27 Apr 2026, Mon

बबरमहल: चहलपहलबाट सून्यता सम्मको यात्रा

काठमाडौँको मुटुमा अवस्थित बबरमहल कुनै समय चहलपहलले भरिएको क्षेत्र थियो। मानिसहरूको भीड, सवारी साधनको आवाज, पसलमा आउने जाने ग्राहकहरूको हुल, अनि क्याफे र रेष्टुरेन्टहरूमा रमाइरहेका युवाहरू—सबै मिलेर यो स्थानलाई जिउँदो बनाउँथे। बिहानको सुर्योदयदेखि साँझको अँध्यारोसम्म बबरमहल बस्थेन, जस्तै शहरको हरेक धड्कन यहीं सुनिन्थ्यो तर आज त्यो बबरमहल रहेन।

आजको बबरमहल हेरौं, त त्यहाँ सुनसान छ। गाडीहरू कम छन्, ग्राहकहरू झनै कम। पसलहरू आधा खुल्ला, कतै त दिनभर नै बन्द। जहाँ कहिल्यै खाली कुर्सी भेटिन्नथ्यो, आज त्यही कुर्सीमा पसलधनी आफैं निदाइरहेका हुन्छन्। कतिपय पसलभित्र सुत्ने गद्दा मिलाइएको देखिन्छ, अरू मोबाइलमा तल्लिन छन्, दिन बिताउन मात्र।

पहिले जहाँ ग्राहकसँग व्यस्तता हुन्थ्यो, आज त्यहाँ पसलधनीहरू दिनभर एउटै ग्राहक कुर्ने अवस्थामा पुगेका छन्। ‘दश मिनेट बसौं, कोही आइहाल्छ’ भन्ने आशा अब ‘शायद भोलि कोही आउला’ मा झरेको छ।

त्यो परिवर्तनले यहाँका पुराना व्यापारीहरूको जीवनशैलीमा ठूलो असर पारेको छ। पहिले दैनिक हजारौंको कारोबार गर्नेहरूले अहिले दिनमा १ जना ग्राहक पाउनु पनि भाग्य ठान्न थालेका छन्। धेरैले कामदार हटाए, कतिपय पसल बन्द गर्ने सोचमा छन्।

तर अहिलेको लागि, बबरमहल सुतिरहेको छ। पसलभित्र निदाइरहेका पसलधनीहरू जस्तै, यो ठाउँ पनि अतीतको चहलपहलको सपना देख्दैछ—जुन बेला यहाँ जीवन बग्थ्यो, हाँसो गुञ्जिन्थ्यो, र काठमाडौँको मुटु यहीं धड्किन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *