काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन् । पारिवारिक कारण देखाउँदै उनले पद छोडेको एनसेल स्रोतले जनाएको छ ।
उनको राजीनामापछि सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ ।
कम्पनीको आधिकारिक वेबसाइटबाट जाब्बोरको नाम र विवरण हटाइएको छ । उनी तत्कालीन एनसेल आजियाटा लिमिटेडमा २०८० साल वैशाख २६ गते सीईओ एवं प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएका थिए ।
कार्यवाहक सीईओ बनेका कबिरलाई एनसेलले पाँच महिनाअघि मात्रै सीएफओको रूपमा कम्पनीमा भित्र्याएको थियो । एनसेल आउनुअघि उनी बंगलादेशको यूसीबी फिनटेक कम्पनीमा डेपुटी सीईओ थिए । त्यसअघि उनी त्यहाँ पनि सीएफओको जिम्मेवारीमा थिए ।
कबिरले टेलिनोर ग्रुपअन्तर्गत बंगलादेशमा सञ्चालित ग्रामीणफोनमा अपरेसन्स हेर्ने जिम्मेवारी सम्हालेका थिए । उनले थाइल्यान्डको डीट्याक मोबाइल कम्पनीमा पनि काम गरिसकेका छन् ।
यसअघि उनले नेस्ले बंगलादेश लिमिटेड र केपीएमजी बंगलादेशमा समेत अनुभव बटुलेका छन् । कबिरले बेलायतबाट चार्टर्ड एकाउन्टेन्सी सकेका हुन् भने युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलबाट एमबीए गरेका छन् ।

