28 Oct 2025, Tue

सरकारले बन्द गर्ने भनेपनि अझै चल्दैछ टेलिग्राम, कारबाही गर्ने प्राधिकरणको चेतावनी*

काठमाडौँ । सरकारको निर्देशन अवज्ञा गर्दै केही सेवाप्रदायकहरूको नेटवर्कमा अझै पनि प्रतिबन्धित एप टेलिग्राम चलिरहेको पाइएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ ।

टेलिग्राममार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध भइरहेको भन्दै सरकारले शुक्रबारदेखि उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो । 

शुक्रबार नै प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरूलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । तर, आइतबार अपरान्हसम्म पनि देशका ठूला इन्टरनेट सेवाप्रदायकहरुको नेटवर्क प्रयोग गर्दा टेलिग्राम एप निर्बाध सञ्चालन भइरहेका छन् ।

प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले आफूहरू टेलिग्राम एप चले/नचलेको अनुगमन गरिरहेको जानकारी दिए । 

“सरकारले बन्द गर्न निर्देशन दिएपछि त बन्द गर्नुपर्‍यो। प्राधिकरणको सम्बन्धित शाखाले एप चले/नचलेको अनुगमन गरिरहेको छ । पछिल्लो स्ट्याटस के हो त्यो अध्ययन गरिरहेका छौँ,” अर्यालले टेकपानासँग भने । 

प्राधिकरणले सरकारी निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *