28 Oct 2025, Tue

काठमाडौंमा आपराधिक गतिविधिमा संलग्नहरूको नामावली संकलन गर्दै प्रहरी

काठमाडौं प्रहरी प्रमखुले भने- गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्

प्रहरीले आपराधिक क्रियाकलाप विरुद्धको अभियान  नरोक्ने स्पष्ट पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताए।

‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ,’ अधिकारीले भने।

उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।

अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनले बताए।

‘१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ। छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ,’ उनले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *