काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओ नेपालको नभएको स्पष्ट पार्दै नेपाल प्रहरीले आम नागरिकलाई सचेत गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले पुरुषले महिलालाई पोखरीमा पटक-पटक चोपलाउँदै यातना दिएको देखिने उक्त भिडिओ छिमेकी राष्ट्रको भएको बताएको हो ।
उक्त भिडिओ नेपालकै भएको भन्दै धेरै प्रयोगकर्ताले प्रहरीलाई ‘मेन्सन’ गरी सत्यतथ्य छानबिन गर्न अनुरोध गरेपछि प्रहरीको यस्तो भनाइ आएको हो । प्रहरीले भिडिओबारे चासो राख्दै सत्य तथ्य बुझ्न अनुरोध गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
आधिकारिक स्रोत नखुलेका र तथ्यहीन सामग्रीलाई ‘लाइक’ र ‘भ्युज’ बढाउने उद्देश्यले मात्र शेयर नगर्न सबैमा प्रहरीले अनुरोध गरेको छ ।
“यस किसिमको कुनै पनि फोटो, भिडिओ वा सामाग्री शेयर गर्दा आधिकारिक स्रोत नखुलेको, आफैलाई केही पनि जानकारी नभएको र केवल आफ्नो एकाउन्ट वा पेजमा लाइक्स र भ्युज बढाउने उद्देश्यका साथ सत्य तथ्य नबुझी जथाभाबी सम्प्रेषण नगर्न हुन समेत सम्पूर्णमा अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

