काठमाडौँ । शुक्रबारदेखि सम्पर्कविहीन भनिएको सिन्धुलीको एक हायू परिवार पोखरामा श्रमका लागि स्वेच्छाले गएको पुष्टि भएपछि सामाजिक सञ्जालमा फैलाइएका अफवाहप्रति हायू समाजले आपत्ति जनाएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै समाजले उक्त हायू परिवारको अस्थायी बसाइँलाई अतिरञ्जित गरी कपोलकल्पित प्रचार गरिनुले सम्पूर्ण समुदायको आत्मसम्मानमा चोट पुगेको बताएको छ ।हायू समाज केन्द्रीय समिति, ललितपुरले जारी गरेको विज्ञप्तिमा परिवारको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्ता जस्ता विषयसँग जोडेर गरिएको आधारहीन टिप्पणीप्रति गहिरो खेद प्रकट गरिएको छ ।“परिवारको अस्थायी बसाइँ र श्रमसँग सम्बन्धित उनीहरूको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गरिएको आग्रहपूर्ण गलत टिप्पणीप्रति हामी गहिरो खेद प्रकट गर्दछौँ । यस्ता टिप्पणीहरू असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज हुन्,” विज्ञप्तिमा भनिएको छ ।सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ निवासी उर्मिला हायूको १६ सदस्यीय परिवार शुक्रबारदेखि सम्पर्कमा नरहेको समाचार सोमबार सार्वजनिक भएको थियो । तर, प्रहरीको अनुसन्धानपछि उनीहरू रोजगारीका लागि स्वेच्छाले सिन्धुलीबाट पोखरा गएको खुलेको थियो । परिवारका सदस्यले प्रहरीलाई आफूहरू सुरक्षित र स्वेच्छाले बसाइ सरेको जानकारी दिइसकेका छन् ।परिवार फेला परिसकेपछि पनि केही सञ्चारमाध्यम र विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनालाई व्यङ्ग्यको विषय बनाएर ‘मिम’ र ‘ट्रोल’ बनाउने गतिविधि बढाएपछि समाजले त्यसको निन्दा गरेको हो ।समाजले आफूहरू श्रम, इमानदारी र आत्मसम्मानमा विश्वास गर्ने आदिवासी समुदाय भएको उल्लेख गर्दै यस्ता हचुवा प्रचारले पीडित परिवारलाई मात्र नभई समग्र हायू समुदायको सम्मानमाथि प्रहार गरेको जनाएको छ । भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्नसमेत समाजले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
news with Facts.

