27 Apr 2026, Mon

तपाईंको नाम र फोटो प्रयोग गरेर नक्कली इन्स्टाग्राम प्रोफाइल बनायो ? यसो गर्नुहोस्

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा विभिन्न खालका समस्या पनि देखिन थालेका छन् । यस्तै मध्येकाे एक हो, अरूको नाम र फोटो प्रयोग गरेर नक्कली प्रोफाइल बनाइदिने । यदि तपाईंको नाम र तस्बिर राखेर कसैले नक्कली इन्स्टाग्राम अकाउन्ट बनाएको छ भने त्यसले तपाईंलाई निकै तनाव दिन सक्छ ।

यस्ता नक्कली अकाउन्टबाट तपाईंको पहिचानको दुरुपयोग गरी साथीभाइ वा परिवारसँग पैसा माग्ने, अनावश्यक मेसेज पठाउने वा तपाईंको प्रतिष्ठामा आँच पुर्‍याउने किसिमका गतिविधि हुन सक्छन् ।

यस्तो समस्या परेमा के गर्ने ? यहाँ हामीले त्यसका लागि केही महत्त्वपूर्ण कदमहरू प्रस्तुत गरेका छौंः

१. अकाउन्टले तपाईंको पहिचान प्रयोग गरेको निष्कर्ष निकाल्नुहोस्

सबैभन्दा पहिले उक्त प्रोफाइलले साँच्चै तपाईंको पहिचान प्रयोग गरिरहेको छ वा छैन भन्ने कुरा यकिन गर्नुहोस् । कहिलेकाहीँ फ्यान पेज वा व्यङ्ग्यात्मक अकाउन्टहरू पनि बनेका हुन सक्छन् जसले इन्स्टाग्रामको नियम उल्लंघन गर्दैनन् । तर यदि कुनै अकाउन्टले तपाईंको अनुमति बिना व्यक्तिगत विवरण जस्तै तपाईंको फोटो, नाम, वा बायो प्रयोग गरेको छ भने, पहिचान चोरी हो ।
यी कुरामा ध्यान दिनुहोस् :

  • तपाईंको पहिचान प्रयोग गरेर अरूलाई झुक्याउने वा ठगी गर्ने प्रयास भएमा ।
  • नक्कली अकाउन्टबाट पैसा, ओटीपी (OTP) वा अन्य गोप्य जानकारी मागिएमा ।
  • तपाईंको व्यक्तिगत वा व्यावसायिक प्रतिष्ठामा हानि पुर्‍याउने खालका पोस्ट वा मेसेज गरिएमा ।

यस्तो गतिविधि देखिएमा तुरुन्तै उक्त प्रोफाइलको स्क्रिनसट, युजरनेम (Username), पोस्ट र मेसेजहरू सुरक्षित राख्नुहोस् । यी प्रमाणहरू पछि रिपोर्ट गर्दा वा कुनै कानुनी कारबाहीका लागि सहयोगी हुन सक्छन् ।

२. इन्स्टाग्राममा रिपोर्ट गर्नुहोस्

पहिचान चोरी गरी बनाइएका अकाउन्टलाई इन्स्टाग्राममा रिपोर्ट गर्ने दुई तरिका छन् : एपबाट वा वेब फारम भरेर ।

एपबाट रिपोर्ट गर्ने तरिका :

  • सबैभन्दा पहिले नक्कली प्रोफाइलमा जानुहोस् ।
  • त्यहाँ रहेको तीनवटा थोप्ला (three-dot-icon) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘Report’ → ‘Report Account’ → ‘It’s pretending to be someone else’ छान्नुहोस् ।
  • त्यसपछि ‘Me’ वा ‘Someone I know’ मध्ये एक विकल्प छान्नुहोस् र निर्देशनअनुसार रिपोर्ट पूरा गर्नुहोस् ।
  • तपाईंले आफ्नो पहिचान प्रमाणित गर्न सरकारी परिचयपत्र (जस्तै : नागरिकता, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स) को फोटो अपलोड गर्नुपर्ने हुन सक्छ ।

३. आफ्ना साथीभाइ तथा फलोअरहरूलाई जानकारी गराउनुहोस्

नक्कली अकाउन्टले तपाईंको नेटवर्कमा रहेका मानिसहरूलाई लक्षित गरी हानि पुर्‍याउन सक्छ । त्यसैले, आफ्ना साथीभाइ, सहकर्मी र फलोअरहरूलाई
तुरुन्तै यसबारे जानकारी दिनुहोस् ।

तपाईंले आफ्नो आधिकारिक अकाउन्टको स्टोरी वा फिडमा सन्देश लेखेर यस्तो जानकारी गराउन सक्नुहुन्छ । धेरै व्यक्तिले रिपोर्ट गर्दा इन्स्टाग्रामले छिटो कारबाही गर्ने सम्भावना बढ्छ ।

४. रिपोर्टपछि पनि अकाउन्ट सक्रिय रहेमा

यदि रिपोर्ट गरेको केही समयपछि पनि उक्त नक्कली अकाउन्ट हटाइएन भने तपाईंले इन्स्टाग्रामको हेल्प सेन्टर (Help Center) मा गएर पुनः रिपोर्ट गर्न सक्नुहुन्छ । कहिलेकाहीँ बारम्बार रिपोर्ट गर्दा छिटो समाधान हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *