28 Oct 2025, Tue

जन्त जाँदा आएको प्रस्तावले बनायो राजा!

‘माग्ने बुढा’ नामबाट चिरपरिचित हुनुअघि केदार घिमिरेले के मात्र गरेनन्!

गाउँबाट काठमाडौं आएको निम्नवर्गीय परिवारका उनले कहिले घरका भित्ता रंगाए, कहिले इँटा–बालुवा बोके।

कहिले साइकलमा मसला बेच्न हिँडे। कहिले फुटपाथमा पसल खोले।

टेम्पो चलाउनेदेखि घर–घरमा गएर ट्युसन पनि पढाए।

दु:खै दु:खले भरिएको संघर्षपूर्ण जीवनबाट उठेका केदार आज देश–दुनियाँलाई हँसाउन माहिर छन्। र, हँसाएरै लोकप्रिय कलाकार बनेका छन्।

टेलिसिरियलबाट करिअर सुरू गरेका उनको माग फिल्ममा पनि उत्तिकै छ। उनी आगामी फिल्ममा श्रीपेच पहिरिँदै ‘माग्ने राजा’ बनेर आउँदै छन्।

‘संघर्षका दिनमा बालुवा बोक्दा टाउकोमा नाम्लो हुन्थ्यो। अहिले माग्ने राजा भनेर टाउकोमा श्रीपेच राखिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘कता कता उस्तै उस्तै महसुस भइरहेको छ।’

मकवानपुरको ठिंगनमा जन्मिएका केदारले कलाकार बन्ने सपना कहिल्यै देखेका थिएनन्।

उनको गाउँमा बिजुलीबत्ती थिएन। मोटरबाटो थिएन। एकपटक हेटौंडा जाँदा साइकल देखेर अचम्म मानेको क्षण उनी आज पनि सम्झन्छन्।

‘त्यस्तो परिवेशमा हुर्केको मैले फिल्ममा आउँछु, माग्ने राजा बन्छु र श्रीपेच लगाउँछु भन्ने त कल्पनै गरेको थिइनँ,’ उनले भने।

केदारलाई कहिलेकाहीँ जीवन भनेको भाग्यको खेल हो कि भन्ने लाग्छ। किनभने, कलाकार बन्ने कल्पना नगरे पनि ७–८ वर्षको हुँदा घरमा आएका ज्यातिषीले भनेका थिए, ‘यो कलाकार बन्छ!’

‘त्यति बेला मलाई कलाकार बन्नु भनेको के हो भन्ने पनि थाहा थिएन,’ उनले भने।

उनको कलायात्रा रोचक पनि छ।

रेडिओ–क्यासेट पसल चलाउँदा उनी एफएम स्टेसनसँग जोडिएका थिए। त्यसै क्रममा एउटा हास्य विधा कार्यक्रम चलाउन थाले।

एकदिन उनलाई भनियो, ‘तपाईंको सिर्जना राम्रै देखिन्छ। तर त्यो मात्र कसैले सुन्नेवाला छैन। त्यसैले परिचित कलाकारहरूको अन्तर्वार्ता पनि लिनुस्। त्यसैको बीचमा आफ्नो सिर्जना घुसाएर प्रसारण गर्नुभयो भने धेरै जना श्रोतासम्म पुग्छ।’

केदारलाई सुझाव मनपर्‍यो। उनले त्यसै गरे।

सन्तोष पन्त, गोपालराज मैनाली, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुसाल लगायत धेरै अग्रज कलाकारहरूको अन्तर्वार्ता लिए।

ती कलाकारको अन्तर्वार्ता लिन जाने क्रममा देखेको माहोलले नै कलाप्रति रूचि जागेको उनी बताउँछन्।

त्यति बेलाको एउटा रोचक संस्मरण उनले सुनाए — उनी सन्तोष पन्तको अन्तर्वार्ता लिन गएका थिए। त्यस बेला ‘हिजो आजका कुरा’ लोकप्रियताको शिखरमा थियो। त्यसमा एक झलक देखिन पाए हुन्थ्यो भनेर पन्तको घरअगाडि कलाकार बन्न चाहनेहरूको मेलै लाग्थ्यो।

केदारले पनि सिरियल खेल्न अभिनय सिके। अनि ‘हिजो आजका कुरा’ बाटै अभिनय यात्रा सुरू गरे।

त्यसपछि जितु नेपालसँग उनको भेट भयो। जितुको ‘गीताञ्जली’ कार्यक्रम एकदमै चलेको थियो। अन्तर्वार्ता लिएपछि केदारले अभिनयको कुरा राखे र ‘गीताञ्जली’, ‘लोकलहरी’, ‘टिपनटापन’ लगायतमा काम पाए।

अनि सुरू भयो, तितो सत्य। यसले उनको अभिनय यात्रालाई नयाँ उचाइ दियो।

त्यसपछि केदारले ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ मा काम गरे।

‘मेरी बास्सै’ मा निर्वाह गरेको ‘माग्ने बुढा’ को भूमिकाले नै उनलाई यत्रतत्र, सर्वत्र परिचित बनायो। उनी यो सिरियलमा लामो समय देखिएका थिए।

यो क्रम चल्दै जाँदा एक समय यस्तो आयो, जब सिरियलहरू धमाधम बन्द हुन थाले। त्यही बेला दीपकराज गिरीले एउटा प्रस्ताव ल्याए, ‘मिलेर फिल्म बनाउने हो?’

केदारलाई प्रस्ताव मन पर्‍यो।

यसरी टेलिसिरियलका चर्चित हास्य कलाकारहरू समावेश भएर बनेको फिल्म ‘छ एकान छ’ व्यावसायिक रूपले पनि सफल भयो।

त्यसपछि केदारले दीपक र दीपाश्री निरौलाको टिममा रहेर ‘वडा नम्बर ६’, ‘छक्कापञ्जा’ शृंखला, ‘छ माया छपक्कै’ लगायत फिल्ममा काम गरे। बाहिरी ब्यानरको ‘रामकहानी’ मा पनि अभिनय गरे।

पहिले दीपक–दीपा समूहभन्दा बाहिरको फिल्म खासै नखेल्ने केदार अहिले भने बाहिरका फिल्म पनि धमाधम गरिरहेका छन्। त्यसैमध्ये केदारले मुख्य भूमिकामा अभिनय गरेको आगामी फिल्म हो, ‘माग्ने राजा’।

यो फिल्मको कथा केदारलाई हेरेर उनकै लागि लेखिएको हो।

केदारलाई यो फिल्मको प्रस्ताव आउनुका पछाडि पनि रोचक कथा छ। उनी आफ्नो भतिजको बिहेका लागि दाङ जाँदै थिए।

उनले जन्तीमा सामेल हुन दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरेलाई पनि बोलाए। त्यसअघि केही फिल्म निर्माण तथा निर्देशन गरेका उनी पछिल्लो समय फिल्मबाट टाढिएर राजनीतिमा लागेका थिए।

‘उहाँ आएर केही समय जन्तीमा सामेल हुनुभयो। अनि आफ्नै गाडीमा राखेर मलाई ७–८ किलोमिटर पर लैजानुभयो। त्यहाँ उहाँले फिल्मको प्रस्ताव गर्नुभयो,’ केदारले भने।

मुनालले भनेका थिए, ‘तिमीलाई केन्द्रमा राखेर कथा लेख्नुपर्‍यो।’

केदारलाई पछिल्लो समय थुप्रै फिल्मबाट अफर आइरहेको थियो। उनले ती सबैमा काम गरेका थिएनन्। मुनाललाई पनि उनले कथा सुनेपछि मात्र निर्णय लिने जबाफ दिए।

यहाँ दुवैको कुरा मिलेन। केदार ‘कथा सुनेपछि मात्र निर्णय लिन्छु’ भन्ने, अनि मुनाल ‘तिमीले अभिनय गर्छु भने मात्र कथा लेख्छु’ भन्ने।

कुरा यत्तिकैमा अड्कियो।

त्यसको केही समयपछि मुनाल फिल्मको कथा लिएर लेखक सामिप्यराज तिमिल्सिनासहित केदारकहाँ पुगे।

कथा सुनेपछि केदारको चित्त बुझ्यो। उनले काम गर्ने सम्झौता गरे।

त्यो फिल्म अरू कुनै होइन, ‘माग्ने राजा’ नै हो।

केदारलाई कतिपयले उनको चर्चित पात्रसँग जोडेर आलोचना पनि गर्छन्। उनी सधैं माग्ने बुढाकै चरित्रमा देखिए, कुनै नयाँ प्रयास गरेनन् भन्छन्।

यसबारे केदार भन्छन्, ‘यो गुनासो म स्वीकार गर्छु। मलाई धेरै चरित्रमा अभिनय गर्न नआउन पनि सक्छ। त्यसमाथि मलाई अरू चरित्रको अफर पनि खास्सै आएन। बीचमा जति पनि विज्ञापनको कुरा आयो वा म्युनिक भिडिओको कुरा आयो, त्यसमा माग्ने बुढाकै चरित्र हुनुपर्‍यो, त्यही गर्नुपर्‍यो भन्नुहुन्छ।’

‘मैले केही फरक गरौं, केही नयाँ गरौं पनि भनेँ, तर कसैले मान्नुभएन,’ उनले अगाडि भने, ‘यसले पनि म सधैं एउटै चरित्रमा खुम्चिएँ कि भन्ने लाग्छ।’

‘माग्ने राजा’ फिल्ममा भने माग्ने बुढाको चरित्रमा उचारचढाव देखाइएको उनी बताउँछन्।

केदारको पारिश्रमिकलाई लिएर पनि यो फिल्मको चर्चा भइरहेको छ। पहिलो पोस्टर सार्वजनिक गर्ने क्रममा केदारले ६१ लाख रूपैयाँ पारिश्रमिक लिएको भनेर निर्माताले बताएपछि चर्चा सुरू भयो।

केदार भने यो हल्ला मात्र भएको बताउँछन्।

‘उहाँ (मुनाल घिमिरे) ले पारिश्रमिक बढाएर भन्दा किन यसरी भन्नुभयो भनेको थिएँ,’ केदारले भने, ‘फिल्म आउँदै गरेको कुरा मान्छेलाई थाहा हुन जरूरी छ। थाहा दिन केही न केही मरमसला हाल्नुपर्छ भन्ने उहाँको कुरा थियो।’

‘आपसी समझदारीमा पारिश्रमिक लिएको हुँ, कति भन्ने खुलाउन चाहन्न,’ उनले भने।

पछिल्लो समय केदारको फिल्मी रफ्तार बढेको छ। उनी एकपछि अर्को धमाधम फिल्म खेल्दै छन्। ‘माग्ने राजा’ तीजमा प्रदर्शन गर्ने तयारी छ भने त्यसपछि दसैंमा केदारकै शीर्ष अभिनय रहेको ‘माइतीघर’ रिलिज हुँदैछ। तिहारमा उनको अर्को फिल्म ‘जेरी अनटप’ रिलिज हुने भनिएको छ।

केदारले हालसालै नयाँ फिल्म ‘जहाजैमा’ पनि साइन गरेका छन्। यो फिल्म फागुनमा प्रदर्शन हुनेछ।

यसबाहेक दीपक–दीपाको फिल्ममा पनि छिट्टै फेरि सहकार्य गर्ने उनले बताएका छन्।

केदार आफू मात्र होइन, उनको परिवार नै कलाकारितामा संलग्न छ। उनकी पत्नी सीतादेवी तिमिल्सेना कलाकारितामै छिन्।

‘सक्किगोनि’ सिरियलमा अभिनय गरेकी उनी अभिनीत फिल्म ‘सानो संसार’ प्रदर्शनमा आइसकेको छ। अब उनी मरिचमान श्रेष्ठ (बल्छीधुर्वे) को फिल्म ‘गोबर गणेश’ मा देखिँदै छिन्। 

केदारका छोरा आशिष घिमिरेले पनि ‘होस्टेल ३’ बाट फिल्ममा डेब्यू गरेका छन्। यो फिल्मले राम्रो व्यापार गर्‍यो।

‘ऊ फिल्म क्षेत्रमै सक्रिय हुने योजनामा छ,’ केदारले भने, ‘छोरीलाई चाहिँ यो क्षेत्रमा खास्सै रूचि छैन।’

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *