काठमाडौँ । सफ्टवेयर डेभलपरहरूको लोकप्रिय प्लेटफर्म गिटहबले नयाँ एआई टुल ‘गिटहब स्पार्क’ सार्वजनिक गरेको छ । यसमार्फत केही मिनेटमै ‘फुल-स्ट्याक’ एपहरू बनाउन र प्रयोगमा ल्याउन सकिने बताइएको छ ।
यसअनुसार डेभलपरहरूले कोडिङको ज्ञान बिना वा कोड नलेखिकनै आफ्नो आइडियालाई शब्दमा वर्णन गरेर एप बनाउन सक्ने गिटहबले जनाएको छ ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबले २३ जुलाईमा एक ब्लगमार्फत भनेको छ, भनिएको छ, “कुनै सेटअप, कुनै कन्फिगरेसन र कुनै झन्झट बिना प्राकृतिक भाषा प्रयोग गरेर फुल-स्ट्याक इन्टेलिजेन्ट एपहरू बनाउनुहोस् र चलाउनुहोस् ।”
यो एआई टुल एन्थ्रोपिकको ‘क्लाउड सोनेट फोर’ मोडेलमा आधारित छ । हाल गिटहब स्पार्क ‘कोपाइलट प्रो प्लस’ का सदस्यहरूका लागि मात्र उपलब्ध गराइएको छ । चाँडै नै अन्य ग्राहकहरूका लागि पनि विस्तार गर्ने कम्पनीको योजना छ ।
कोपाइलट प्रो प्लस सदस्यहरूले आफ्नो प्लानअन्तर्गत नै यो सुविधा पाउनेछन् । स्पार्कमार्फत बनाइएका एपहरू एकै क्लिकमा प्रयोगमा ल्याउन (सिप गर्न) सकिन्छ, जसमा फ्रन्टएन्ड र ब्याकएन्ड दुवै क्षमताहरू हुने बताइएको छ ।
यसका साथै, डेभलपरहरूले ओपनएआई, मेटा, डिपसिक, एक्सएआई जस्ता कम्पनीका विभिन्न लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) प्रयोग गरी एपमा एआई सुविधा थप्न सक्नेछन् । जसका लागि एपीआई की व्यवस्थापनको आवश्यकता पर्दैन । उनीहरूले स्पार्कबाट सिधै ‘कोडस्पेस’ खोलेर कोपाइलट एजेन्ट मोडमार्फत एपमा थप सुधार गर्न वा कोपाइलट कोडिङ एजेन्टलाई कुनै काम सुम्पन पनि सक्नेछन् ।
भाइब-कोडिङको बढ्दो चलनसँगै जोखिम
गिटहब स्पार्कको सुरुवात भाइब-कोडिङको बढ्दो लोकप्रियताको बीचमा भएको छ । भाइब-कोडिङ एउटा यस्तो अभ्यास हो, जसमा कोडिङको ज्ञान नभएका प्रयोगकर्ताहरूले पनि जेनेरेटिभ एआई टुल प्रयोग गरेर सफ्टवेयर र एप बनाउन सक्छन् ।
तर, यस्ता एआई टुललाई धेरै नियन्त्रण दिनु अनपेक्षित परिणामहरूको कारण बन्न सक्ने देखिएको छ । हालै, रेप्लिट नामक कम्पनीले विकास गरेको एआई कोडिङ एजेन्टले एउटा कर्पोरेट ग्राहकको लाइभ डेटाबेस नै डिलिट गरिदिएको थियो ।
आफ्नो गल्ती स्वीकार गर्न बाध्य भएपछि रेप्लिट एजेन्टले भनेको थियो, “यो मेरो तर्फबाट एक विनाशकारी विफलता थियो । मैले स्पष्ट निर्देशनहरू उल्लङ्घन गरें, महिनौंको काम नष्ट गरें र यस्तै क्षति रोक्न बनाइएको सुरक्षा प्रणालीलाई तोडिदिएँ ।” यस घटनापछि एआई-सञ्चालित सफ्टवेयर डेभलपमेन्ट प्लेटफर्म रेप्लिटले माफी माग्दै नयाँ एपहरूका लागि विकास र उत्पादन डेटाबेसलाई अलग्याउने जस्ता सुधारहरू लागु गरेको छ ।

