9 May 2026, Sat

सरकारी वेबसाइटमाथिको श्रृङ्खलाबद्ध साइबर आक्रमणमा संलग्न ह्याकरसँग दुर्गा प्रसाईंको ‘फोटोशुट’

काठमाडौँ । जेन-जी विद्रोहपछि सरकारी वेबसाइटमा शृङ्खलाबद्ध साइबर आक्रमण गर्ने समूह र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिचको सम्बन्ध खुल्ने अर्को तथ्य बाहिर आएको छ । नेपालका विभिन्न सरकारी निकायका वेबसाइटमा आक्रमण गर्दै आएको समूहका एक सदस्य विकास पौडेलले प्रसाईंसँग खिचेको फोटो सार्वजनिक भएको हो । 

‘अन बिकु’ (Own Biku) नामबाट फेसबुकमा सक्रिय विकास पौडेल तिनै व्यक्ति हुन्, जसलाई साइबर ब्युरोले १८ पुसमा पक्राउ गरेको थियो । पौडेलले सामाजिक सञ्जालको ‘स्टोरी’मा आफू दुर्गा प्रसाईंको व्यक्तिगत साइबर टिमको सदस्य रहेको दाबी गर्दै उनीसँगको फोटो राखेका थिए । दुर्गा प्रसाईंले आफू र ह्याकरहरूबिच कुनै सम्बन्ध नरहेको दाबी गरिरहेको बेला दुई पक्षको सम्बन्ध दर्साउने फोटो लिक भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २३ पुसमा जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा पौडेलले प्रसाईंको समर्थनमा सरकारी वेबसाइटमा आक्रमण गरेको स्वीकार गरेको देखिन्छ ।

सरकारी वेबसाइटमा आक्रमण गर्ने ‘नेपाली फर नेपाल’ समूहका प्रमुख सन्देश अर्यालले पनि विकास पौडेल आफ्नो समूहको सदस्य रहेको पुष्टि गरेका छन् । अदालतमा दायर अभियोगपत्रमा अर्यालले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको युजरनेम र पासवर्ड पौडेलबाट २५ हजार रुपैयाँमा खरिद गर्न खोजेको उल्लेख छ ।

दुर्गा प्रसाईंले सार्वजनिक रूपमा आफ्नो ह्याकरसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका छन् । तर, ‘टेकपाना’को सम्पर्कमा आएका ह्याकरले भने प्रसाईंकै उक्साहटमा आफूहरूले सरकारी वेबसाइट ह्याक गरी सेवा अवरुद्ध पारेको बताएका छन् । विशेषगरी गत ७ मङ्सिरमा प्रसाईंले आयोजना गरेको प्रदर्शनको पूर्वसन्ध्यामा उनको साइबर टिममा आबद्ध व्यक्तिले सरकारी संयन्त्रमाथि प्रहार गरेका थिए । तर, त्यसअघि नै १ मङ्सिरमा प्रसाईं पक्राउ परेपछि यस टिमले प्रसाईंको रिहाइका लागि आवाज उठाउँदै आएको थियो ।

पछिल्लो समय प्रसाईंको समूहबाट धम्की आउन थालेपछि उनीसँगै काम गरिरहेका ह्याकरले प्रमाण सार्वजनिक गर्न थालेका हुन् । आइतबार मात्र टेकपानाले प्रसाईं र ह्याकरबिच भएको संवादको अडियो लिक गरेको थियो ।

नेपाली फर नेपालका प्रमुख सन्देश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीलाई ईमेल लेख्दै आफ्नो ज्यानको सुरक्षा दिने ग्यारेन्टी दिए आफू सप्रमाण आत्मसमर्पण गर्ने बताउँदै आएका छन् । 

पढ्नुहोस् दुर्गा प्रसाईं र ह्याकरबिच भएको लेनदेन र सरकारी वेबसाइटमाथि आक्रमण गर्ने गोप्य योजना सम्बन्धी अडियोको ट्रान्सक्रिप्सनः

दुर्गा प्रसाईं: … अब यसको लागि अलि केही समस्या त छैन नि…

ह्याकर: …हामीलाई त्यस्तो केही छैन दाइ । अब त्यही हो… अलिकति … हामीले अस्ति ७ लाख लग्या छ । ७ लाखमा ८ लाख ७० हजारको सामान यता उता गर्‍या छ । अब अरू पैसा चाहिँ हामीलाई दुई-साढे दुई लाखको सामान चाहिँ लिई हाल्नु पर्ने छ । अनि त्यस पछाडि भनेको दाइ मेरो ५ जना भाइहरू छ, हेर्नु है, म सँग काम गर्ने भनेको सबै २०-२१ वर्षको भाइहरू हो । हैन… उनीहरू… उनीहरुको दाइ भविष्य हेरिदिनु पर्‍यो हामीले… त्यति चैं हो दाइ… ५ जना…सब भर्खर १९-२० को? दाइलाई सोध्नु न… उनीहरू भनेको दाइ…हामी सँगै बस्ने, मै सँग बस्छन् । 

दुर्गा प्रसाईं: एउटा त्यो कोइसन भुल्ल्या नि…

ह्याकर: हैन यस्तो… अ अहिले…

दुर्गा प्रसाईं: हिन्दु भन्दा नि बैदिक सनातन … नेसन मात्रै राख्ने होइन, हिन्दु त्यो… हिन्दु हटाइदिने होइन… अनि अर्को डिक्लेरेसन के गर्ने भने कन्स्टिच्युसन… यो कन्स्टिच्युसन खारेज हैन, अन्तरिम कन्स्टिच्युसन जारी गर भनेर भन्ने । अन्तरिमलाई के भन्छ ? 

ह्याकरः Interim

ह्याकर: अर्को चैं हामीले… “Lifetime support for martyrs family and lifetime employment for the people who were hurt during every revolution.” हैन? अनि अर्को चैं “Government staff salary should be… should be more than 1 lakh so they don’t have to involve themselves in corruption.” अनि त्यस पछाडि अन्तिम चैं “Solve every economic  problem of citizen of Nepal and make sure every citizen live a life of economic dignity.”

दुर्गा प्रसाईं: त्यसपछि एउटा काम…के रैछ भने लघुवित्त सहकारी र बैंकको अनि ब्ल्याक लिस्टको पनि हाल कि… यति हाल्दिए मैले गरे जस्तो पनि देखिंदैन नि त…

ह्याकर: अनि अनि हामीले चैं के दिएको छ भन्दा खेरि चैं “Nothing can be hidden from us. Don’t try to test us. Your data will turn into ashes. Don’t try.” भनेको हामीलाई चलाउने काम नगर, खोज्दा पनि नखोज हैन। तिमीहरु छिटिक्क केही गर्छौ भने तिमीहरुको डाटा जति सबै खरानी बनाइदिन्छु।

दुर्गा प्रसाईं: यो चैं कसरी जोड्ने?

ह्याकर: नेपाल सरकारको सबैभन्दा ठुलो पोर्टल भनेको नेसनल पोर्टल (राष्ट्रिय परिचयपत्र)…”Find the hidden killers of our brother and sister on September 8th. Find those culprits who burned our country on September 9th.” “Declare Nepal as Kirat Bouddha Vedic Sanatan Hindu Nation.”

दुर्गा प्रसाईं: त्यो भन्दा माथि, त्यो भन्दा माथि चैं…  … यो २०७२…को…

ह्याकर: यस्तो यस्तो गर्दिम न त…। के भन्छ रे… “We want new Interim Constitution of Nepal 2082.” (हामीलाई २०८२ को अन्तरिम संविधान चाहियो). त्यो भयो । अ नि अरू? Elected चैं हटाउने? 

दुर्गा प्रसाईं: अँ Elected चैं हटाउने…

ह्याकर: अनि अर्को चैं मैले राख्न खोजेको चैं… “Lifetime imprisonment for corruption.” यो चैं एउटा…

दुर्गा प्रसाईं: यो ब्ल्याक लिस्टमा परेको मान्छेहरू चैं नि… बैंकबाट ब्ल्याक लिस्टमा परेको मान्छेहरुलाई के भन्छ ?

ह्याकर: त्यो चैं यहाँ लेखेको छु “Solve every economic problem of citizen of Nepal.” हरेक नेपाली नागरिकको आर्थिक समस्या चैं समाधान गर।

दुर्गा प्रसाईं: अनि बैंक… सहकारी र लघुवित्त… फाइनान्सियल इन्स्टिच्युसन… बाट ब्ल्याक लिस्टमा परेको मान्छेहरूलाई पनि हटा । 

ह्याकर: त्यसमै पर्‍यो दाइ । इकोनोमिकाेमा… आर्थिक समस्या भन्नु बित्तिकै त्यसमै पर्‍यो नि ।

ह्याकर: हामी हो दाइ अब…   नेपालको सरकारी वेबसाइट १०० वटा छ । बैङ्क २० वटा छ । प्राइभेट कम्पनीहरू ३० वटा छ । हाम्रो अहिले लिस्टमा चैं १५० वटाको चैं हामी तयारी गर्ने हो । 

ह्याकर: जस्तो हामीले हिजो चैं सुरुमा चैं ‘वेस्टर्न युनिभर्सिटी’ को हान्नुको कारण के हो भन्दा खेरि वेस्टर्न युनिभर्सिटीको वेबसाइट बनाउने भनेको त्यहाँ भित्रकै ‘कंकाल साइबर सेक्युरिटी’ जानेका केटाहरूले हो । जति स्रोत र साधन साइबर सेक्युरिटीमा वेस्टर्न युनिभर्सिटी सँग छ, त्यति स्रोतको २० पर्सेसन्ट स्रोत र साधन नेपाल सरकारसँग छैन भन्ने कुरा हामीले हिजो बुझियो।

ह्याकर: हिजो पिरियडदेखि १ घण्टा ४५ मिनेट हामीले वेस्टर्न युनिभर्सिटी ‘फर्स्ट अट्याक’ मा… फर्स्ट अट्याकमा हामी हो । अनि हामीले यता चैं कृषि मन्त्रालयको चैं हामीले १८ घण्टा पछि चैं आफैले छोड्देको हो दाइ । अब गर्‍यो भने चैं किन त्यो … पङ्गा लिने भनेर १८ घण्टा पछि छोड्देको दाइ।

दुर्गा प्रसाईं: अब हामीले एउटा प्लान गरौं… 

ह्याकरः यिनै छन् हामी सँग हेर्नु… जस्तो हामीले अहिले प्रायोरिटीमा राखेको हैन… यो Nepal.gov.np (नेपाल डट जीओभी डट एनपी)…

… 

दुर्गा प्रसाईं: १२ बजे?

ह्याकर: १२ बजे… १२ बजे एकैचोटि अपलोड होस् न । १२ बजे सुरुमा तपाइको प्रधानमन्त्री र नेसनल हान्ने हो हैन । अनि त्यस पछाडि लगत्तै बिहान ६ बजे ७ बजे सम्म मान्छे जुरुक्क उठेर हेर्दा खेरि नेपालको डिजिटल वर्ल्ड नै कब्जा भैसकेको हुन्छ ।

दुर्गा प्रसाईं: ल त्यही प्लान गर्ने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *