काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले सरकार र विश्वविद्यालयहरूले दलालसँग मिलेर युवाहरूलाई विदेश जान बाध्य पार्ने नीति लिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमै सूचना प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान जस्ता विषय पढाउने कलेजहरू नखोलेर युवाको भविष्यमाथि खेलबाड गरिएको गुनासो गरे ।
“नेपालमा युवाहरू डाक्टर, इन्जिनियर र आईटी विज्ञ बन्न चाहन्छन्, तर यहाँ पढ्ने वातावरण छैन,” सांसद भण्डारीले आक्रोश पोख्दै भने, “यहाँ तलदेखि माथिसम्म दलालहरूसँग मिलेर युवालाई विदेश पठाउने र नेपालमा कुनै पनि प्राविधिक कलेज नखोल्ने षड्यन्त्र भइरहेको छ ।”
त्रिभुवन विश्वविद्यालयको सन्दर्भ उठाउँदै उनले भने, “त्रिभुवन विश्वविद्यालय सधैँ किन बन्द भइरहन्छ ? सरकारले नयाँ कार्यक्रम ल्याउन किन सक्दैन ? अहिले एसईई दिइसकेका विद्यार्थी प्लस टु कुन विषय पढ्ने भनेर दौडिरहेका छन् । प्लस टुको रिजल्ट पनि आउँदैछ । अधिकांश विद्यार्थी फार्मेसी, डक्टर, प्यारामेडिकल वा प्योर आईटी पढ्न चाहन्छन् । तर त्यसका लागि आवश्यक कार्यक्रम हामी किन ल्याउँदैनौँ ? ध्यान किन दिँदैनौँ ?”
समयसापेक्ष शैक्षिक कार्यक्रमहरू ल्याउन नसक्नु दुःखद पक्ष रहेको उनको भनाइ थियो । “हाम्रा १२ कक्षा पढेका युवाहरूले रोबोट र कम्प्युटर बनाइरहेका छन्, तर उनीहरूलाई स्वदेशमै पढ्ने वातावरण बनाउनुको साटो १२ देखि २२ लाख रुपैयाँ तिरेर विदेश जान बाध्य पारिएको छ, जसले देशको सम्पत्ति बाहिरिरहेको छ ।”
उनले सरकार र नेताहरूको विदेश भ्रमणप्रति कटाक्ष गर्दै प्रश्न गरे, “नेताहरू विदेश घुम्छन्, तर देशमा यत्रो काम छ । के उहाँहरू मंगल ग्रहमा विकास गर्न जानुभएको हो ?”
सांसद भण्डारीले देशका शैक्षिक संस्थाहरूको गुणस्तर, शुल्क निर्धारण र छात्रवृत्तिको पारदर्शितामाथि पनि प्रश्न उठाए । उनले भने, “विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खोलिएका कलेजहरूको अनुगमन कसले गर्ने ? कति पैसा लाग्छ, पाठ्यक्रम के हो, कसैलाई थाहा छैन ।”
उनले देशमा युवा पलायन र विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताको विश्वास गुम्दै गएको बताए । उनले सभामुखमार्फत सरकारलाई युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न र शैक्षिक बेथिति अन्त्य गर्न तत्काल कदम चाल्न रुलिङको माग गरे ।

