काठमाडौँ । मङ्गलबार इन्टरनेट पूर्वाधार प्रदायक क्लाउडफ्लेयरको सेवामा आएको बगका कारण विश्वभरका धेरै वेबसाइट केही घण्टा चल्न सकेनन् । एक्स, च्याटजीपीटी, डाउनडिटेक्टर लगायत धेरै प्लेटफर्ममा पहुँच रोकियो ।
क्लाउडफ्लेयरका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) डेन् नेकटका अनुसार नियमित रूपमा गरिएको एक सानो कन्फिगरेसन परिवर्तनपछि बोट रोक्ने (Bot Mitigation) प्रणालीमा रहेको लुकेको बग सक्रिय भयो र सेवा क्र्यास भयो । उनले घटनालाई ‘अस्वीकार्य’ भन्दै सार्वजनिक रूपमा माफी मागेका छन् ।
यो समस्या नेपाली समयअनुसार साँझ ५:३३ तिर सुरु भएको थियो । समस्या फैलिँदै जाँदा क्लाउडफ्लेयरमा चलेका धेरै वेबसाइट मात्र नभई कम्पनीका एक्सेस र डब्लूएआरपी जस्ता सेवा पनि ठप्प भए ।
क्लाउडफ्लेयरले नेपाली समयअनुसार बेलुकी साढे ८ बजेतिर समस्या समाधान गरेर पुनः सेवा सञ्चालन गर्न थाल्यो । तर एनालिटिक्स, एरर लकिङजस्ता ड्यासबोर्डका केही फिचर केही समयसम्म आंशिक रूपमा प्रभावित नै रहे ।
क्लाउडफ्लेयरको बोट नियन्त्रण प्रणाली धेरै ठुला वेबसाइट र एपीआईको ट्राफिकसँग सिधै जोडिने भएकाले यसमा समस्या आउँदा विश्वभर असर पर्ने गर्दछ ।
यसबाहेक पछिल्लो एक महिनामै यो तेस्रो ठूलो इन्टरनेट अवरोध हो । यसअघि अमेजन वेब सर्भिस र माइक्रोसफ्ट अज्योर दुवैमा ठूलो समस्या आइसकेको छ ।

