9 May 2026, Sat

दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सोमबार उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो ।

निर्वाचन आयोगले प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीको साइबर ब्युरोलाई आइतबार पत्राचार गरेको थियो ।

प्रसाईंले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा नेपाली कांग्रेस (गगन थापा नेतृत्वको समूह) लाई आधिकारिकता दिने क्रममा निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लेनदेन गरेको गम्भीर तर अपुष्ट दाबी गरेका थिए । सोही दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि आयोगले कानुनी कदम चालेको हो ।

प्रसाईंले सार्वजनिक गरेको उक्त भिडियोको सत्यता पुष्टि नभएको र यसले निर्वाचन जस्तो संवेदनशील विषयमा आम जनतालाई भ्रमित पारेको आयोगको ठहर छ ।

विगतमा पनि विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा रहँदै आएका प्रसाईंलाई अब साइबर अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उनलाई पोखराबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *