26 Apr 2026, Sun

समाचारको आडमा जुवाको प्रचार, डाफा न्युजलाई एनपीएलको ‘न्युज पार्टनर’ बनाएपछि क्यानमाथि कारबाहीको तयारी*

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो क्रिकेट फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ बनेको डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ)को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ । समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन’ गरेको भन्दै विज्ञापन बोर्डले यसमाथि कारबाहीको तयारी थालेको छ ।

नाममा समाचार भए पनि यसको वेबसाइटमा खेलसँग सम्बन्धित समाचार बिरलै अपडेट हुन्छन् । स्वयं समाचार साझेदार रहेको एनपीएलकै समाचारसमेत वेबसाइटमा भेटिँदैन ।
डाफा न्युजको वेबसाइटको हेडरमा राखिएको टेलिग्रामको लिङ्कले प्रयोगकर्तालाई ‘डाफा इन्डिया’ नामक च्यानलमा पुर्‍याउँछ । उक्त च्यानलमा बेटिङ प्लेटफर्म ‘डाफा बेट’मा लैजाने दर्जनौँ लिङ्कहरू राखिएका छन् । यसले डाफा न्युजले कसरी प्रयोगकर्तालाई बेटिङ साइटसम्म पुर्‍याइरहेको छ भन्ने स्पष्ट पार्छ ।



डाफा न्युज र बेटिङ साइट डाफा बेटको लोगो, ब्रान्ड कलर र डिजाइनमा समानता हुनुले पनि यो बेटिङ कम्पनीकै सरोगेट विज्ञापन भएको पुष्टि हुन्छ ।



यसअघि विज्ञापन बोर्डले १ भदौ २०८२ मा सूचना जारी गर्दै वनएक्स ब्याट, उल्फ ७७७ सँगै डाफा न्युजलाई पनि सट्टेबाजी प्लेटफर्मका रूपमा किटान गरेको थियो । यो विषय सार्वजनिक भएपछि विज्ञापन बोर्डले कारबाही प्रक्रिया अघि बढाएको छ ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले डाफा न्युजलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जानकारी दिए । “एनपीएल हिजो (सो‍मबार)बाट सुरु भएको छ, हामीले कारबाहीका लागि स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाएका छौं,” हुमागाईंले टेकपानासँग भने ।

नेपालमा अनलाइन सट्टेबाजी र त्यसको प्रचारप्रसार पूर्ण रूपमा गैरकानुनी मानिन्छ । बोर्डले डाफा न्युज लगायतका प्लेटफर्मको विज्ञापन नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिएको थियो । यद्यपि सरोगेट विज्ञापनका सन्दर्भमा स्पष्ट कानुन नभएको जिकिर गर्दै क्यानले त्यस्ता कम्पनीहरूलाई प्रायोजकको रूपमा भित्र्याएको छ ।

*समाचारको शीर्षक अपडेट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *