28 May 2026, Thu

जेनजी प्रदर्शनका क्रममा बैंकको सिस्टम ध्वस्त भयो भन्दै सर्वसाधारणको अकाउन्ट ह्याक गर्ने दाउ

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको प्रणाली बिग्रिएको भन्दै ठगहरूले सर्वसाधारणलाई निशाना बनाउन थालेका छन् । बैंकको सिस्टम ध्वस्त भएको दाबी गर्दै ‘केवाईसी अपडेट’ गर्नुपर्ने बहानामा स्क्यामरहरूले ग्राहकलाई जालमा पार्ने प्रयास भइरहेको पाइएको छ ।

उनीहरूले पठाएको लिङ्कमा क्लिक गर्न लगाउने र अन्त्यमा बैंक खाताका गोप्य विवरणहरू चोरी गरी रकम ह्याक गर्ने गरेको देखिएको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता देवेन्द्र कोइरालाले आफूमाथि भएको ठगी प्रयासको अनुभव बाँडेका छन् । उनका अनुसार केही दिनअघि उनलाई ९७००५५४५६८ नम्बरबाट फोन आयो । ट्रुकलरमा उक्त नम्बरको नाम ‘Rastriya Banijiya Limited’ देखाइएको थियो ।

फोनमा ठगले भनेको थियो, “जेनजी आन्दोलनमा बैंकको सबै रेकर्ड ध्वस्त भयो । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने भएकोले तपाईंको एसएमएसमा एउटा लिङ्क पठाएको छु । यो खोलेर अपडेट गर्नुहोस्, म होल्डमै बस्छु, केही समस्या परे भन्नु ।”

वाणिज्य बैंकमा आफ्नो खाता भएकाले र प्रदर्शनका क्रममा बैंकमा तोडफोडको समाचार पनि बाहिर आएकाले देवेन्द्रले सुरुमा विश्वास गरिहाले । तर, तत्काल आफू इन्टरनेट पहुँचमा नभएको बताउँदा, फोन गर्ने व्यक्तिले कार्यालय समयपछि अपडेट नहुने भन्दै जतिसक्दो चाँडो काम सक्न दबाब दियो ।

लगत्तै देवेन्द्रले उक्त लिङ्क खोले । लिङ्कमा युजर आईडी र पासवर्ड राख्न भनिएको थियो । उनले आफ्नो विवरण राखे । तत्कालै उनको डिभाइसमा ओटीपी कोड आयो । तर, वेबसाइटको डिजाइन उनले नियमित प्रयोग गर्ने बैंकको वेबसाइटभन्दा फरक थियो र त्यहाँ अनावश्यक विज्ञापन पनि देखिएका थिए ।

शङ्का लागेपछि देवेन्द्रले ओटीपी कोड बेवास्ता गरे । तत्कालै उनले आफ्नो खातामा रहेको रकम अर्को सुरक्षित खातामा सारे । त्यसपछि उनले बैंकमा फोन गरेर वास्तविकता बुझे । आफू ठगीको शिकार बन्नबाट जोगिएको थाहा पाएपछि उनले स्क्यामरलाई फोन गरी भने, “हत्कडी लगाउन तयार भएर बस ।”

देवेन्द्र कोइराला त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना दिनानुदिन बढ्दै गएपछि बैंकहरूले ग्राहकलाई थप सावधानी अपनाउन सुझाव दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले समेत आफ्ना ग्राहकलाई अपरिचित नम्बरबाट आएका लिङ्क नखोल्न र कसैलाई पनि ओटीपी कोड वा व्यक्तिगत विवरण नदिन आग्रह गरेको छ । बैंकले हालै जारी गरेको सूचनामा भनिएको छ, “केही ठगहरूले राष्ट्रिय वाणिज्य बैंकको नाम दुरुपयोग गरी ग्राहकलाई फोन गर्ने, व्यक्तिगत विवरण माग्ने वा आकर्षक अफरको नाममा धोका दिने गतिविधि गरिरहेका छन् । कृपया यस्तो फोन वा सन्देशमा विश्वास नगर्नुहोस् र आफ्नो खाता सुरक्षित राख्नुहोस् ।”

देवेन्द्रले साझा गरेको नम्बर ट्रुकलरमा हेर्दा ‘Rastiya Banijiya Limited’ लेखेको देखिन्छ । र, लोगो पनि बैंकको राखिएको छ । तर, स्पेलिङ गलत छ । ट्रुकलरमा स्पेलिङ सही छ भने सही भन्ने हुँदैन । ट्रुकलर इन्स्टल गरी उक्त व्यक्तिले आफ्नो नाम जे राखेको छ अर्को व्यक्तिको ट्रकलरमा त्यही नाम देखिन्छ । भेरिफाइड मार्क नै देखिएको छ भने पनि शतप्रतिशत त्यही व्यक्ति हो भन्ने हुँदैन । ईमेल प्रयोग गरेर भेरिफाइ गरेको छ भने व्यक्तिको नामको पछाडि ट्रुकलरमा भेरिफाइड मार्क देखिन्छ । यसरी फोन गरेर लिङ्क पठाएको भन्दै क्लिक गर्न लगायो भने सचेत हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ १९:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *