26 Apr 2026, Sun

मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य सुरु, अनलाइनबाटै यसरी गराउनुहोस् आफ्नो नाम दर्ता

काठमाडौँ । आज आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः सुरु भएको छ । निर्वाचन आयोगले ६ मङ्सिर २०८२ देखि स्थगन गरिएको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यलाई पुनः निरन्तरता दिएको हो ।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइनबाटै नाम दर्ता गर्न सक्छन् । साथै राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको प्रि-इनरोलमेन्ट (Pre-Enrollment) प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्नेछ ।

त्यसपछि आफ्नो फोटो तथा औँठाछापसहितको जैविक (बायोमेट्रिक) विवरण दिन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा आवेदक स्वयम् भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यसमार्फत नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार सच्याउने आदि त्रुटिहरू सच्याउन सकिने आयोगले जनाएको छ ।

कसरी गर्ने दर्ता ?

यदि तपाईँसँग राष्ट्रिय परिचयपत्र नम्बर छ भने यो सुविधा प्रयोग गरेर तपाईँ आफैँले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नु हुन्छ । यसका लागि सबैभन्दा पहिला आयोगको वेबसाइट (election.gov.np) मा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् । 

आयोगको वेबसाइटमा गइसकेपछि मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन र अद्यावधिक (Online Pre-Enrollment)’ मा क्लिक गर्नुहोस् अथवा सोझै त्यसमा जान यहाँ क्लिक गर्नुहोस् । 

अब त्यहाँ तपाईँले नयाँ मतदाता नामावली दर्ता र नामावली अद्यावधिक गरी दुई वटा विकल्प देख्नु हुनेछ ।  त्यसमध्ये नयाँ दर्तामा क्लिक गर्नुहोस् (अथवा यहाँ क्लिक गर्नुहोस्) ।

त्यसभित्र गइसकेपछि तपाईँले पुनः दुई वटा विकल्प देख्नु हुनेछ । जस मध्ये पहिलो विकल्प ‘राष्ट्रिय परिचयपत्र नम्बर (NIN) मार्फत मतदाता नामावली दर्ता’ भनेर लेखिएको भागमा राष्ट्रिय परिचयपत्र अनुसार राष्ट्रिय परिचय पत्र नम्बर, जन्म मिति (अङ्ग्रेजीमा), पहिलो नाम (अङ्ग्रेजीमा) भर्नुहोस् । 

अब अन्त्यमा दिइएको हिसाब जोड्दा निस्किने नतिजा राख्नुहोस् र हरियो घेरा आएपछि ‘NIN बाट प्रमाणीकरण गर्नुहोस्’ लेखिएको निलो बटनमा क्लिक गर्नुहोस् । 

यति गरिसकेपछि आयोगको सिस्टमले राष्ट्रिय परिचयपत्रको सिस्टमलाई सोध्छ र सम्पूर्ण विवरण मेल खाएको खण्डमा मतदाता नामावली दर्ताको प्रक्रिया सुरु गर्न सकिन्छ । नयाँ पेज खुलेपछि सुरुमा तपाईँको नागरिकता अनुसारको स्थायी ठेगाना देखा पर्छ, नदेखिए ठेगाना भर्नुहोस् । 

त्यसपछि व्यक्तिगत विवरण खण्डमा छुटेका विवरण राख्नुहोस् र पुनः तल दायाँ कुनामा रहेको ‘अर्को’ बटनमा क्लिक गर्नुहोस् । अब नागरिकता विवरण खण्ड खुल्छ । त्यसमा छुटेका विवरण खुलाउनु होस् । स्थायी बसोबासको ठेगाना खुलाउनुहोस् । यो नै तपाईँले मतदान गर्न पाउने स्थल हो । नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भएको भए सम्बन्धित कागजात अपलोड गरी नयाँ मतदानस्थल चयन गर्न सक्नुहुन्छ । 

यति गरिसकेपछि अपाङ्गता भए नभएको खुलाउनु होस् । अन्य विवरणको रूपमा आफ्नो मातृभाषा, जातीय वर्ग, शैक्षिक योग्यता भर्नुहोस् । अन्त्यमा सबै विवरण राम्रोसँग चेकजाँच गरी ‘दर्ता गर्नुहोस्’ बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईँको मतदाता नामावली दर्ताको काम सम्पन्न हुन्छ र आफ्नो मतदाता नम्बर सुरक्षित राख्न सक्नु हुनेछ । 

मतदाता नामावली प्रि-रजिस्ट्रेसन कसरी गर्ने ? 

यदि तपाईँसँग राष्ट्रिय परिचयपत्र छैन भने तपाईंले प्रि-रजिस्ट्रेसन मार्फत आफ्नो नाम टिपाउनु पर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिला माथि जस्तै ‘मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अध्यावधिक (Online Pre-Enrollment)’ विकल्प हुँदै अगाडि बढ्नु होस् अथवा त्यसका लागि सोझै यहाँ क्लिक गर्नुहोस् । 

‘नयाँ दर्ता’ लेखिको स्थानमा क्लिक गर्नुहोस् अथवा सोझै यहाँ क्लिक गर्नुहोस् । अब यहाँनिर भने तपाईंले ‘नयाँ मतदाता नामावली दर्ता (राष्ट्रिय परिचयपत्र नभएकाहरूको लागि)’ लेखिएको दोस्रो विकल्प छान्नुपर्ने हुन्छ । त्यसका लागि आफ्नो मोबाइल नम्बर राख्नुहोस् र तिर जस्तो अङ्केतमा क्लिक गर्नुहोस् । 

केही बेर पर्खिनुहोस्, तपाईंको मोबाइलमा छ अङ्कको एउटा ओटीपी कोड आउनेछ, त्यसलाई राख्नुहोस् । अब त्यहाँ माथि बायाँ कुनातर्फ रहेको ‘नयाँ दर्ता’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् । 

लगत्तै एउटा नोटिफिकेसन विन्डो खुल्नेछ । जसमा तपाईंले यो प्रि-रजिस्ट्रेसन पुरा गरेपश्चात आफ्नो बायोमेट्रिक विवरण दिन जाँदा लानुपर्ने कागजातको जानकारीसँगै आफ्नो नाम हालसम्म मतदाता नामावलीमा समावेश नरहेको कुरा यकिन गर्नुपर्ने हुन्छ ।  त्यसका लागि तलको चेक बक्समा क्लिक गर्नुहोस् र ‘सुरु गर्नुहोस्’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस् । 

त्यसपछि तपाईँले क्रमैसँग आफ्नो स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकताको विवरण, अपाङ्गता भए/नभएको, सम्पर्क स्थान लगायत खुलाएर विवरण भर्नुहोस् र सब्मिट गर्नुहोस् । त्यसपछि तपाईँले भरेको विवरण तपाईँको मतदाता केन्द्रका लागि पुग्छ ।

अनलाइन फाराम भरिसकेपछि प्राप्त हुने सङ्केत नम्बरसहितको प्रिन्ट कपि र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने हुन्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *