काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनिएको कोठामा एसी जडान भएको दाबीसहितका समाचार आएपछि सामाजिक सञ्जालमा पक्ष-विपक्षमा चर्को बहस चलिरहेको छ । के साँच्चिकै उनलाई थुनिएको रूपन्देही जिल्ला अदालतमा एसी जडान गरिएको थियो ? अथवा सरकारको दाबेदारी गर्न रास्वपा र लामिछाने विरुद्ध झुटो समाचार लेखियो ?
‘अँध्यारो कोठा, फलामे बार, बन्द झ्यालहरू र भैरहवाको ४२ डिग्री तापक्रममा न्यूनतम मानव अधिकार पनि नभएको’ भन्दै गएको २३ साउनमा नयाँ पत्रिकाले लामिछाने बारे एक समाचार प्रकाशन गर्यो । ‘कारागारमा यसरी राखिएको छ रविलाई’ शीर्षकको उक्त समाचार निकै भाइरल बन्यो । समाचारमा वाटरमार्क समेत नराखी एआई तस्विर प्रयोग गरेर भ्रम छर्न खोजेको भन्दै आलोचना हुन थालेपछि त्यसै दिन नयाँ पत्रिकाले माफी मागिसकेको छ ।
नयाँ पत्रिकाको समाचारले सामाजिक सञ्जालको गर्माहट सेलाउन नपाउँदै त्यसै दिन साँझ ९ः३२ बजे यसै विषयमा नयाँ पत्रिकालाई काउन्टर दिँदै अन्नपूर्ण पोस्टको अनलाइनमा अर्को समाचार आयो । जसको शीर्षक थियो, ‘रवि लामिछानेलाई जेलमा भीआईपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्‘ । त्यसपछि भने स्पष्ट रूपमा सामाजिक सञ्जाल प्रयोगकर्ता दुई कित्तामा विभाजित भए । तर अन्नपूर्ण पोस्टले उक्त समाचारलाई पुष्टि गर्ने कुनै पनि स्रोत, आधार वा प्रमाण तत्काल दिन सकेको देखिँदैन ।
अन्नपूर्णमा प्रकाशित पहिलो समाचारमा गरिएका दाबी
- लामिछानेलाई कारागारमा अन्य कैदीबन्दीलाई नभएको भीआईपी सुविधा दिएको
- लामिछानेको सुविधाका लागि अट्याच ट्वाइलेट-बाथरुमसहितको कोठा
- लामिछाने आएपछि नै प्रशासनले त्यसअघि नरहेको ‘४ नम्बर ब्लक’ नाम दिएको
- मन लागेको बेला कोठाबाहिर निस्किएर ग्राउन्डमा घुम्ने व्यवस्था
- गर्मी नहोस् भनेर कोठामा एसी र कुलर दुवै व्यवस्था गरिएको
- कोठामा ल्यान्डलाइन टेलिफोनको सुविधा
- किताब, कुर्सी, टेबल, बेडलगायत आवश्यक सबै सुविधा भएको
- एसी लगाइएपछि लामिछानेकै आग्रहमा चिसो रोक्नका लागि भेन्टिलेटरमा प्लाइउड लगाइएको
- लामिछानेलाई राखिएको कोठामा ताल्चा नलगाइने
- मन लागेको बेला कोठाबाट भित्र-बाहिर गर्ने
- प्रायः साँझ इभनिङ वाकमा निस्किने
- गर्मी हुँदा एसी चलाउने, बढी चिसो भए कुलरको प्रयोग गर्ने
- पिउने पानीलगायत आवश्यक खाद्य बस्तु बाहिरबाटै मगाउने
- लामिछानेले भनेअनुसार सेवा सुविधा (व्यवस्था)
यसरी झट्ट सुन्दा अस्वाभाविक लाग्ने दाबी सहितको समाचार, त्यो पनि तथ्य, प्रमाण र स्रोत नखुलाई आएपछि धेरैले पत्याएनन् । समाचारका लागि ‘विश्वस्त स्रोत’ र ‘सम्बद्ध अर्को स्रोत’ र आफ्नै भनाईलाई आधार बनाएर समाचार लेखिएको छ । कारागार प्रशासक सुरेश भण्डारीको नाम उल्लेख भए पनि उनले कुरा गर्न नचाहेको भन्दै समाचार टुङ्गिएको छ । समाचारमा विश्वास गर्ने आधार नै नदेखेपछि रास्वपा तथा रवि लामेछाने समर्थक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता आधारहीन समाचार प्रकाशन गरेको भन्दै अन्नपूर्ण पोस्ट र समाचार लेख्ने पत्रकार सलमान खान विरुद्ध खनिए । एसी लगाइएपछि लामिछानेकै आग्रहमा चिसो रोक्नका लागि भेन्टिलेटरमा प्लाइउड लगाइएको अन्नपूर्णको दाबी समेत पुष्टि हुने प्रयाप्त आधार समाचारमा भेटिदैन । न त त्यो दाबी खुल्ने कुनै तस्विर नै समावेश गरिएको छ ।
२५ चैत २०८१ मा रूपन्देही जिल्ला अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेलाई भैरहवा स्थित रूपन्देही जिल्ला कारागार चलान गरिएको थियो । त्यतिखेरै विभिन्न सञ्चार माध्यममा लामिछानेलाई थुन्ने कोठाको भिडिओ/तथा फोटोहरू सार्वजनिक भएका थिए । जसमा लामिछाने भैरहवा कारागार चलान हुनु अघि नै झ्यालमा प्लाइउड ढोकिएको प्रस्ट देख्न सकिन्छ । त्यसैले उनी कारागार चलान भएपछि एसी राखेर त्यसैका लागि झ्याल प्लाइउडले छोपेको भन्ने दाबी पुष्टि हुँदैन ।
तल हेर्नुहोस्, गत चैतमै सार्वजनिक भएको फोटो । स्रोतः लोकान्तर
अन्नपूर्णले पहिलो समाचार छापेको ३ दिनपछि २६ साउन २०८२ को राति ९ः३२ बजे आफ्नो अनलाइन संस्करणमा ‘रिपोर्टर डायरी : …अनि रवि लामिछानेलाई एसीसहितको सुविधा दिइएको समाचार लेखेँ’ शीर्षकमा फलोअप छापियो । त्यसमा भने पहिलो समाचारको तुलनामा केही ‘बलियो’ देखिने आधार प्रस्तुत गर्न खोजेको देखियो ।
झन्डै १००० शब्द लामो सो स्टोरीमा आफ्नो पहिलो स्टोरीको एसी जडानको विषयलाई पुष्टि गर्न खोजिएको छ । उक्त स्टोरी ३ ओटा फोटोहरूको वरिपरि घुमेको छ । अब दुवै स्टोरीमा प्रस्तुत दाबी र तिनको सत्यताको विश्लेषण तर्फ लागौँ ।
एसीको बाहिरी युनिट कोठाको छतमाथि तलबाट नदेखिने गरी राखिएको सूचना पाएको र तत्काल गुगल स्याटलाइट इमेजमा लामिछानेलाई राखिएको कोठाको छत हेर्दा त्यहाँ कुनै वस्तु भएको अनुमान गरेको पत्रकार खानले उल्लेख गरेका छन् । “किनभने तस्बिरमा स्पष्ट नदेखिए पनि सेतो रङ्गको वस्तु प्रस्ट देखिन्थ्यो । प्राप्त सूचना र गुगल स्याटलाइट इमेज हेर्दा कोठाको छतमाथि केही न केही रहेको भन्नेमा म ढुक्क भएँ,”उनले लेखेका छन् ।
छतमा एसी भएको देखाउन लिइएको स्याटलाइट तस्विर गलत
अन्नपूर्णका पत्रकारले ‘स्याटलाइट तस्विरकै कारण कोठाको छतमा एसीको बाहिरी युनिट छोपेर राख्न खोजेको जस्तो अवस्थामा रहेको भन्ने पुष्टि भयो’ भनेर लेखेका छन् । तर टेकपानाको परीक्षणका क्रममा खानले आफ्नो फलोअप स्टोरीमा समावेश गरेको स्याटलाइट तस्विरको सन्दर्भ भ्रामक रूपमा प्रस्तुत गरेको पाइयो । किन कि पहिलो कुरा त अन्नपूर्ण पोस्टले समावेश गरेको तस्विर गुगल स्याटलाइट इमेज नभएर आईफोनबाट लिइएको एप्पल म्याप्सको तस्विर हो ।
तस्विरमा बायाँतर्फ अन्नपूर्ण पोस्टमा छापिएको तस्विर र दायाँतर्फ टेकपानाले लिएको एप्पल म्याप्सको स्क्रिनशट
माथि बायाँतर्फको पहिलो तस्विर अन्नपूर्ण पोस्टमा छापिएको हो । उक्त तस्विर टेकपानाले आईफोनबाट लिएको एप्पल म्याप्सको तस्विरसँग दुरुस्तै मेल खायो । दुवै तस्विर हेर्दा समान रूपमा रवि लामिछानेलाई थुनामा राखिएको भनिएको भवनको छतमा केही सेतो वस्तु जस्तो देखिन्छ । प्रयोगकर्ताले आईफोनको एप्पल म्याप्समा आफ्नो लोकेसन अन गर्दा कम्पास देखिन्छ, दुवै तस्विरमा त्यस्तो कम्पास स्पष्ट रूपमा देख्न सकिन्छ ।
अब लागौँ तस्विर कहिलेको हो भन्ने तर्फ । गुगल म्याप्स, एप्पल म्याप्स जस्ता एप्लिकेसनमा तत्कालै स्याटलाइट तस्विरहरू अपडेट हुँदैनन्, महिनौँदेखि वर्षौँसम्म लाग्न सक्छ । हामीले गुगल म्याप्स मा हेर्दा उक्त घरको छतमा कुनै सेतो वस्तु भए जस्तो देखिएन ।
त्यसपछि हामीले गुगल अर्थको ‘हिस्टोरिकल इमेजरी’मा खोज्यौँ । त्यस क्रममा सन् २०२४ को अप्रिलको तस्विरमा माथिको तस्विरमा जस्तै सेतो वस्तु रहेको स्पष्टसँग देखियो । तर २०२५ को अप्रिलको तस्विरमा भने उक्त सेतो वस्तु बिलाइसकेको देखिन्छ । अमेरिकी सरकारको जियोलोजिकल सर्भे (यूएसजीएस) को अर्थ एक्सप्लोररमार्फत सो स्थानको पछिल्लो तस्विरमा त झन् त्यस्तो कुनै वस्तु रहेको देखिएन ।
यसअर्थ सम्भवतः सुरुमा एप्पल म्याप्समा हेर्दा कुनै सेतो वस्तु रहेको देखेका पत्रकारले अर्को दिन गुगल म्याप्समा हेर्दा हटाइसकेको ठानेका पो हुन् कि ?
स्याटलाइट तस्विरकै कारण कोठाको छतमा एसीको बाहिरी युनिट छोपेर राख्न खोजेको जस्तो अवस्थामा रहेको भन्ने पुष्टि भएको दाबी गरेका ती पत्रकारले तत्कालै आफ्नो स्रोतलाई त्यसको फोटो खिच्न लगाएको बताएका छन् । प्रकाशनका लागि (पहिलो) समाचार पठाइसकेपछि आफू खिचिएको तस्बिर हेर्न गएको र खिचाई त्यति चित्त नबुझेको उनले लेखेका छन् । “त्यसैले तस्बिर अफिसमा पठाइनँ । आफूसँग सुरक्षित राखेँ । रात परेकाले केही हदसम्म सफा देखिने तस्बिर र भिडिओ खिच्ने योजना बनाएँ । कसैले थाहा नपाउने गरी लामिछानेको कोठाको छतमा राखिएको एसीको तस्बिर र भिडिओ खिचेर आफूसँग राखेँ ।”
राति र दिउँसोको समयमा खिचिएका तस्विरसहित अन्नपूर्ण पोस्टमा खानले ‘रिपोर्टर डायरी’ लेखे । जसमा समावेश दुवै तस्विर तल राखिएका छन् । पत्रकार खानले खिचेको भनेको भिडिओ भने केही स्थानीय अनलाइनहरूमा मात्रै प्रकाशन भएको भेटियो ।
एकै स्थानका दुई फोटो /स्रोतः अन्नपूर्ण पोस्ट
रूपन्देही जिल्ला कारागार प्रमुख सुरेश भण्डारीले बीबीसी नेपाली सेवासँगको कुराकानीमा अन्नपूर्ण पोस्टमा प्रकाशित दुवै फोटो रवि लामिछानेलाई राखिएकै भवनको भएको पुष्टि गरेका छन् । ‘तस्विरमा आएको भनिएको एसी कारागार हाताको हो कि होइन ?’ भन्ने बीबीसीको प्रश्नमा त्यो कारागारकै ब्लक भएको र लामिछाने आउनुभन्दा अघिदेखि नै बिग्रेको कम्प्रेसर (एसीको बाहिरी युनिट) छतमाथि राखिएको, तर उनका लागि भनेर एसी नजोडिएको प्रतिक्रिया उनले दिएका छन् ।
सोमबार मात्रै मानव अधिकार आयोगको टोली लामिछानेलाई राखिएको कारागारको अनुगमनमा निस्किएको थियो । अनुगमनपछि आयोगले विज्ञप्ति निकाल्दै भन्यो, “कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ ।”
अनुगमन लगत्तै आयोगकी सदस्य डा लिली थापाले लामिछाने सञ्चारमाध्यमहरूसँग रहेको ब्लकमा एसी जडान नगरिएको बताइन् । तर, अनुगमन टोलीमै रहेकी इन्सेक रूपन्देहीको अध्यक्ष रिमा बिसीले भने कोठामा एसी नरहे पनि एउटा प्वाल रहेको कुरा आफूलाई बताएको कुरा अन्नपूर्णका पत्रकार खानले लेखेका छन् । “जसलाई एसीको पाइपको लागि प्रयोग गरिएको थियो,” भनेर अन्नपूर्णले दाबी गरेको छ ।
तर अनुगमनपछि स्थानीय पत्रकारहरूसँगको कुराकानीमा इन्सेक प्रतिनिधि रिमा बीसीले उक्त कोठामा भर्खरै एसी जडान भए जस्तो आफूलाई नलागेको बताएकी थिइन् । भिडिओमा प्रसारित बाइटमा उनले भनेकी छिन्, “एउटा प्वाल चाहिँ देखेको हो । त्यो प्वाल अलिकति मोटो, मेरो हातको नाडी जत्रै खालको थियो । त्यो नयाँ जस्तो लाग्थेन । हामीले कारागारका जेलर/प्रशासकलाई पनि सोधेका थियौँ । उहाँले कोभिडको समयमा आइसोलेसन रूमको लागि प्रयोग गरिएकोले त्यो बन्द (कोठामा प्लाइ लगाइएको) गरिएको हो भन्नु भयो ।” सेक्युरिटीका लागि झ्यालमा प्लाइ लगाइएको र अप्ठेरो भए हटाइदिन्छौँ भन्दा लामिछानेले नै असहज भए भनौँला भन्ने जवाफ दिएको कुरा जेलरले आफूहरूलाई सुनाएको उनले बताएकी छिन् । इन्सेक प्रतिनिधि बीसीको बाइट सुन्न यहाँ क्लिक गर्नुहोस्, भिडिओको ४ः२० मिनेटमा जानुहोस् ।
अनुत्तरित प्रश्नः
- एकातिर लामिछानेलाई थुनामा राखिएको भवनको छतमा एसीको कम्प्रेसर राखिएको कुरा पुष्टि त हुन्छ । तर त्यो चालु अवस्थामा थियो वा बिग्रेको थियो भन्ने पर्याप्त तथ्यको अभाव ।
- मानव अधिकार आयोगको अनुगमनले कोठामा एसी नै नभएको देखाएको छ । अनुगमन अघि एसी हटाइयो वा उक्त कोठामा एसी नै थिएन, त्यो पनि ढुक्कसँग भन्न सकिने आधार छैन ।
- बिग्रेको एसी किन उक्त भवनको छतमा राखियो र समाचार आउने बित्तिकै किन हटाइयो भन्ने कुराको चित्तबुझ्दो जवाफ जेल प्रशासनले दिन सकेको छैन ।
- सार्वजनिक भएका तस्विर हेर्दा एसीको कम्प्रेसरसँगै फोहोरमैला समेत रहेको देखिन्छ । फोहोर साथमा हुनुले एसी बिग्रिएको हुनसक्ने कुरालाई बल त दिन्छ । तर उक्त फोहोर त्यसैलाई लुकाउन राखिएको भन्ने दाबी उकेरा नामक अनलाइनले गरेको छ । कम्प्रेसर बिग्रिएको थियो वा चल्ने एसी लुकाउन खोजिएको थियो भन्ने कुरा दुवै पक्षले पुष्टि गर्न सकेका छैनन् ।

