काठमाडौँ । साइनअप गरी प्रयोग गरिने अधिकांश प्लेटफर्मले गुगल अकाउन्ट प्रयोग गरेर सजिलै साइनअप गर्न मिल्ने विकल्प दिएका हुन्छन् । यसले गर्दा हामीलाई बारम्बार पासवर्ड राख्ने झन्झट हुँदैन । त्यस्तै प्रोफाइल फोटो, नाम लगायत अन्य जानकारी राख्ने बाध्यता हुँदैन । यदि तपाईंको डिभाइसमा गुगल अकाउन्ट छ भने जुनसुकै प्लेटफर्ममा पनि सहजै लगइन गर्न सकिन्छ ।
गुगल अकाउन्ट प्रयोग गरी साइनअप गर्दा तपाईंले ती प्लेटफर्मलाई कुन-कुन ‘अनुमति’ (पर्मिसन्स) दिने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । सामान्यतया थर्ड पार्टी प्लेटफर्मले गुगल अकाउन्टबाट तपाईंको ईमेल एड्रेस, नाम र प्रोफाइल फोटो मात्र लिन्छन् । तर, कहिलेकाहीँ गुगल ड्राइभ, क्यालेन्डर वा कन्ट्याक्टमा समेत पहुँचका लागि अनुमति दिनुपर्ने हुन्छ । यसरी अनुमति दिएपछि ती प्लेटफर्मले तपाईंको डेटामा पहुँच बनाई त्यसको प्रयोग गर्न सक्छन् ।
यही सहजताका कारण अधिकांश प्लेटफर्मले ‘साइनअप विथ गुगल’को विकल्प राखेका हुन्छन् । यदि हामीले सजिलोका लागि गुगल अकाउन्ट प्रयोग गर्यौं र पछि ती थर्ड पार्टी प्लेटफर्म प्रयोग गरेनौं भने पनि त्यसले अनावश्यक ईमेल पठाउनेदेखि लिएर विभिन्न तरिकाले हामीलाई हैरान बनाउन सक्छ । यस्तो अवस्थामा अनावश्यक थर्ड पार्टी प्लेटफर्मबाट आफ्नो अकाउन्ट हटाउनु नै सबैभन्दा उपयुक्त हुन्छ ।
यहाँ तपाईंको गुगल अकाउन्ट कुन-कुन थर्ड पार्टी प्लेटफर्मसँग जोडिएको छ भनेर हेर्ने र त्यसलाई हटाउने तरिकाबारे चर्चा गरिएको छ ।
ब्राउजरमा कसरी गर्ने जाँच ?
- सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । तपाईंको ब्राउजरमा एउटा मात्र जिमेल अकाउन्ट छ भने केही गर्नु पर्दैन । तर, बढी छन् भने जुनको जाँच गर्न खोज्नु भएको हो त्यही छान्नुहोस् ।
- यति गरेपछि त्यहाँ भएको सेक्युरिटी अप्सनमा जानुहोस् ।

- त्यसपछि स्क्रोल गर्दै तलपट्टि रहेको ‘योर कनेक्सन्स टु थर्ड-पार्टी एप्स एन्ड सर्भिसेस’ (Your connections to third party apps and services) को अप्सनमा जानुहोस् ।
- उक्त अप्सनमा तपाईंले कतिओटा प्लेटफर्ममा गुगल अकाउन्ट प्रयोग गर्नु भएको छ भन्ने देख्न सक्नुहुन्छ । तीनभन्दा बढी प्लेटफर्ममा प्रयोग गर्नु भएको छ भने तल ‘सि अल कनेक्सन्स’ (See all connections) मा जानुहोस् ।

- र, अनावश्यक प्लेटफर्ममा गुगल अकाउन्ट प्रयोग भएको थाहा पानउनु भयो भने त्यस प्लेटपर्ममा जानुहोस् र ‘डिलिट अल कनेक्सन्स यु ह्याभ विथ ….” भन्ने अप्सनमा जानुहोस् ।

- अनि, कन्फर्मको बटनमा ट्याप गर्नुहोस् ।

फोनमा कसरी जाँच गर्ने ?
- सबैभन्दा पहिले जिमेल खोल्नुहोस् । अनि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि त्यहाँ देखिने ‘मेनेज योर गुगल अकाउन्ट’को अप्सनमा ट्याप गर्नुहोस् ।

- स्क्रोल गर्दै तलपट्टि गएर सेक्युरिटी एन्ड साइनइन लेखेको बक्समा ट्याप गर्नुहोस् ।

- त्यसपछि स्क्रोल गर्दै तल जानुभयो भने ‘योर कनेक्सन्स टु थर्ड-पार्टी एप्स एन्ड सर्भिसेस’ (Your connections to third party apps and services) को अप्सनमा जानुहोस् ।

- उक्त अप्सनमा तपाईंले कतिओटा प्लेटफर्ममा गुगल अकाउन्ट प्रयोग गर्नु भएको छ भन्ने देख्न सक्नुहुन्छ । तीनभन्दा बढी प्लेटफर्ममा प्रयोग गर्नु भएको छ भने तल ‘सि अल कनेक्सन्स’ (See all connections) मा जानुहोस् ।
- र, अनावश्यक प्लेटफर्ममा गुगल अकाउन्ट प्रयोग भएको थाहा पानउनु भयो भने त्यस प्लेटपर्ममा जानुहोस् र ‘डिलिट अल कनेक्सन्स यु ह्याभ विथ ….” भन्ने अप्सनमा जानुहोस् ।

- अनि, कन्फर्मको बटनमा ट्याप गर्नुहोस् ।


