28 Oct 2025, Tue

गलत मोबाइल नम्बरमा रिचार्ज गर्नुभयो ? पैसा फिर्ता पाउन के गर्ने ?

काठमाडौँ । मोबाइलमा रिचार्ज गर्न अब रिचार्ज कार्ड किन्नुपर्ने झन्झट छैन । मोबाइल बैंकिङ र डिजिटल वालेटको केही ट्यापमा हुने सहजताले दैनिक जीवन सजिलो बनाएको छ । तर, यही सहजताभित्र एउटा ठुलो समस्या लुकेको छ- झुक्किएर गलत नम्बरमा रिचार्ज हुनु ।

नम्बर टाइप गर्दा हुने सानो गल्तीले तपाईंको पैसा अर्कै व्यक्तिलाई पुग्छ । यस्तो अवस्थामा अधिकांश प्रयोगकर्ता आफ्नो रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने अन्योलमा पर्छन् ।

झुक्किएर एउटा अकाउन्टमा हाल्नुपर्ने पेसा अर्को अकाउन्टमा गयो भने बरु उक्त रकम फिर्ता पाउन सहज होला, तर रिचार्जको हकमा त्यसो हुँदैन । झुक्किएर अर्को नम्बरमा रिचार्ज गर्दा त्यो रकम फिर्ता पाउने सम्भावना एकदमै न्यून हुन्छ । यद्यपि डिजिटल वालेट तथा टेलिकम कम्पनीहरू आफूहरूले सकेसम्म रकम फिर्ता ल्याउने गरेको बताउँछन् । 

तर, वास्तविकतामा गलत नम्बरमा गएको रिचार्ज रकम फिर्ता पाउन ग्राहकले थ्रप्रै सास्ती भोग्नुपर्छ । यसको मुख्य कारण हो, रिचार्ज हुनेबित्तिकै त्यसमा लाग्ने कर सरकारी खातामा जम्मा हुनु । यद्यपि, डिजिटल वालेट र दूरसञ्चार कम्पनीहरूले ग्राहकको गुनासो सुनेर सहजीकरण गर्ने दाबी गरे पनि प्रक्रिया अत्यन्तै जटिल र समय लाग्ने खालको छ ।

डिजिटल वालेटको भूमिका समन्वयकर्ता मात्र

इसेवा, खल्ती जस्ता वालेटबाट रिचार्ज गर्दा गल्ती गर्नुभयो भने वालेट कम्पनीहरूले आफूलाई केवल एक मध्यस्थकर्ता वा सहजकर्ताको रूपमा प्रस्तुत गर्छन् । उनीहरूका अनुसार, रकम फिर्ता गर्ने वा नगर्ने अन्तिम अधिकार दूरसञ्चार कम्पनीहरू (नेपाल टेलिकम, एनसेल) सँगै हुन्छ ।

इसेवाका चिफ स्ट्राटिजी अफिसर रवि शाक्य भन्छन्, “ग्राहकको गुनासो आउनेबित्तिकै हामी सम्बन्धित टेलिकम कम्पनीलाई जानकारी गराएर रकम फिर्ताका लागि आग्रह गर्छौं । यस्तो समस्यामा मुख्य जिम्मेवार टेलिकम कम्पनी नै हुन् ।” उनका अनुसार, इसेवाले यसरी धेरै ग्राहकको रकम फिर्ता गराउन सफल भएको छ । यद्यपि, उनले नेपाल टेलिकमले यस्ता समस्यामा सहजै सहयोग गरे पनि एनसेलबाट सहयोग पाउन कठिन हुने अनुभव सुनाए ।

इसेवामा कसरी गुनासो गर्ने ?

  • इसेवा एप खोलेर स्क्रिनको तल रहेको Support बटनमा थिच्नुहोस् ।
  • त्यहाँ देखिएका विभिन्न विकल्पहरूमध्ये Load Money वा तल रहेको Get Support मा गएर आफ्नो समस्या र गलत रिचार्ज भएको नम्बरको विवरण टिपाउनुहोस् ।
  • गुनासो दर्ता भएपछि कम्पनीका प्रतिनिधिले तपाईंलाई सम्पर्क गरी समाधानको प्रक्रिया अगाडि बढाउनेछन् ।

यस्तै, खल्तीका प्रतिनिधिहरू पनि नेपाल टेलिकमबाट यस्ता समस्यामा छिटो र सहज समाधान हुने गरेको बताउँछन् ।

खल्तीमा कसरी गुनासो गर्ने ?

  • खल्ती एप खोलेर स्क्रिनको सबैभन्दा तल रहेको Khalti Help and Support मा जानुहोस् ।
  • त्यहाँ दिइएको मेसेजिङ एप (भाइबर, ह्वाट्सएप) मार्फत सिधै च्याट गर्न सकिन्छ ।
  • सोही विकल्पभित्र रहेको Report Issues मा गएर गलत रिचार्जको प्रमाण (स्क्रिनशट) सहित आफ्नो समस्या दर्ता गर्न सकिन्छ ।

के भन्छन् नेपाल टेलिकम र एनसेल ?

यस विषयमा दूरसञ्चार कम्पनीहरूको धारणा अलि फरक छ । उनीहरूका अनुसार, रिचार्ज सफल हुनेबित्तिकै रकममा लाग्ने कर स्वतः काटिने हुँदा फिर्ता प्रक्रिया जटिल बन्न पुग्छ ।

एनसेलले यो विषयलाई वालेट र ग्राहकबिचको कारोबारको रूपमा हेर्ने गरेको छ । कम्पनीका प्रतिनिधि भन्छन्, “हामी सिधै जिम्मेवार नभए पनि ग्राहकको गुनासो आएमा वालेट कम्पनीसँग समन्वय गरेर समस्या समाधानको प्रयास गर्छौं ।” वालेटबाट समस्या समाधान नभएपछि धेरै ग्राहकहरू सिधै एनसेल सेन्टरमा आउने गरेका छन् । विशेषगरी, कसैलाई पैसा पठाउन खोज्दा झुक्किएर रिचार्ज हुने समस्या बढी देखिने गरेको र त्यस्ता समस्यामा वालेटसँग मिलेर समाधान गर्ने गरेको एनसेलको दाबी छ ।

यता, नेपाल टेलिकमका सह-प्रवक्ता नविन कुमार मिश्रले रकम फिर्ता गर्न किन असम्भव जस्तै छ भन्नेबारे स्पष्ट पारे । “ग्राहकका लागि यो सामान्य गल्तीजस्तो लागे पनि हाम्रो प्रणालीका लागि यो निकै जटिल छ,” उनी भन्छन्, “रिचार्ज हुने बित्तिकै त्यसमा लाग्ने १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) स्वतः सरकारी राजस्वमा जम्मा हुन्छ । एकपटक कर काटिएर गइसकेको रकम फिर्ता ल्याउन लगभग असम्भव हुन्छ ।”

यद्यपि, व्यक्तिगत रूपमा अनुरोध आएका केही विशेष केसहरूमा समाधानको प्रयास गरिने गरेको उनले बताए ।

त्यसो भए समाधान के त ?

जब आधिकारिक प्रक्रिया यति जटिल छ भने ग्राहकले के गर्ने ? यसको सबैभन्दा उत्तम र व्यावहारिक उपाय नेपाल टेलिकमका सह-प्रवक्ता मिश्र नै सुझाउँछन् । उनका अनुसार गलत नम्बरमा रिचार्ज हुँदा सबैभन्दा उत्तम विकल्प भनेको ग्राहक आफैँले सोही नम्बरमा सम्पर्क गरेर आफ्नो पैसा फिर्ता पठाइदिन अनुरोध गर्नु हो ।

डिजिटल कारोबारले जति सहजता दिएको छ, त्यति नै सावधानी अपनाउनु जरुरी देखिन्छ । रिचार्ज गर्दा नम्बर एक-दुई पटक पुनः जाँच गर्ने बानीले तपाईंलाई यो झन्झट र आर्थिक नोक्सानीबाट बचाउन सक्छ । आधिकारिक च्यानलबाट रकम फिर्ता हुने आशामा बस्नुभन्दा आफैँ सतर्क हुनु नै सबैभन्दा बुद्धिमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *