28 Oct 2025, Tue

लसुन बेचेर करोड भित्र्याउने गाउँ

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१०, झ्याङ गाउँको परिचय दुई वर्षयता ‘लसुन–पार्क’ भएको छ।

दुई वर्षअघि सरकारको दस लाख रूपैयाँ अनुदानमा गाउँको बीचमा एउटा चौतारो बनाइएको थियो। चौतारो परिसरमा लसुनको ‘प्रतिमा’ पनि बनाइयो।

त्यसपछि एकाएक गाउँको नाम बदलिएर लसुन–पार्क भयो।

झ्याङ गाउँका कृषकहरू लसुनको व्यावसायिक खेतीमा लागेका छन्। यहाँका किसानले राम्रो आम्दानी लिएको देखेपछि वडाभरि लसुनखेती विस्तार भएको छ। आफ्नो पहिचान स्थापित गर्ने उद्देश्यले किसानहरूले यहाँ लसुनको प्रतिमा बनाएका हुन्।

स्थानीय किसान ३३ वर्षीय अनिल खड्काका अनुसार झ्याङ गाउँमा व्यावसायिक रूपमा लसुनखेती भएको तीन वर्ष भयो।

‘त्यसअघि पनि लसुन उब्जाउ हुन्थ्यो तर त्यो घरायसी खपतका लागि मात्र। बढी भएको लसुन बेच्न किसानहरू चार घन्टा हिँडेर खलंगासम्म पुग्थे,’ उनले भने।

२०७७ सालमा गाउँमा मोटरबाटो पुग्यो। ट्रक र ट्र्याक्टर चल्न थाले। गाउँको उत्पादन बजार पुर्‍याउन सजिलो भएपछि किसानहरूले लसुनको व्यावसायिक खेती थालेका हुन्।

अनिलले गत वर्ष तीन लाख रूपैयाँको लसुन बेचे। यस वर्ष करिब ८ कट्ठामा लगाएको लसुनबाट दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरिसके। अझै केही लसुन बेच्न बाँकी छ।

‘गहुँभन्दा लसुनबाट राम्रो आम्दनी हुन्छ। पाँच हजार रूपैयाँको गहुँ फल्ने जमिनमा लसुनबाट पचास हजार आउँछ,’ अनिलले भने, ‘लसुनबाट सबै किसान खुसी छौं।’

लसुनको व्यावसायिक खेती विस्तार गर्ने र बिक्री सहज बनाउने उद्देश्यले गाउँमै ‘छवि बहुउद्देश्यीय सहकारी संस्था’ स्थापना भएको छ। अनिल यो संस्थाका सचिव हुन्।

उनका अनुसार झ्याङ गाउँमा कुल २५ घरधुरी छन्। सबैजसो किसानले आफ्नो ७० प्रतिशतसम्म जमिनमा लसुनखेती गरेका छन्। यहाँ एक सिजनमा कम्तीमा ६० क्विन्टल लसुन उत्पादन हुन्छ।

गत वर्ष झ्याङ गाउँमा लसुनबाट बाह्र लाख रूपैयाँ भित्रियो।

‘वडाभरमा त कम्तीमा ५० टन (५० हजार किलो) लसुन उत्पादन भयो जसबाट एक करोड रूपैयाँभन्दा बढी आम्दानी भयो,’ उनले भने।

मुसिकोटका १४ वटा वडामध्ये वडा नम्बर १० मा जनसंख्या सबभन्दा कम छ। वडामा ३५६ घरधुरीको बसोवास छ।

वडाको चौर गाउँमा पनि लसुन खेती धेरै हुन्छ।

पोहोर यहाँका २८ परिवार किसानले पनि १०३ क्विन्टल लसुन काठमाडौंका व्यापारीलाई बेचेका थिए। चौर गाउँका उमेश वलीले सबभन्दा थोरै, १०४ किलो र खिबबहादुर वलीले सबभन्दा धेरै, एक हजार ३३० किलो लसुन बेचेका थिए। 

खिबबहादुरले गत वर्ष पाँच कट्ठा जमिनमा लसुन रोपेका थिए। यस वर्ष आठ कट्ठामा रोपे। हालसम्म एक लाख ५२ हजार रूपैयाँको बेचिसके।

‘यो वर्ष हिउँदमा राम्रो वर्षा नहुँदा अपेक्षा अनुसार लसुन उत्पादन भएन,’ उनले भने, ‘यस वर्ष दुई लाख रूपैयाँभन्दा बढीको लसुन बेच्छु भन्ने लागेको थियो तर पानी नपर्दा बोट फस्टाएन।’

उनले लसुन खेती गरेको पाँच वर्ष भयो। त्यसअघि उनी यही जग्गामा गहुँ रोप्थे।

‘लसुन रोप्न थालेपछि धेरै फाइदा भएको छ। हाम्रो जीवन पनि सहज भएको छ,’ उनले भने।

खेतीमा सिँचाइको सुविधा छैन। खानेपानीको धाराबाट पानी जम्मा गरेर सिँचाइ गर्छन् जुन पर्याप्त हुँदैन। यस कारण हिउँदमा वर्षा नहुँदा उत्पादन राम्रो हुँदैन।

लसुन खेती तुलनात्मक रूपमा सजिलो भए पनि खेतबाट निकालेपछि गाना सुकाउन, काट्न र औषधि (विषादी) छर्न उपकरण आवश्यक रहेको खिबबहादुरको भनाइ छ।

किसानहरूलाई लसुन बेच्न समस्या छैन, मूल्य पनि राम्रो छ। सहरका व्यापारीहरू लसुन दिनुपर्‍यो भन्दै गाउँमै आउँछन्।

वडाध्यक्ष धनबहादुर खड्काका अनुसार पहिले किसानहरू लसुनमा यति धेरै उत्साही थिएनन्। उनी वडा सदस्य छँदै वडाले लसुनको बिउमा अनुदान दिन थालेको थियो। 

पहिलो पटक ५० प्रतिशत अनुदानमा प्रतिकिसान तीन सय किलोसम्म बिउ वितरण गर्दा पनि ४६ जनाले मात्र खेती गरे। त्यो लसुनबाट राम्रो फाइदा पाएपछि भने किसानहरू हौसिए र ह्वात्तै उत्पादन बढ्यो। 

त्यहीबीच गाउँमा मोटरबाटो पुग्यो, उत्पादन बजार पुर्‍याउन सजिलो भयो। केही ठाउँमा थोपा सिँचाइ प्रणाली पनि विकास भयो। 

‘२०८० सालमा वडा नम्बर १० लाई हामीले लसुन पकेट क्षेत्र घोषणा गरायौं,’ वडाध्यक्ष धनबहादुरले भने।

उनका अनुसार यो वडाबाट यस वर्ष काठमाडौंका व्यापारीले मात्र ५० लाख रूपैयाँको लसुन लगिसके। अझै आधाभन्दा बढी बेच्न बाँकी छ।

‘झ्याङ गाउँमा लसुन पार्क निर्माणको प्रस्ताव पनि मेरै पहलमा भएको थियो,’ उनले भने, ‘वडाभरिमा कुल तीन सय किसान परिवार लसुन खेतीमा छन्। एक किसानले एक सिजनमा दुई लाख रूपैयाँसम्मको बेच्छन्।’

कृषि विकास कार्यालय, रूकुम पश्चिमका कृषि अधिकृत रेशमबहादुर बस्नेतका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले लसुन खेती प्रवर्द्धनका लागि बिउमा ९ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको थियो।

मसला बाली अन्तर्गत कृषि विकास कार्यालयले ‘लसुन ब्लक कार्यक्रम’ सुरू गरेपछि किसानहरू लसुन खेतीमा लागेका हुन्। यो वर्ष लसुन खेतीमा रोग लागेर उत्पादन घटेको पनि बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *