काठमाडौँ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा उजुरी दिने हदम्याद बढेको छ । अब पीडितले कसुर भएको थाहा पाएको मितिले ९० दिनभित्र उजुरी दिन सक्ने भएका छन् ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ नेपाल राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ व्यवस्था कानुनी रूपमा लागु भएको हो । यसअघि यो हदम्याद ३५ दिनको थियो छोटो हदम्यादका कारण धेरै पीडितले समयमा उजुरी दिन नसक्ने र प्रमाण जुटाउन कठिन हुने समस्या भएको सरोकारवालाले बताउँदै आएका थिए ।
सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, चरित्रहत्या, अनलाइन ठगी, ह्याकिङ जस्ता विद्युतीय अपराधका घटनामा प्रमाण संकलन गर्न र कानुनी प्रक्रिया बुझ्न समय लाग्ने भएकाले हदम्याद बढाउनुपर्ने माग हुँदै आएको थियो ।

