काठमाडौँ । भारतको उत्तर प्रदेशका विभिन्न पश्चिमी जिल्लामा पछिल्लो समय देखिएका ड्रोन र त्यसलाई लिएर फैलिएका चोरीका अफवाहले स्थानीय बासिन्दा माझ गहिरो त्रास पैदा गरेको छ । दिनभरको कामपछि रातमा पनि गाउँलेहरू लाठी-डन्डा लिएर पहरा दिन बाध्य भएका छन् भने यो स्थिति नियन्त्रण गर्न मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा धेरै जिल्लामा अनधिकृत ड्रोन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
बीबीसी हिन्दीले गरेको स्थलगत रिपोर्टअनुसार अमरोहा जनपदको फतेहपुर माफी गाउँका बासिन्दाहरू रातभर पहरा दिइरहेका छन् । किनभने उनीहरूलाई ड्रोनमार्फत चोरले रेकी गरिरहेको आशङ्का छ । एक गाउँलेले आफ्नो निद्रा हराम भएको बताउँदै भने, “चोर त दिनदिनै आइरहेका छन्, सबै जना जागा बसिरहेका छन् । यो अफवाह होइन, वास्तविकता हो ।”
गाउँलेहरूका अनुसार, मध्य रातमा पनि उनीहरूका हातमा लाठी-डन्डा र हतियार हुन्छन् । उनीहरूका आँखा जमिनभन्दा धेरै आकाशतिरै ड्रोन खोजीरहेका हुन्छन् ।
मीरपुर गाउँमा पनि महिलासहित धेरैजसो मानिसहरू राती घरबाहिर बसेर पहरा दिइरहेका हुन्छन् । उनीहरूले आफ्ना साना बालबालिका भएकोले रातभर जाग्नु पर्दा दिनमा काम गर्न नसकेको गुनासो गरे ।
यद्यपि प्रहरीले ड्रोन र चोरीका घटनाबिच कुनै ठोस सम्बन्ध नभेटिएको बताएको छ । प्रहरीका अनुसार, केही उच्छृङ्खल व्यक्तिहरूले ड्रोन उडाएर अफवाहलाई थप बल पुर्याइरहेका छन् । उत्तर प्रदेश प्रहरीको यूपी ११२ टोलीले पछिल्ला दुई सातामा २५० भन्दा बढी यस्ता घटनामा सक्रिय देखाएको जनाएको छ । तर कुनै पनि अपराधीले अपराध गर्न ड्रोन प्रयोग गरेको तथ्य फेला परेको छैन ।
यो समस्या सुरुमा सम्भल जिल्लामा देखिएको थियो, त्यसपछि अमरोहा, मुरादाबाद हुँदै रामपुरसम्म फैलिएको छ । ड्रोनको उडानको प्याटर्न पनि देखिएको छ । यद्यपि मुरादाबादका केही गाउँलेहरूले ड्रोन देखिएको दाबी गरे पनि, बीबीसी हिन्दीको टोलीले गाउँमा रात बिताउँदा कुनै पनि ड्रोन नदेखिएको बताएको छ । बरु, बरेली जिल्लाको मरोली गाउँमा प्रहरीले एउटा क्यामेरा बिनाको ड्रोन फेला पारेको थियो, जुन सायद बच्चाहरूको खेलौना थियो ।
यसबाहेक मुजफ्फरनगर प्रहरीले दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । जसले परेवाको खुट्टामा बत्ती बाँधेर रातमा उडाउने गर्थे । तिनैलाई स्थानीय मानिसहरूले ड्रोन ठानेका रहेछन् । चोरीको डरले गर्दा गाउँको बाटो हुँदै हिँड्ने केही व्यक्तिमाथि कुटपिटका घटनाहरू पनि भएका छन् । जहाँ मानिसहरूले उनीहरूलाई चोर सम्झेर आक्रमण गर्ने गरेका छन् । प्रहरीका अनुसार, यसरी सन्दिग्ध मानेर कुटपिटमा गरिएका धेरैजसो व्यक्ति या त मजदुर थिए या त्यो बाटोबाट गइरहेका थिए । उनीहरूको कसैको पनि आपराधिक पृष्ठभूमि थिएन । यस्तै आशङ्कामा स्थानीयले एक नेपाली युवतीमाथि समेत निर्घात कुटपिट गरेको घटना सतहमा आएको छ ।
मुख्यमन्त्रीको निर्देशनमा अनधिकृत ड्रोनमाथि प्रतिबन्ध
हिन्दुस्थान टाइम्सका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशभर ड्रोनमाथि कडाई गर्न निर्देशन दिएका छन् । निर्देशनपछि अयोध्या, मुजफ्फरनगर, मथुरा, मेरठ र बिजनौर लगायत धेरै जिल्लाहरूमा अनधिकृत ड्रोन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध ड्रोनको दुरुपयोग रोक्न र फैलिँदै गएका हल्ला तथा गलत भिडिओहरूले सिर्जना गरेको सर्वसाधारणको चिन्तालाई कम गर्न लगाइएको हो ।
अयोध्याका जिल्ला मजिस्ट्रेट निखिल टिकाराम फुन्डेले ड्रोन सञ्चालनमा पूर्ण प्रतिबन्धको घोषणा गरेका छन् । उनले भनेका छन्, “धेरै जिल्लाबाट सन्दिग्ध ड्रोनको विषयमा उजुरी प्राप्त भएका छन्, जसले सम्भावित रूपमा आपराधिक कार्यहरूलाई मद्दत पुर्याउन वा आतङ्क सिर्जना गर्न सक्छ ।” प्रहरी र आधिकारिक सुरक्षा एजेन्सीहरूलाई मात्र ड्रोन प्रयोगका लागि छुट दिइनेछ । अन्य व्यक्ति तथा संस्थाहरूले भने ड्रोन उडाउन पूर्व लिखित अनुमति लिनुपर्नेछ ।
मुख्यमन्त्री आदित्यनाथले आइतबार आयोजना गरेको भिडिओ कन्फरेन्सपछि यो आदेश आएको हो । जहाँ उनले ड्रोन-सम्बन्धित अफवाहहरूसँग जोडिएका १७ एफआईआर र २९ गिरफ्तारीलाई ध्यानमा राख्दै ड्रोनमाथि कडाइका साथ निगरानी गर्न जिल्ला मजिस्ट्रेट र प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

