काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलनमा निर्वाचन आयोगको अपेक्षाविपरीत निराशाजनक सहभागिता देखिएको छ । झन्डै डेढ महिनाको अवधिमा आयोगले १५ लाख नयाँ मतदाता थपिने अपेक्षा राखेकोमा हालसम्म एक लाख नयाँ मतदाता मात्र थपिएका छन् ।
२३-२४ भदौको ‘जेनजी विद्रोह’ पछि गठन भएको अन्तरिम सरकारले फागुन अन्तिम साताका लागि निर्वाचन मिति तोकेको थियो । त्यही अनुरूप आयोगले ९ असोजदेखि अनलाइन रूपमै मतदाता प्रि-रजिस्ट्रेसन गर्दै नामावली सङ्कलन कार्य पुनः सञ्चालन गरेको थियो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनकारीको मागबमोजिम संसद् विघटनको सिफारिस गरेपछि निर्वाचनको मिति तय भएको थियो ।
आयोगका अधिकारीहरूले अभियानको सुरुवाती चरणमा ३० कात्तिकसम्म १५ लाख नयाँ मतदाता थपिने प्रक्षेपण गरेका थिए । तर, अब करिब १३ दिन मात्र बाँकी रहँदा ठुलो सङ्ख्यामा मतदाता आउन बाँकी रहेको देखिएको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले अपेक्षित सङ्ख्या प्राप्त नभएको स्वीकार गर्दै थपिएको वास्तविक सङ्ख्याबारे जानकारी दिए । “मतदाता नामावली सङ्कलनका लागि आवेदन खुलाइएपछि हालसम्म एक लाखभन्दा बढी मतदाता मात्र थपिएका छन्,” टेकपानासँग घिमिरेले भने, “हामीले यो अवधिमा १५ लाख नयाँ मतदाता थपिन्छन् भन्ने अपेक्षा गरेका थियौं ।”
थपिने नयाँ मतदातामा अधिकांश युवापुस्ता देखिएको उनले सुनाए । यद्यपि आयोगले औपचारिक रूपमा तथ्याङ्क निकालिसकेको छैन । त्यस्तै मतदाता परिचयपत्र बनाउन कति योग्य नेपाली नागरिक छन् भन्नेबारे हाल यकिन तथ्याङ्क उपलब्ध नभएको पनि उनले स्पष्ट पारे ।
पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ १२:४९

