काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय अथेन्टिकेटर एपमा रहेको पासवर्ड स्टोरेज र अटोफिल (स्वतः पासवर्ड भर्न सकिने) सुविधा यही जुलाईदेखि बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । यो परिवर्तनले एपमा सेभ गरिएका पासवर्डहरूमा निर्भर रहेका प्रयोगकर्ताहरूका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता सिर्जना गरेको छ ।
विशेषगरी १ अगस्ट, २०२५ देखि अथेन्टिकेटर एपमा सेभ गरिएका पासवर्डहरू स्थायी रूपमा मेटिएर जानेछन् । यो परिवर्तन माइक्रोसफ्टको ‘पासवर्डलेस’ भविष्यतर्फको एक महत्त्वपूर्ण कदम भएको बताइएको छ । जहाँ कम्पनीले परम्परागत पासवर्डको सट्टा पासकी (Passkeys) लाई प्रवर्धन गरिरहेको छ ।
पासकीले पिन, फिङ्गरप्रिन्ट स्क्यान र अनुहार पहिचान (फेसियल रिकग्निसन) जस्ता बायोमेट्रिक डेटा प्रयोग गरेर प्रयोगकर्ताको पहिचान प्रमाणित गर्छ । यो विधि पासवर्डको तुलनामा फिशिङ, ब्रुट-फोर्स र क्रेडेन्सियल-स्टफिङ जस्ता आक्रमणहरू विरुद्ध बढी सुरक्षित मानिन्छ ।
जुन २०२५ देखि नै माइक्रोसफ्टले आफ्नो अथेन्टिकेटर एपमा नयाँ पासवर्डहरू थप्न वा इम्पोर्ट गर्न बन्द गरिसकेको छ । यही जुलाईको अन्त्यसँगै अथेन्टिकेटरको अटोफिल सुविधा पनि अन्त्य हुँदैछ । त्यसैगरी आउँदो १ अगस्ट, २०२५ देखि माइक्रोसफ्ट अथेन्टिकेटर एपमा सेभ गरिएका पासवर्डहरूमा पहुँच पाउन सकिने छैन र तिनलाई सधैँका लागि मेटाइँदैछ ।
यो पनि पढ्नुहोस्: अथेन्टिकेटर एपबाट पासवर्ड सुविधा हटाउने माइक्रोसफ्टको घोषणा, अब ‘पासकी’ अनिवार्य
कसरी सुरक्षित राख्ने माइक्रोसफ्ट अथेन्टिकेटरमा रहेका पासवर्ड ?
तपाईँले आफू अनुकूलको कुनै पनि विकल्प अपनाएर माइक्रोसफ्ट अथेन्टिकेटरमा सेभ गरिएका पासवर्ड अन्यत्र सार्न सक्नु हुनेछ । यदि तपाईँ माइक्रोसफ्ट इकोसिस्टममै रहन चाहनुहुन्छ भने, तपाईँका सेभ गरिएका पासवर्डहरू (जेनरेट गरिएको पासवर्डको हिस्ट्री बाहेक) र एड्रेस एज ब्राउजरबाट एक्सेस गर्न सक्नु हुनेछ । यसका लागि आफ्नो मोबाइल डिभाइसमा माइक्रोसफ्ट एज ब्राउजर डाउनलोड गर्नुहोस् ।
अटोफिल सुविधा प्रयोग गर्न आफ्नो फोनको सेटिङमा जानुहोस् । आईफोनको हकमा जनरल (General) चयन गरी सकेपछि अटोफिल एन्ड पासवर्ड (Autofill & Passwords) र अटोफिल फ्रम (Autofill from) अन्तर्गत एज (Edge) छान्नुहोस् ।
एन्ड्रोइडको सेटिङबाट अटोफिल (Autofill) वा प्रिफर्ड सर्भिस (Preferred service) चयन गरेर एज (Edge) छान्नुहोस् । एजमा साइन इन गरेपछि तपाईँका पासवर्ड र एड्रेसहरू सिंक हुनेछन् । एजमा रहेका पासवर्डमा पहुँच गर्न एज ब्राउजर खोल्नुहोस् र सेटिङ हुँदै पासवर्ड्समा जानुहोस् । अब त्यहाँ रहेको अटोफिल फर अदर एप्स (Autofill for other apps) को टोगल अन गर्नुहोस् र ओपन सेटिङ्स हुँदै प्रिफर्ड सर्भिस अन्तर्गत एजलाई छान्नु होस् ।
गुगल पासवर्ड म्यानेजर वा अन्य थर्ड-पार्टी सर्भिसमा एक्सपोर्ट
यदि तपाईँ माइक्रोसफ्ट एज प्रयोग गर्न चाहनुहुन्न वा गुगल पासवर्ड म्यानेजर, बिटवार्डेन अथवा वपासवर्ड जस्ता थर्ड-पार्टी पासवर्ड म्यानेजरमा जान चाहनुहुन्छ भने आफ्ना पासवर्डहरू निर्यात (एक्सपोर्ट) गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला माइक्रोसफ्ट अथेन्टिकेटर एप खोल्नुहोस् र सेटिङ्स (Settings) मा जानुहोस् ।
अब अटोफिल (Autofill) सेक्सन अन्तर्गत एक्सपोर्ट पासवर्ड (Export Passwords) चयन गर्नुहोस् र एक्सपोर्ट (Export) मा ट्याप गर्नुहोस् ।यति गरिसकेपछि पासवर्डहरू समावेश भएको फाइल सेभ गर्नका लागि एउटा फोल्डर छान्नुहोस् र सेभ गर्नुहोस् ।
यसले तपाईँका पासवर्ड सीएसभी फाइलको रूपमा सेभ गर्नेछ । तर यहाँनिर ख्याल गर्नुहोस्, यसरी एक्सपोर्ट गरिएका पासवर्ड इन्क्रिप्टेड हुँदैनन् र सुरक्षित हुँदैनन् । त्यसैले तपाईँले ती पासवर्डहरू अर्को सेवा (जस्तै गुगल पासवर्ड म्यानेजर) मा सफलतापूर्वक इम्पोर्ट गरिसकेपछि तत्काल भर्खरै फोल्डरमा सेभ गरेको फाइल डिलिट गर्न नभुल्नुहोस् ।
यो प्रक्रिया तपाईँले १ अगस्ट, २०२५ अघि नै पूरा गरिसक्नु पर्नेछ । अन्य पासवर्ड म्यानेजरमा इम्पोर्ट गर्ने तरिका पनि उदाहरणको रूपमा बुझौँ । गुगलको पासवर्ड म्यानेजरमा सार्ने विचारमा हुनुहुन्छ भने सबैभन्दा पहिला गुगल क्रोम ब्राउजरको सेटिङमा जानुहोस् । त्यहाँ तल दायाँ कुनामा रहेको पासवर्ड म्यानेजरको सेटिङ आइकन हुँदै इम्पोर्ट पासवर्डको विकल्प छान्नुहोस् र अगाडि बढेर अघि सेभ गरिएको फाइल छान्नुहोस् ।
माइक्रोसफ्ट अथेन्टिकेटर एपले पासवर्ड स्टोरेजको सुविधा बन्द गरे पनि यसले पासकीको सपोर्टलाई भने निरन्तरता दिनेछ । यदि तपाईँले आफ्नो माइक्रोसफ्ट अकाउन्टका लागि पासकीहरू सेट अप गर्नुभएको छ भने, अथेन्टिकेटरलाई तपाईँको पासकी प्रदायकको रूपमा इनेबल राख्न जरुरी छ । किनकि यसलाई डिसेबल गर्दा तपाईँको पासकीहरू पनि डिसेबल हुनेछन् ।

