28 Oct 2025, Tue

बेखबर सरकारः ३ दशकदेखि निजीकै भरमा चलेको डटएनपी डोमेनको भविष्य अनिश्चित, अबको उपाय के ?

विश्वका प्रत्येक सार्वभौम मुलुक र भूभागहरूमा आ- आफ्नो कन्ट्री कोड डोमेन एड्रेसका लागि अङ्ग्रेजी नामबाट दुई अक्षरको कोड अर्थात् पहिचान प्राप्त गरेका हुन्छन । नेपालको इन्टरनेट ठेगानाको लागि डट एनपी (.np) भए जस्तै सामान्यतया सम्बन्धित देशको नाम बाट नै त्यस्तो कोड लिइएको हुन्छ । इन्टरनेट र सञ्चार प्रविधिको उच्चतम विकाशको आजको समयमा डिजिटल नाम अर्थात् आफ्नै पहिचान देश, समुदाय र ब्यक्ति सबैको लागि महत्त्वपूर्ण हुन्छ नै । यो नेपालको लागि पनि डिजिटल पहिचानको मेरुदण्ड हो ।

सेवा प्रवाहको दृष्टिकोणबाट आफ्नै पहिचानको डिजिटल ठेगानामा आधारित डटएनपी राज्यको अत्यावश्यक संवेदनशील सेवा संरचना हो । राज्यले आफ्ना सरकारी कार्यालयहरूका डोमेन नामहरू, इन्टरनेट ठेगाना अनि पहिचान यसैमा बनाएको हुन्छ ।  अधिकांश स्वदेशी व्यवसाय, सङ्घ संस्था, निजी तथा व्यक्तिगत सबै प्रयोजनको वेब साइटहरूको लागि पनि आफ्नै कन्ट्री कोड प्राथमिकतामा परिरहेको हुन्छ । यसको अर्थ सबै किसिमका सूचना अनि सेवा क्षेत्रका वेबसाइट तथा नेटवर्कहरू यसैमा निर्भर हुन्छन् ।

कुनै कारणवश डोमेन नेम सिस्टम/ प्रणालीमा गडबडी उत्पन्न भएमा अस्पताल, विमानस्थल, राजस्व, बैँक, पठन पाठन लगायत हाम्रा सबै अत्यावश्यक सेवाहरू क्षणभरमै प्रभावित हुन सक्छन् । यस्तो अवस्थामा प्राविधिक निर्भरताको संवेदनशीलता राम्रैसँग बोध हुने गर्छ ।
डिजिटल सार्वभौमिकताको (Digital Sovereignty) अर्को कोणबाट हेर्ने हो भने पनि डटएनपी सेवाको महत्त्व झन् बढ्ता महसुस हुन्छ । आजको दिनमा सार्वभौमिकताको विषय केवल भौगोलिक सीमानाहरूमा मात्र सीमित छैन, बरु क्लाउड स्टोरेज, डिजिटल डेटा र प्लेटफर्म लगायतको स्तरमा बढेको बाह्य प्रभाव, निर्भरता, अनि नियन्त्रण र हस्तक्षेपले भौगोलिक उपनिवेशको भन्दा पनि ज्यादा असर पारेको महसुस हुन्छ । डिजिटल उपनिवेशवादबाट हामी अरू प्रति निर्भर हुनुपर्ने खतरा दिनानुदिन बढिरहेको छ ।

डिजिटल उपनिवेशवादबाट बच्नको लागि आफ्ना डिजिटल डेटाहरूलाई स्थानीयकृत गर्दै साइबर सुरक्षा, इन्टरनेट सेवा, क्लाउड स्टोरेज र डिजिटल प्लेटफर्महरूमा आत्मनिर्भरता सुनिश्चित हुने गरी समयानुकूल प्रविधि नीतिको निर्माण, मानवीय सीप-क्षमताको उल्लेख्य अभिवृद्धि अनि पूर्वाधारमा यथोचित लगानी अपरिहार्य छ । यसको पहिलो सर्त हो, अन्तरराष्ट्रिय मापदण्डहरूको समेत अनुसरण गर्दै नेपालको आफ्नो डीएनएस र डटएनपी सेवाको सञ्चालन, नियमन र विकास प्रबन्धमा डोमेन ठेगाना सञ्चालन गर्ने रजिस्ट्री संस्थालाई समय सान्दर्भिक बनाउनु ।

नेपालमा सन १९९४/९५ तिर इन्टरनेट/ईमेल सेवा भित्र्याउने सन्दर्भमा मर्कन्टाइल प्रालिले इन्टरनेट असाइन नम्बर अथोरिटी (IANA) र इन्टरनेट कर्पोरेसन फर असाइन नेम्स एन्ड नम्बर्स (ICANN) जस्ता संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक यो सेवा सुरु गरेको थियो । डोमेन सेवा सञ्चालनमा सुरुवाति प्रक्रियादेखि त्यसपछिको प्राविधिक, आर्थिक लगायत अन्य महत्त्वपूर्ण व्यवस्थापन मर्कन्टाइलले गरेको तीन दशक नाघ्यो ।

यति लामो अन्तरालसम्म यो सेवा कम्पनीले सुरुदेखि आजसम्म पनि निःशुल्क उपलब्ध गराइरहेको छ । एउटा निजी कम्पनीले यति लामो समय यसको व्यवस्थापन र सेवा प्रवाहमा गरेको यो विश्वमै नौलो र अनुकरणीय अभ्यास हो ।

दर्ता प्रक्रियामा झन्झट रहीत तवरले सामान्य अनलाइन फाराम भरी नागरिकता वा कम्पनी दर्ता प्रमाणपत्र, प्यान अर्थात् नेपाल सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त प्रमाणहरूको आधारलाई अनिवार्य गर्ने स्वामित्व प्रमाणीकरण (Ownership Verification) को विधि अपनाएको छ । ३० वर्ष लामो यो अवधिमा समेत कुनै पनि कानुनी झमेला, विवाद विहीन सेवा सञ्चालनको यात्रा अवश्य नै प्रेरणादायी छ । 

तर बदलिँदो प्रविधि, सेवामा समयानुकूल माग र छनौट, नया सन्दर्भ, कानुनी उपचार र संरचनागत सुनिश्चितता, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको आधारमा अब भने नेपालले डटएनपी डोमेनको आर्थिक र प्राविधिक दिगोपन, सञ्चालन पारदर्शिता तथा उत्तरदायित्वहरूको पुनः समीक्षा गर्दै आगामी मार्गचित्र तय गर्नु आवश्यक छ र अब त्यसो नगरे धेरै ढिला हुनेछ । 

अब आएर सेवा सञ्चालन गरिरहेको संस्थाले सञ्चालन खर्च धान्न निकै कठिनाइ भोग्नुपरेको छ । कानुनी व्यवस्था नहुँदा सेवा बापत शुल्क लिन नैतिक सङ्कट सिर्जना भएको छ । बजेटको अभावमा पुराना संरचनाबाट जेनतेन सेवा सञ्चालन गर्नु पर्ने बाध्यताको स्थिति छ ।

बेला-बेलामा ड्राफ्ट हुने गरेको, तर टुङ्गोमा नपुग्ने सरकारी नीतिहरूको अस्पष्टताको कारण कम्पनीले आवश्यकता अनुसारको लगानी गर्ने बाटो समेत बन्द छ  । यति मात्र होइन, अत्यावश्यक सर्भरहरू, हार्डवेयर, सफ्टवेयर, सुरक्षा लगायतका प्राविधिक पक्षमा समेत समय सापेक्ष सुधार र अद्यावधिक गर्न अनि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ ।

विभिन्न समयमा कानुन, नीति निर्देशिकाहरू ड्राफ्ट हुने अनि थन्किने गरेबाट झन अन्योल बढेको सञ्चालक कम्पनी मर्कन्टाइलका प्रमुख सञ्जीव राजभण्डारी बताउनुहुन्छ । नागरिक समाज, उपभोक्ताहरू र सम्बन्धित सरोकारवालाहरू विषयको गम्भीरता नबुझेकै कारण हुन सक्छ, सुनिने गरी आवाज उठाउन अक्षम देखिन्छन् । कारण, यसको दिगो सञ्चालन संरचना निर्माण गर्ने गरी कानुनी प्रबन्ध छिटो गर्नमा सरकारी जाँगर सुस्त प्रायः छ ।

हालको व्यवस्थापनको मूल्याङ्कन

मापदण्डहालको स्थितिटिप्पणी
गभर्नेन्समर्कन्टाइल एकल सञ्चालकसामुदायिक वा सरकारी सहभागिता छैन
दर्ता प्रक्रियानिःशुल्क, कागजातमा आधारितसहज छ, तर स्वचालित प्रणालीको अभाव छ
कानुनी आधारअस्पष्टनीति भए पनि सरकारी समझदारीपत्र छैन
प्राविधिक सुरक्षावैकल्पिक (अतिरिक्त) रिडन्डेन्ट सर्भर भनिए तापनि विवरण अस्पष्टडोमेन नेम सिस्टम सुरक्षा विस्तार (DNSSEC) र एनिकास्ट (Anycast) प्रविधि / एउटै ठेगानाबाट मल्टी-सर्भर प्रणाली लागु छैन
विवाद समाधानस्पष्ट प्रणाली छैनवाइपो (WIPO) वा वैकल्पिक उपाय आवश्यक
पारदर्शितासञ्चालन विधि प्रकाशित तर हुइज (Whois) पारदर्शिता पूर्ण छैन 

अबको मार्गचित्र 

नेपालमा  डटएनपी डोमेन ठेगानाको दीर्घकालीन सेवा सञ्चालन र स्थायित्व कायम राख्न संस्थागत संरचना र सञ्चालन प्रणाली सुदृढ पार्नु आवश्यक छ । यसका लागि विभिन्न विकल्प मध्ये अल्पकालीन र दीर्घकालीन गरि निम्न दुई विकल्पहरू उचित हुन सक्दछन् l 

पहिलो विकल्प
कानुन बनेर स्पष्ट मार्गनिर्देशन नहुञ्जेल वर्तमान रजिस्ट्री मर्कन्टाइल प्रालिलाई अल्पकालीन रूपमा सेवा सञ्चालन गर्ने जिम्मेवारीमा निरन्तरता दिने 

 

संरचना

  • आधिकारिक निर्णय गरी सरकार र कम्पनीबिच सेवा सञ्चालन समझदारीपत्र बनाई दुवै पक्षको भूमिका, जिम्मेवारी र अनुगमन संयन्त्रहरू स्पष्ट गरी हस्ताक्षर गर्ने ।
  • बहुपक्षीय सल्लाहकार बोर्ड गठन गर्ने । जसले नीति निर्माणमा सुझाव दिने र सञ्चालनको समीक्षा गर्ने ।
  • हालकै उपलब्ध संरचनामा मर्कन्टाइलले डोमेन प्रोसेसिङ, हुइज (WHOIS) सेवा, डीएनएस (DNS) होस्टिङ र प्राविधिक कार्यहरू (Technical Operations) को नियन्त्रण यथावत् राख्ने र सेवा प्रदान गरिरहने ।
  • समयावधि: यसलाई २ वर्षसम्मको सङ्क्रमणकालीन मोडल बनाउन ठिक होला, त्यसपछि नयाँ संस्थामा जिम्मेवारी हस्तान्तरण गर्ने ।
  • उक्त अवधिसम्म सेवा सञ्चालनका लागि अत्यावश्यक आर्थिक स्रोत नेपाल सरकारबाट सुनिश्चित गराउने ।

फाइदा 

  • कम लागत, तुरुन्तै कार्यान्वयन योग्य ।
  • प्राविधिक क्षमता र अनुभवी टिम सहजै उपलब्ध।
  • डाउन टाइम वा प्राविधिक अवरोध बिना सेवालाई निरन्तरता दिन सकिने ।

दोस्रो विकल्प: स्वतन्त्र रजिस्ट्री संस्था गठन गर्ने 

संरचना

  • नेपाल डोमेन नेम रजिस्ट्री (NDNR) जस्तो स्वतन्त्र, गैर-नाफामूलक संस्था गठन गर्ने ।
  • बोर्डमा सरकार, मर्कन्टाइल, डोमेन, वेबसाइट, होस्टिङ लगायत विषयगत क्षेत्रका प्रतिनिधि, विषय विज्ञ, नागरिक समाज, विश्वविद्यालय, कानुनी विशेषज्ञ आदिबाट प्रतिनिधित्व सुनिश्चित गर्ने ।
  • रजिस्ट्री -रजिस्ट्रार विधि अपनाउने ।
  • विवाद समाधान,  डेटा संरक्षण ऐन,  डिजिटल सार्वभौमिकता आधारित नीतिहरू लागु गर्ने ।

फाइदा 

  • दीर्घकालीन पारदर्शिता र सार्वजनिक स्वामित्व सुनिश्चित हुने। 
  • बहुपक्षीय नीति निर्माण र प्रतिस्पर्धी रजिस्ट्रार प्रणाली लागु गर्न सकिने । 
  • डोमेन डेटाको राष्ट्रिय स्वामित्व र कानुनी आधार तयार हुने । 

निष्कर्षः
 

डटएनपी डोमेन नेपालको डिजिटल प्रतिष्ठा हो र यसलाई समृद्ध बनाउने कार्य सामूहिक जिम्मेवारी हो । वर्तमान व्यवस्थापनले सुरुवात राम्रो गरे पनि समयानुकूल सुधार आवश्यक छ । पारदर्शिता, सुशासन, कानुनी स्पष्टता, प्राविधिक मजबुती र सर्वसाधारणको सहभागिताबाट मात्र हामीले डटएनपीलाई प्रतिस्पर्धी बनाउँदै डिजिटल नेपालको आधार बनाउन सक्नेछौँ ।

(लेखक अधिकारी  पूर्व रजिस्ट्री म्यानेजर हुन् ।)  

Leave a Reply

Your email address will not be published. Required fields are marked *