारीलाई वज्रयोगिनी तथा आर्यताराको दिव्य स्वरूपका रूपमा सम्मान गरिन्छ । बौद्ध दर्शनअनुसार कुमारी करुणा, प्रज्ञा र आध्यात्मिक शक्तिको प्रतीक मानिन्छिन् । नेपालका विभिन्न स्थानमा नेवा सभ्यताको विस्तारसँगै स्थानीय स्तरमा पनि आ–आफ्ना कुमारी परम्पराहरू कायम रहँदै आएका छन् ।

कुमारी परम्पराको सबैभन्दा महत्वपूर्ण विशेषता हिन्दुहरूले तलेजु भवानीका रूपमा तथा बौद्धहरूले वज्रयोगिनी–आर्यताराको रूपमा एउटै कुमारीलाई श्रद्धापूर्वक पूजा गर्नु हो । धार्मिक व्याख्या फरक भए पनि श्रद्धाको केन्द्र एउटै हुनु नेपालमा विकसित धार्मिक सहअस्तित्व र सांस्कृतिक समन्वयको उत्कृष्ट उदाहरण मानिन्छ ।

चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिर हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । पूर्व कुमारीहरूको सामूहिक दर्शन यात्राले जीवित देवी परम्परा, नेवा सभ्यता, हिन्दु–बौद्ध सांस्कृतिक सम्बन्ध तथा राष्ट्रिय एकताको सन्देशलाई थप उजागर गरेको सहभागीहरूले बताएका छन् ।

दर्शन यात्राका अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पूर्व कुमारीहरूलाई खादा ओढाई सम्मान गर्नुभएको थियो । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमाला र खादासहित स्वागत गरेका थिए । नेवा परम्परागत धिमे बाजा तथा नेपाली मौलिक बाजागाजासहित पूर्व कुमारीहरूको भव्य स्वागत गरिएको थियो ।

कुमारी घरको आयोजना तथा इन्द्रजात्रा व्यवस्थापन समितिको संयोजनमा सम्पन्न कार्यक्रमका संयोजक एवं इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले पूर्व कुमारीहरूको योगदानप्रति सम्मान व्यक्त गर्नुका साथै नयाँ पुस्तालाई नेपालको मौलिक सांस्कृतिक सम्पदा र धार्मिक सहिष्णुताको परम्पराबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । शाक्यका अनुसार यस्ता कार्यक्रमले नेपालको जीवित सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

“एकता, संस्कृति र आस्थाको अनुपम संगम” भन्ने मूल भावका साथ सम्पन्न उक्त कार्यक्रम कुमारीघर तथा इन्द्रजात्रा व्यवस्थापन समितिको आयोजनामा गौतम रत्न शाक्यको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रमले नेपालमा सदियौँदेखि विकसित हुँदै आएको हिन्दु–बौद्ध सहअस्तित्व, धार्मिक सहिष्णुता तथा सांस्कृतिक एकताको सन्देशलाई थप सशक्त बनाएको विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *