27 Apr 2026, Mon

टक्कर दिन मस्कले ल्याएको ग्रोकिपिडियाका अधिकांश पेज विकिपिडियाबाटै कपी

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको एआई कम्पनी एक्सएआईले हालै मात्र विकिपिडिया जस्तै अनलाइन विश्वकोश ‘ग्रोकिपिडिया’ सञ्चालनमा ल्याएको छ । विकिपिडिया पक्षपाती भएको आरोप लगाउँदै आएका मस्कले त्यसैको विकल्पमा नयाँ प्लेटफर्म सुरु गरेका हुन् । 

तर ग्रोकिपिडियाका अधिकांश पेज विकिपिडियाका पेजसँग मिल्दोजुल्दो देखिएका छन् । ग्रोकिपिडियाको डिजाइन अहिले अत्यन्तै सामान्य छ । यसको माथिपट्टि ग्रोकिपिडियाको लोगो छ भने तलपट्टि सर्च बार राखिएको छ ।

यसको होमपेजको शैली पनि विकिपिडियासँग मिल्छ, तर विकिपिडिया तुलनात्मक रूपमा बढी स्तरीय देखिन्छ । ग्रोकिपिडियामा भएका सामग्रीको हेडिङ, सबहेडिङ र स्रोतको उल्लेख विकिपिडियाको जस्तै देखिन्छन् । यद्यपि ग्रोकिपिडियामा अहिलेसम्म कुनै फोटो समावेश गरिएको छैन । 

विकिपिडियामा प्रयोगकर्तालाई पेज एडिट गर्न अनुमति दिइन्छ । तर ग्रोकिपिडियामा भने हाल प्रयोगकर्ताले एडिट गर्न सक्ने कुनै सुविधा उपलब्ध छैन । द भर्जका अनुसार केही पेजमा ‘एडिट’ बटन देखिए पनि त्यसले पहिले नै गरिएका एडिटलाई मात्र देखाउँछ र प्रयोगकर्ताले आफ्नै सुझावहरू दिन सक्ने सुविधा उपलब्ध गराइएको छैन ।

ग्रोकिपिडियामा भएका सामग्रीको तथ्यजाँच कम्पनीको ग्रोक नामक एआईले गर्ने बताइएको छ । तर, तथ्यजाँचका सन्दर्भमा लार्ज ल्याङ्ग्वेज मोडेल विवादित छ । खासगरी यस्ता मोडेलले प्रायः झुटा ‘तथ्य’ प्रस्तुत गर्ने भएकाले ‘एआई तथ्य प्रमाणीकरण’ को अवधारणा नै आलोचित बनेको छ । यसमा तथ्य जाँच कति पहिले गरिएको थियो भन्ने समय पनि उल्लेख गरिएको छ । यद्यपि एआईको तुलनामा तथ्यजाँच मानवले नै गर्नुपर्ने बहस भइरहेका छन् ।

एलन मस्कले विकिपिडियाभन्दा ग्रोकिपिडिया ‘व्यापक सुधार’ हुने बताए पनि द भर्जले यसमा अपलोड भएका केही लेखले विकिपिडियाकै जानकारी हुबहु नक्कल गरेको पुष्टि गरेको छ । उदाहरणका लागि म्याकबुक एयरको पेजको तलपट्टि “यो सामग्री विकिपिडियाबाट एडप्ट गरिएको हो जुन क्रिएटिभ कमन्स एट्रिब्युसन-शेयरअलाइक ४.० लाइसेन्स अन्तर्गत इजाजत प्राप्त छ’ भन्ने सूचना राखिएको देख्न सकिन्छ ।

केही लेख पुनर्लेखन गरिएको भने पनि अधिकांश हुबहु विकिपिडिया जस्तै रहेको छ । द भर्जका अनुसन्धानकर्ता जे पिटर्सले परीक्षणका क्रममा प्लेस्टेसन ५ र लिङ्कन मार्क भीआईआईका पेजमा पनि क्रियटिभ कमन्स अन्तर्गत नै प्रयोग गरिएको फेला पारेका थिए । तर, सामग्री भने विकिपिडियाबाटै नक्कल गरिएको छ । (विकिपिडियामा प्लेस्टेसन ५ र लिङ्कन मार्क भीआईआईआई

विकिपिडिया सञ्चालन गर्ने गैर-नाफामूलक संस्था विकिमिडिया फाउन्डेसनकी प्रवक्ता लरेन डिकिन्सनले द भर्जलाई भनिन्, “ग्रोकिपिडियालाई समेत अस्तित्वमा रहन विकिपिडियाको आवश्यकता पर्ने रहेछ ।”

एक्सएआईले विकिपिडियालाई आधार मानेको यो पहिलो पटक भने होइन । गत महिना एक एक्स प्रयोगकर्ताले एआई च्याटबट ग्रोकले विकिपिडिया पेजलाई स्रोतको रूपमा उद्धृत गरेको औंल्याएका थिए । त्यसपछि मस्कले ‘वर्षको अन्त्यसम्ममा यसलाई समाधान गर्ने’ बताएका थिए । 

ग्रोकिपिडियाका सबै लेख विकिपिडियामा आधारित छैनन् । विशेषगरी केही विवादास्पद विषयमा भने फरक धारणा राखिएको छ । उदाहरणका लागि जलवायु परिवर्तनसम्बन्धी लेख दुवै साइटमा छन् । तर, दुबैमा एक अर्का विपरीतका लेख देख्न सकिन्छ । विकिपिडियाको पेजमा यसबारे लेखिएको छ, “जलवायु तातिरहेको छ र यो मानवीय गतिविधिका कारण भएको हो भन्ने विषयमा वैज्ञानिक सहमत छन् । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका कुनै पनि वैज्ञानिक निकाय यस विचारसँग असहमत छैनन् ।”

यसको विपरीत ग्रोकिपिडियाको पेजमा लेखिएको छ, “हालको जलवायु परिवर्तनलाई मानवीय कारणले नै हावी गरेको भन्ने विषयमा वैज्ञानिकको लगभग सर्वसम्मत सहमति रहेको दाबी गर्नु अतिरञ्जित हो भन्ने तर्क आलोचकको छ । यस्तो सहमति लिटरेचर रिभ्युज (literature reviews) मा गरिने छनौटपूर्ण वर्गीकरणका कारणले मात्र बढेको देखिएको उनीहरूको भनाइ छ ।”

ग्रोकिपिडियाका अनुसार जलवायु परिवर्तनलाई लिएर सञ्चार माध्यम र ग्रीनपीस जस्ता संगठनले जनतामा डर र चिन्ता बढाउने काम गरिरहेका छन् । तिनीहरूले यो विषयलाई अत्यन्तै ठूलो र अस्तित्वको संकटजस्तो देखाउने प्रयास गरिरहेको ग्रोकिपिडियामा उल्लेख छ । यसरी ‘उनीहरूले सार्वजनिक बहस र नीतिलाई प्रभाव पार्ने गर्छन् तर सबै कुरा सधैं ठोस प्रमाण वा तथ्यमा आधारित हुँदैन,’ भनेर ग्रोपिडियामा लेखिएको छ ।

ग्रोकिपिडियाको होमपेजको तलपट्टि यसमा ८ लाख ८५ हजारभन्दा बढी लेख रहेको उल्लेख गरिएको छ । यसको तुलनामा विकिपिडियासँग हाल करिब ७० लाख अंग्रेजी पेज उपलब्ध छन् । यद्यपि ग्रोकिपिडियाको होमपेजमा ‘v0.1’ संस्करण नम्बर उल्लेख गरिएकाले यो यसको प्रारम्भिक संस्करण मात्र रहेको देखिन्छ । मस्कले यो सुरुवाती भर्सनमा केही समस्या देखिए पनि भर्सन १.० भने १० गुणा उत्कृष्ट हुने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *