काठमाडौँ, असार २४, २०८२ – हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आजदेखि आफ्ना साधारण शेयरहरू (IPO) सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा कुल ७,७३,९७५ कित्ता शेयर निष्कासन गरेको हो।
यस IPO को प्रारम्भिक बन्द मिति असार २७ गते तोकिएको छ। तर उक्त म्यादसम्म पूर्ण सदस्यता नपुगेमा श्रावण ६ गते सम्म आवेदन दिन सकिनेछ।
कम्पनीको जारी पूँजी रू. ३७.३० करोड रहेको छ। जसको ३०% हिस्सा, अर्थात् ११,१९,००० कित्ता शेयर सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ। यसमध्ये, ५% अर्थात् १,८६,५०० कित्ता शेयर प्रभावित स्थानीय (ओखलढुंगा र सोलुखुम्बु) क्षेत्रका बासिन्दाहरूलाई पहिल्यै निष्कासन भइसकेको छ।

अब बाँकी रहेको २५% हिस्सा, अर्थात् ९,३२,५०० कित्ता मध्ये १०% (९३,२५० कित्ता) विदेशमा रहेका नेपाली नागरिकहरूका लागि आरक्षित गरिएको छ। बाँकी रहेको ७,७३,९७५ कित्ता शेयर भने आजदेखि सर्वसाधारण नेपाली नागरिकका लागि खुला गरिएको हो।
यस IPO को निष्कासन व्यवस्थापन NIC एशिया क्यापिटल लिमिटेड ले गरेको हो। लगानीकर्ताहरूले कम्तिमा १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको क्रेडिट रेटिङ संस्था ICRA नेपाल ले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको इश्युअर रेटिङ B+ बाट BB- मा सुधार गरेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको देखाउँछ। दीर्घकालीन रेटिङ पनि LB+ बाट LBB- मा सुधार गरिएको छ भने छोटो अवधि ऋणको रेटिङ A4 मै कायम गरिएको छ।
कम्पनी सन् २०१० अगस्टमा निजी कम्पनीको रूपमा स्थापना भएको हो भने २०१७ डिसेम्बरमा सार्वजनिक कम्पनीमा रूपान्तरण गरिएको हो। हिम स्टार ऊर्जा हाल कोशी प्रदेशको ओखलढुंगा र सोलुखुम्बु जिल्लामा अवस्थित ५ मेगावाटको बुकु कपाती खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजना रन-अफ-रिभर (RoR) प्रकारको हो र यसको प्रारम्भिक लागत रू. १०२.३ करोड थियो। हालसम्म ९५% भौतिक प्रगति भइसकेको छ र रू. १०९.१ करोड खर्च भइसकेको जनाइएको छ।
कम्पनीको हालको चुक्ता पूँजी रू. २६.१ करोड रहेको छ। प्रमुख प्रवर्द्धकहरूमा दिपक तिवारी (१६.४%), शोभा उप्रेती (७.२%) लगायत अन्यको लगानी रहेको छ।

