काठमाडौँ । एनसेल पुनः इन्टरप्राइज व्यापारमा फर्किएको छ । आफ्ना इन्टरप्राइज ग्राहकको सुरक्षालाई सुदृढ बनाउन कम्पनीले युरोपेली साइबर सुरक्षा कम्पनी विथसिक्योरसँग साझेदारी गरेको छ । साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायहरूलाई साइबर स्पेसका खतराबाट जोगाउन सुरक्षा समाधान उपलब्ध गराउने भएको हो ।
विथसिक्योरले इन्डपोइन्ट डिभाइस प्रोटेक्सन, डिटेक्सन र रेस्पोन्स (ईडीआर/एक्सडीआर), क्लाउड सेक्युरिटी, भल्नरेबिलिटी म्यानेजमेन्ट, ईमेल सेक्युरिटी, थ्रेट इन्टेलिजेन्सलगायतका सेवा उपलब्ध गराउनेछ । जसले कम्पनीहरूलाई बढ्दो डिजिटल जोखिमहरूमा पनि आत्मविश्वासका साथ काम गर्न सक्षम बनाउने एनसेलले जनाएको छ । यी सुरक्षा समाधान साइबर जोखिमले क्षति पुर्याउनुअघि नै तिनलाई पत्ता लगाउने, रोक्ने र त्यसप्रति प्रतिक्रिया जनाउने गरी डिजाइन गरिएका छन् ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सियोले भने, “एनसेल बिजनेसले सधैँ आफ्ना इन्टरप्राइज सेवाहरूमा सुरक्षालाई केन्द्रमा राखेर काम गर्ने गरेको छ । हाम्रो विथसिक्योरसँगको साझेदारीको अर्थ अब हाम्रा ग्राहकहरूले आफ्नो व्यवसायका लागि विश्व-स्तरीय साइबर सुरक्षा प्राप्त गर्छन् भन्ने प्रमाण हो ।”
उनका अनुसार अब व्यवसायीहरूले साइबर खतराको चिन्ता नगरी निश्चिन्त भएर आफ्नो व्यवसाय बढाउन ध्यान केन्द्रित गर्न सक्छन् । उनले थपे, “साइबर सुरक्षा केवल एउटा उत्पादन होइन, एनसेलले नेपाली व्यवसायहरूका लागि पूर्ण इकोसिस्टम प्रदान गर्छ ।”
साइबर सुरक्षामा युरोपेली कम्पनीसँगको यो सहकार्यले नेपाली व्यवसायहरूलाई अत्याधुनिक प्रविधिबाट सुसज्जित गराउँदै तिनको डेटा, प्रणाली र सञ्चालन सुरक्षित राख्ने एनसेलको विश्वास छ ।
विथसिक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले भने, “इन्टरप्राइज ग्राहक र सरकारसँग उच्च विश्वसनीयता बोकेको देशकै अग्रणी दूरसञ्चार कम्पनी एनसेलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । हाम्रो विश्वव्यापी पहुँचलाई अझ विस्तार गर्दै, अब हामी नेपाली व्यवसायहरूको लागि यहाँ उपस्थित भएका छौँ ।”

