काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजन उद्घाटन खेलबाटै डिजिटल पाइरेसीको चपेटामा परेको छ । प्रतियोगिताको अवैध प्रत्यक्ष प्रसारणले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा व्यापकता पाएको हो ।
सामाजिक सञ्जालमा ‘काठमाडौँ गोर्खाज भर्सेस जनकपुर बोल्ट्स’ भनेर खोज्दा सयौँ पेज र च्यानलहरूले अवैध रूपमा प्रत्यक्ष प्रसारण गरिरहेको भेटिन्छ । अधिकांशले आधिकारिक प्रसारणको वाटरमार्क हटाएर आफ्नो लोगो वा वाटरमार्क राखेर लाइभ गरेका छन् ।
यस्ता अवैध लाइभमा हजारौँ दर्शकले खेल हेरिरहेका देखिन्छन् । यसैगरी ‘यासिम टिभी’ जस्ता प्लेटफर्ममार्फत पनि खेलको पाइरेसी भइरहेको पाइएको छ ।
एनपीएलको प्रत्यक्ष प्रसारणको अधिकार टेलिभिजनका लागि स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्सले र ओटीटीका लागि भारतमा फ्यानकोड र त्यस बाहेकका देशमा डिशहोम डिशहोम गोले पाएको छ ।
यद्यपि आधिकारिक प्लेटफर्ममध्येको एक डिशहोम गोले पहिलो खेल सबैका लागि निःशुल्क उपलब्ध गराए पनि प्रयोगकर्ताले विभिन्न प्राविधिक समस्या भोग्नु परेको गुनासो गरेका छन् । एप क्र्याश हुने, कालो स्क्रिन (ब्ल्याङ्क पेज) देखिने र भुक्तानी भइसकेपछि पनि पुनः भुक्तानीका लागि अनुरोध आउने जस्ता समस्या देखिएको प्रयोगकर्ताहरूको भनाइ छ ।
प्रतियोगिताको सुरुवातमै देखिएको यो पाइरेसीले आयोजक र आधिकारिक प्रसारकलाई ठुलो चुनौती थपिदिएको छ ।

