26 Apr 2026, Sun

धवलागिरिमा संकटापन्न रेडपाण्डाको फेला – संरक्षण अभियान तीव्र

धवलागिरी गाउँपालिकाको वडा नं. २ र ३ अन्तर्गत पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संकटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) फेला परेका छन्। तीनवटा क्यामेरा ट्यापिङमार्फत गरिएको अध्ययनमा दुई क्यामेरामा रेडपाण्डाको उपस्थिति पुष्टि भएको हो।

जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) का अनुसार सो क्षेत्रमा हाल करिब ६ देखि २५ वटा रेडपाण्डा बसोबास गर्दै आएका छन्। अनुसन्धानले गूर्जा, लुलाङ र मुना क्षेत्रका जङ्गलहरूमा प्रशस्त आहार स्रोत — निगालो र पालिङ्गो — र सुरक्षित बासस्थानका कारण रेडपाण्डाको अस्तित्व कायम रहेको जनाएको छ।

तर, चोरीसिकार, डढेलो, सडक विस्तार तथा बढ्दो मानवीय गतिविधिका कारण रेडपाण्डाको जीवन संकटमा पर्ने खतरा बढ्दै गएको विज्ञहरूले चेतावनी दिएका छन्।

वायोकस नेपालले दातृ निकाय टोलेडोजु को सहयोगमा समुदायस्तरमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिरहेको छ। यस अभियानमा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, आमा समूह, युवा क्लब तथा सामुदायिक वन उपभोक्ता समूहहरूलाई सक्रिय रूपमा संलग्न गराइएको छ।

संरक्षणकर्ताहरूको भनाइमा रेडपाण्डा नेपालको हिमाली क्षेत्रको महत्वपूर्ण जैविक सम्पदा हो। यसको प्रभावकारी संरक्षणले स्थानीय पर्यटन, रोजगारी र आम्दानीमा नयाँ अवसर ल्याउने अपेक्षा गरिएको छ।

– सन्तोष गौतम / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *