काठमाडौँ । यदि तपाईं नयाँ आईफोन किन्ने सोचमा हुनुहुन्छ भने तपाईंसँग दुई ओटा विकल्प छन् । कि त तपाईंले तुरुन्तै आईफोन १६ किन्नुपर्यो, कि त केही समय पर्खेर एप्पलको अर्को भर्सन आईफोन १७ खरिद गर्नुपर्यो । यो नयाँ फोन अबको करिब एक महिनामा सार्वजनिक हुने अपेक्षा गरिएको छ । त्यसोभए कुन रोज्नु उत्तम होला ?
सेप्टेम्बरमा आईफोन १७ सार्वजनिक हुने सम्भावना भएकाले केही समय पर्खनु बुद्धिमानी हुन सक्छ । यसो गर्दा तपाईंले कि त नयाँ फोन किन्न पाउनुहुनेछ, कि त आईफोन १६ छुट मूल्यमा पाउनुहुनेछ । एप्पलले आधिकारिक रूपमा आईफोन १७ को अस्तित्व पुष्टि गरेको छैन र हामीसँग कुनै आधिकारिक विवरण वा विशेषता पनि छैनन् । तर बजारमा चलेका हल्ला, लिक भएका जानकारी र अनुमानका आधारमा आईफोन १६ सँग यसको तुलना यस्तो हुन सक्छ ।
आईफोन १६ र १७ मा फिचरका हिसाबले कुन राम्रो ?
एप्पलले आईफोन १७ बारे कुनै आधिकारिक जानकारी नदिए पनि हल्लाले बजार भने तातेको छ । र, विश्वसनीय स्रोतबाट विभिन्न जानकारी लिक भएका छन् । यी अनुमान आईफोन १७ का प्रो मोडेलदेखि लिएर ‘एयर’ मोडेलसम्म फैलिएका छन् । एप्पलले सामसङको सबैभन्दा पातलो फोन एस २५ एजलाई टक्कर दिन आईफोन १७ ‘एयर’ ल्याउने तयारी गरेको छ । यहाँ हामी बेसलाइन (साधारण) आईफोन १७ मा केन्द्रित हुनेछौं:
स्क्रिनमा के छ फरक ?
सबैभन्दा धेरै प्रतीक्षा गरिएको परिवर्तनमध्ये एक आईफोन १७ मा १२० हर्जको डिस्प्ले हुन सक्छ । हाल यो उच्च रिफ्रेस रेट प्रो मोडेलमा मात्र उपलब्ध छ । जबकि साधारण र प्लस मोडेल ६० हर्जको डिस्प्लेमा सीमित छन् । यदि रिफ्रेस रेट बढाइयो भने एप्पलले साधारण मोडेलमा ‘अलवेज-अन डिस्प्ले’ फिचर पनि ल्याउन सक्छ । यसले गर्दा फोन नउठाइकनै समय र नोटिफिकेसन हेर्न सजिलो हुनेछ ।
आईफोन १७ मा स्क्र्याच-रेसिस्टेन्स र एन्टी-रिफ्लेक्टिभ डिस्प्ले हुने वा नहुने भन्नेमा केही मतभेद छन् । तर हालैका रिपोर्टले यो सुविधा आईफोन १७ प्रो र प्रो म्याक्समा मात्र उपलब्ध हुने र साधारण आईफोन १७ (वा एयर) मा नहुने सङ्केत गरेका छन् । त्यसैले स्क्रिनको गुणस्तरमा आईफोन १६ र १७ बीच ठुलो भिन्नता नहुन सक्छ ।
क्यामेरामा भिन्नता
आईफोन १७ को सेल्फी क्यामेरा हालको आईफोन १६ मा रहेको १२ मेगापिक्सेलबाट बढेर २४ मेगापिक्सेलमा अपग्रेड हुने सम्भावना छ । राम्रो फोटोका लागि मेगापिक्सेल मात्र सबै थोक होइन । तर, यदि यो अपग्रेड भयो भने सेल्फी खिच्न वा सामाजिक सञ्जालका लागि भिडिओ बनाउन फ्रन्ट क्यामेराको गुणस्तरमा कुनै सम्झौता गर्नुपर्ने छैन ।
एप्पलको आगामी आईफोन लाइनअपको क्यामेरा बम्प (उठेको भाग) को बारेमा पनि चर्चा चलेको छ । सम्भवतः प्रो मोडेलमा मात्र क्यामेरालाई फोनको पछाडिपट्टि तेर्सो रूपमा फैलिएको नयाँ र ठुलो प्यानलमा राखिनेछ (जसले गुगल पिक्सेल ९ को ‘जोर्डी भाइजर’को झल्को दिन सक्छ )। साधारण मोडेलमा भने आईफोन १६ कै जस्तो क्यामेरा डिजाइन कायम रहने सम्भावना छ । तर, आईफोन १७ एयरमा पनि तेर्सो डिजाइनमा क्यामेरा बार रहने हल्ला छ । यो त समयले नै बताउनेछ ।
डिजाइनमा भिन्नता
बाहिरिएका विभिन्न जानकारी अनुसार आईफोन १६ जस्तै आईफोन १७ मा पनि एल्युमिनियम फ्रेम हुनेछ । (वास्तवमा आईफोन १७ एयर बाहेक सम्पूर्ण लाइनअपमा यही हुन सक्छ, एयरमा भने फोनलाई हल्का बनाउन टाइटेनियम फ्रेम प्रयोग हुन सक्छ ।)
केही रिपोर्टले आईफोन १७ मा प्रोक्सिमिटी सेन्सरका लागि नयाँ कम्प्याक्ट ‘मेटालेन्स’ प्रविधि प्रयोग हुने बताएका छन् । यसले गर्दा फेस आईडी सेन्सर र डाइनामिक आइल्याण्डको आकार घट्न सक्छ । यसले आईफोन १७ को डिस्प्लेको माथिल्लो भागमा थोरै बढी ठाउँ दिन सक्छ ।
प्रोसेसर र र्याम
दुवै फोनमा समान रहन सक्ने एउटा मुख्य तत्व प्रोसेसर हो । बाहिरिएका जानकारी अनुसार आईफोन १७ मा पनि आईफोन १६ मा जस्तै ए१८ चिप नै हुनेछ ।
एप्पलले आफ्नो ‘एप्पल इन्टेलिजेन्स’ सुइटको एआई क्षमता विस्तार गर्ने योजना बनाएकाले आईफोन १७ लाइनअपमा हालको ८ जीबीको सट्टा १२ जीबी र्याम आउने सम्भावना उच्च छ । अप्रिलमा विश्लेषक मिङ-ची कुओले आईफोन १७ एयर र प्रो मोडेलमा १२ जीबी र्याम हुने बताएका थिए । तर साधारण मोडेलमा पनि यो उच्च र्याम राख्ने कि नराख्ने भन्नेमा एप्पलले निर्णय गरिसकेको थिएन । मे महिनामा अर्का विश्लेषक जेफ पुले साधारण मोडेलमा ८ जीबी र्याम नै रहने उल्लेख गरे । एप्पलले अन्तिममा के निर्णय गर्छ त्यो हेर्न पर्खनुपर्नेछ । यसअघि एप्पलका एआई फिचरहरू अन्य स्मार्टफोनका फिचरको तुलनामा कमजोर देखिंदै आएका छन् । ती फिचलाई पनि सुधार गर्न र प्रतिस्पर्धीका अघि आफूलाई अब्बल सावित गर्न कम्पनीले यस पटक एप्पल इन्टेलिजेन्सलाई बढी प्राथमिकता दिने सम्भावना रहेको छ ।
कलर अप्सन
फोनको भित्री विशेषता महत्त्वपूर्ण भए पनि मानिस आईफोन १७ कुन-कुन कलर भेरियन्टमा आउँछ भनेर जान्न उत्सुक हुन्छन् । बाहिरिएका जानकारी अनुसार यो फोन कालो, नीलो, सिल्भर, बैजनी र हरियो कलरमा आउन सक्छ । तुलनाको लागि आईफोन १६ कालो, सेतो, गुलाबी, टिल र अल्ट्रामारिन कलरमा उपलब्ध छ ।
त्यसोभए अहिले आईफोन १६ किन्ने कि १७ पर्खिने ?
यदि तपाईंलाई तुरुन्तै नयाँ फोन चाहिएको छ र अब पर्खिन सक्नुहुन्न भने आईफोन १६ किन्नु नै उत्तम हुन्छ । तर यदि तपाईं सेप्टेम्बरसम्म पर्खिन सक्नुहुन्छ भने तपाईंले कि त नयाँ आईफोन १७ किन्न पाउनुहुनेछ कि त आईफोन १६ मा छुट पाउनुहुनेछ । विगतका वर्षहरूमा एप्पलले पुराना मोडेलको मूल्य करिब १०० डलरले घटाउने गरेको छ ।
सम्भवतः आईफोन १६ र १७ बीचका परिवर्तन सामान्य नै हुनेछन् । एप्पलले नयाँ सुविधाहरू पहिले आफ्नो प्रो मोडेलमा ल्याउने र त्यसपछि मात्र सम्पूर्ण लाइनअपमा विस्तार गर्ने गर्छ । उदाहरणका लागि यसअघि आईफोन १४ प्रोमा डाइनामिक आइल्याण्ड र आईफोन १५ प्रोमा एक्सन बटन ल्याएको थियो । पछि यी फिचर अन्य लाइनअपमा पनि विस्तार भएका थिए । त्यसैले आईफोन १७ प्रो मोडेलमा आउने हल्ला गरिएको एन्टी-रिफ्लेक्टिभ डिस्प्ले र नयाँ डिजाइनको क्यामेरा जस्ता आकर्षक क्षमता सुरुमा प्रिमियम फोनमा मात्र सीमित हुन सक्छन् ।
तर, सबैभन्दा ठुला परिवर्तन अर्को वर्ष आईफोनको २० औं वार्षिकोत्सवमा आउन सक्छन् । त्यसका लागि एप्पलले फोनको डिजाइनमा ‘ठुलो फेरबदलको तयारी’ गरिरहेको ब्लुमबर्गले रिपोर्ट गरेको छ । यसमा लामो समयदेखि हल्लामा रहेको फोल्डेबल फोन र ‘सिसाको बढी प्रयोग भएको नयाँ बोल्ड प्रो मोडेल’ आउने सम्भावना उच्च छ । आईफोन १७ को घोषणा हुन बाँकी नै भए पनि भविष्यमा आउने फोनबारे सोच्न कहिल्यै हतार गर्नु हुँदैन ।

