भरतपुर । भरतपुर महानगरभित्र सञ्चालनमा रहेका केही स्वास्थ्य संस्थाहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ भन्दा बाहिर गएर सञ्चालन गरेको उजुरीका आधारमा महानगरले अनुगमन गरेको हो ।
बुधबार महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीको नेतृत्वले टोलीले भरतपुरका आधा दर्जन स्वास्थ्य संस्थामा अनुगमन गरेको हो । टोलीले भरतपुर–१० स्थित अस्पताल रोडमा रहेको जयबुद्व अस्पताल, भरतपुर–१० वीरेन्द्र क्याम्पस रोड र भरतपुर–३ बेलचोकमा रहेको अनमोल आयुर्वेद उपचार केन्द्र तथा अनमोल आरोग्य केन्द्र, भरतपुर–३ आन्नद मार्गमा रहेको वैद्विक आयुर्वेद सेवा प्रालि, भरतपुर–१ पुलचोकमा रहेकोे रुपाली होमियोप्याथिक क्लिनिक तथा रुपाली प्याथोलोजीमा महानगरले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा १५ शय्याको सञ्चालन अनुमति पाएको जयबुद्व अस्पतालले बिनाचिकित्सक सेवा दिएको पाइएको छ । यस्तै सो अस्पतालले इमर्जेन्सी सेवामा कर्मचारी नै नराखी स्वीकृत शय्याभन्दा बढी बेड राखेर सञ्चालन गरेको पाइएको छ ।
यस्तै, चिकित्सकहरु आफलाइ पायक पर्ने समय बिहान तथा बेलुका मात्रै आउने गरेको पनि अनुगमनका क्रममा भेट्टिएको छ । जुन सञ्चालन अनुमतिको ठाडो उल्लघन हो स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले भने, ‘अब उनीहरुलाई मापदण्डअनुसार कारबाही हुन्छ ।’
यस्तै, अनमोल आयुर्वेद उपचार केन्द्र तथा अनमोल आरोग्य केन्द्रले भने नवीकरण नगरेको, मापदण्डभन्दा कम कर्मचारी राखेर सञ्चालन गरेको पाइयो । यस्तै, वैद्विक आयुर्वेद प्रालिले अनुमतिभन्दा बढी सेवा लिइएको पाइएको छ ।
‘अनुगमन गरिएका स्वास्थ्य संस्थाहरुलाई ४८ घन्टाभित्र आवश्यकीय कागजातसहित महानगरको स्वास्थ्य शाखामा सम्पर्कमा आउन हामीले निर्देशन दिएका छौँ’, अनुगमन समितिका सयोजक कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले भने, ‘अब उनीहरुलाई भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ अनुसार कारबाही हुन्छ ।’

