काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलाकी पत्नी एवं जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम फेरि एकपटक सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले बोलेको भिडिओ क्लिप भाइरल भएसँगै उनको आलोचना र व्यङ्ग्य भइरहेको हो ।
प्रस्तोता गौरव पौडेलले प्राइम टाइम्स टेलिभिजनमा विश्व रेकर्ड राख्ने उद्देश्यले सञ्चालन गरिरहेको १०० घण्टा लामो म्याराथन टक शोमा गौतम अतिथिको रूपमा पुगेकी थिइन् । सोही अन्तर्वार्ताका क्रममा उनले बलात्कार जस्तो जघन्य अपराधका विषयमा बोलेको शब्द सामाजिक सञ्जालमा विवादित बनेको हो ।
भाइरल भिडिओमा एलिजाले भनेकी छिन्, “फाँसीको सजाय दिनुस् न बलात्कार भएको मान्छेलाई, अनि बलात्कार घट्छ ।”
वास्तवमा उनले ‘बलात्कारी’ (पीडक) लाई फाँसीको सजाय हुनुपर्छ भन्ने आशयले बोल्न खोजे तापनि जिब्रो चिप्लिँदा ‘बलात्कार भएको मान्छे’ (पीडित) लाई सजाय दिनुपर्ने भनेपछि उनी हाँसोको पात्र बनेकी हुन् । यो कार्यक्रम प्रत्यक्ष प्रसारण (लाइभ) भएका कारण उक्त गल्ती सच्याउने वा एडिट गर्ने ठाउँ नरहेकाले सोही अंश बाहिरिएको थियो ।
एलिजाको यो अभिव्यक्तिलाई लिएर फेसबुक, टिकटक र एक्समा विभिन्न तवरले ट्रोल बनाइएको छ । एनएजे इन्टरटेन्मेन्ट नामक फेसबुक पेजमा राखिएको उक्त भिडिओ क्लिपलाई छोटो समयमै साढे तीन लाखभन्दा बढी पटक हेरिएको छ ।
उक्त पोस्टमा कमेन्ट गर्नेहरूले उनको बौद्धिकता र राजनीतिक यात्रामाथि प्रश्न उठाएका छन् । एक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, “सहकारी पीडितलाई कडा कारबाहीको माग पश्चात् अर्को कडा माग सरकारलाई ‘बलात्कार भएको मान्छेलाई फाँसीको सजाय हुनुपर्छ’ । यत्तिको भिजनरी नेता अरू हुनै सक्दैन ।”
त्यस्तै केहीले उनलाई नेपाली भाषा र व्याकरणको ज्ञान लिन सुझाव दिएका छन् भने केहीले उनको मानसिक अवस्थामाथि समेत कटाक्ष गरेका छन् ।
गौतम जिब्रो चिप्लिएर विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि उनले ‘सहकारी पीडितलाई कारबाही गर’ भन्दै नारा लगाएको भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला पनि सहकारीबाट ठगिएका पीडितलाई न्याय दिनुको सट्टा उनीहरूकै विरुद्ध कारबाहीको माग गरेपछि उनी आलोचित बनेकी थिइन् ।
एकपछि अर्को विवादास्पद अभिव्यक्तिका कारण एलिजा गौतम पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ट्रोलको मुख्य विषय बन्दै आएकी छिन् ।

