28 Oct 2025, Tue

सामाजिक सञ्जालमा रुचाइँदै पूर्वनवयुवराज हृदयन्द्रको भ्लग

काठमाडौँ । आफ्नो जन्मदिनको अवसरमा बुधबार पूर्वनवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्लग सार्वजनिक भयो । राति ८:२७ मा ‘Hri B B Shah’ फेसबुक पेजमा सार्वजनिक उक्त भिडिओलाई धेरैले रुचाएका छन् ।  १५ मिनेट २३ सेकेन्ड लामो उक्त भिडिओलाई यो सामाग्री तयार पार्दा सम्ममा दुई लाख १८ हजार पटकभन्दा धेरै हेरिएको छ ।  कतिपय सामाजिक सञ्जाल प्रयोगकर्तादेखि सञ्चार माध्यमहरूले आफ्नो युट्युब च्यानल, फेसबुक पेजमा पनि उक्त भिडिओ जस्ताको तस्तै वा छोट्याएर राखिरहेका छन् । 

उक्त भिडिओमा धेरैले हृदयन्द्रको शालीन व्यवहारको तारिफ गरेका छन् । जुम्लाको सुन्दरता भिडिओमार्फत देखाएको भन्दै धन्यवाद दिएका छन् । 

जेठ अन्तिम सातामा हृदयेन्द्र आमा हिमानी शाहसँगै जुम्ला गएका दिए । त्यहाँ उनले मनिसाँघुमा हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थ सेन्टरको शिलान्यासका क्रममा साबेलले माटो उठाउँदै गरेको भिडिओ निकै भाइरल भएको थियो ।  

बुधबार सार्वजनिक भ्लग हृदयन्द्रले तिला नदीको ढुङ्गामा बसेर सुरु गरेका छन् । भ्लगमा स्थानीयसँग कुराकानी गरेर जुम्लालाई उनले चिनाउने कोसिस गरेका छन् । जुम्लाको स्याउ फार्ममा पनि उनी पुगेका छन् । 

भ्लगकै लागि उनी काठमाडौँबाट जुम्लामा व्यवसाय गर्न छिरेका युवाको ‘कफी सप’मा छिर्छन् र मिल्क कफी मगाउँछन् । जहाँ उनी कफी पिउँदै कफी सपका मालिकसँग एनिमीदेखि केकका कुरा गर्छन् । व्यवसायीले चिज केक खाने प्रस्ताव गर्दा उनी सहजै स्वीकार गर्छन् । भिडिओमा उनी नेपालीहरू रोजगारीका लागि विदेश गइ रहेको बेलामा काठमाडौँबाट जुम्ला पुगेर व्यवसाय गरेको भन्दै कफी मालिकको प्रशंसा गरिरहेको सुनिन्छन् । 

त्यसपछि उनी राजा महेन्द्र शाहको पालामा बनेको कर्णाली प्राविधिक विद्यालयको अवलोकनमा गएको भ्लगमा देख्न सकिन्छ । जहाँ उनले विद्यार्थी तथा जुम्लाका स्थानीय बमन उपाध्यायसँग विद्यालयको भ्रमण गर्छन् । 

त्यसपछि उनले जुम्लाको दृश्य अवलोकन लागि डुडुल चैत्यमा पुग्छन् । जहाँ उनले स्थानीय पञ्चकली बुढासँग कुराकानी गरेका छन् । पञ्चकलीले हृदयन्द्रलाई जुम्लाको बारेमा जानकारी गराउँछिन् । पञ्चकलीले स्थानीय भाका गीत गाएर सुनाइन् भने जुम्लाका सबै ठाउँ घुमेर जान सल्लाह दिइन् । 

कुराकानीकै क्रममा पञ्चकली सोध्छिन्, “हाम्रो यो नेपाल समृद्ध चाहिँ कहिले हुन्छ होला ?” जवाफमा हृदयन्द्र भन्छन्, “मान्छेले राम्रो काम गर्‍यो भने सबै कुरा राम्रो सँग चल्यो भने हुन्छ होला । अलिकति हामी पनि लाग्नु पर्‍यो, अलिकति आँट गर्नु पर्‍यो अलि हुन्छ होला ।”

पञ्चकलीसँग कै कुराकानीमा उनले आफू ब्याच्लर्स पूरा गर्न मात्र बाहिर गएको र नेपाल फर्किएर आउने बताएका छन् । स्थानीयसँग सेल्फि र फोटोहरू खिच्दै कुराकानी गर्दै अघि बढेका उनले पहिलो चोटी जुम्ला पुगेको र भविष्यमा पनि भ्रमणमा आइरहने प्रतिबद्धतासँगै भिडिओको अन्त्य गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *