काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ऐतिहासिक ‘आर्टेमिस २’ मिसन अन्तर्गत विश्वभरका सर्वसाधारणलाई आफ्नो नाम चन्द्रमाको कक्षमा पठाउने अवसर दिने भएको छ । इच्छुक जोकोहीले नासाको आधिकारिक वेबसाइटमार्फत आज (बुधबार)सम्म यसका लागि आवेदन दिन सक्नेछन् ।
नासाका अनुसार सङ्कलन गरिएका नामलाई एउटा डिजिटल मेमोरी कार्डमा सुरक्षित गरी ‘ओरियन’ स्पेसक्राफ्टभित्र राखिनेछ । उक्त स्पेसक्राफ्टले चन्द्रमाको परिक्रमा गरी पुनः पृथ्वीमा फर्कने कार्यतालिका छ । यो प्रक्रिया पूर्ण रूपमा निःशुल्क रहेको र दर्ता भएपछि सहभागीले एउटा ‘डिजिटल बोर्डिङ पास’ समेत पाउने नासाले जनाएको छ ।
सन् १९७२ को ‘एपोलो १७’ मिसनपछि यो ५० वर्षभन्दा बढीको अन्तरालमा चन्द्रमाको कक्षमा मानव पठाउन लागिएको पहिलो मिसन हो । आर्टेमिस २ मिसनमा चार जना अन्तरिक्ष यात्री सहभागी हुनेछन् । उनीले पृथ्वीको तल्लो कक्षभन्दा टाढा पुगेर अन्तरिक्ष सञ्चालन, लाइफ सपोर्ट सिस्टम र सञ्चार प्रविधिको परीक्षण गर्नेछन् ।

यस मिसनको मुख्य उद्देश्य भविष्यमा चन्द्रमामा मानव बस्तीको विकास गर्ने र त्यहाँबाट मंगल ग्रहसम्मको यात्राका लागि आवश्यक आधार तयार पार्नु रहेको छ । यसअघि सन् २०२२ मा ‘आर्टेमिस १’ मिसन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
हाल फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा आर्टेमिस २ को रकेट र स्पेसक्राफ्टको अन्तिम तयारी तथा परीक्षण भइरहेको छ । नासाले यो अभियान सर्वसाधारणलाई अन्तरिक्ष अन्वेषणको ऐतिहासिक क्षणसँग जोड्ने माध्यम भएको बताएको छ ।
कसरी दिने आवदेन ?
- सबैभन्दा पहिले यहाँ क्लिक गरेर नासाको वेबसाइटमा जानुहोस् ।
- त्यसपछि आफ्नो पहिलो नाम, अन्तिम नाम र ४ देखि ७ अङ्कको पिन कोड राख्नुहोस् ।
- अनि सब्मिट बटनमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि तपाईंको डिजिटल बोर्डिङ पास तयार हुन्छ । त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ ।

