काठमाडौँ । एकै दिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार राति ८ बजे काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो ।
सोमबार एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै उनले ३० पुसको १२ बजे राजावादी प्रदर्शनमा आउन आह्वान गरेका थिए । “हामीले सोमबार राति आठ बजे सेढाईंलाई नियन्त्रणमा लिएका हौं,” कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले भने, “अहिले विस्तृत अनुसन्धान र सोधपुछको काम भइरहेको छ ।”
अवैध रूपमा एकै दिन ५० लाख ओटा एसएमएस पठाइएको विषयमा टेकपानाले सोमबार समाचार पक्राशित गरेको थियो । सोही समाचारलाई अधार बनाएर अनुसन्धान अगाडि बढाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
सेढाईं वेदव्यास इन्टरप्राइचेज नामक कम्पनी सञ्जालन गर्दै आएका थिए । सोही कम्पनीको नामबाट उनले विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका थिए । र, एकै दिन लाखौं एसएमएस पठाएका थिए ।
यसले व्यक्तिगत गोपनीयताको हनन् गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

