1 Apr 2026, Wed

सामाजिक सञ्जालमा छ्या‍पछ्याप्ती एआई फोटो-भिडिओ, चिन्ने कसरी ?

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा एआई सिर्जित सामग्रीको बाढी नै आएको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई भ्रममा पार्न, रिच बढी ल्याउन र आफू अनुकूलका भ्रामक सूचना फैलाउन यस्ता सामग्री व्यापक रूपमा फैलिएका छन् । 

हालै नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका क्रममा नेता महेश बस्नेत र उनको टोलीले महाधिवेशनमा सहभागीको सङ्ख्या बढी देखाउन एआई प्रयोग गरी बनाइएका फोटो र भिडिओ भाइरल बनाए । यद्यपि ती सामग्री एआई सिर्जित थिए ।

तर, ड्रोन शटका नाममा फैलाइएका यस्ता दृश्यलाई धेरैले वास्तविक ठानेर विश्वास गरे । यसले राजनीतिक शक्ति प्रदर्शन र भीड देखाउनका लागि समेत प्रविधिको दुरुपयोग हुन थालेको सङ्केत गर्छ ।

मानवीय संवेदनालाई ‘भ्युज’ र ‘लाइक्स’मा बदल्ने खेलमा पनि एआईको प्रयोग डरलाग्दो गरी बढिरहेको छ । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि दुई किशोर हात्ती ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ को बिदाइ गरिँदाको वास्तविक दृश्यमा हात्तीहरू प्रस्ट देखिँदैनथे । 

तर, सामाजिक सञ्जालमा हात्तीको अत्यन्तै हृदयविदारक अवस्था देखिने एआई सिर्जित भिडिओ फैलाइए । सीता शेर्पा नामकी फेसबुक प्रयोगकर्ताले त्यही हात्तीको भिडिओ राख्दै आफू रोएको देखिने भिडिओ राखेकी थिइन् । 

त्यही भिडिओलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो लाखौँ फलोअर भएको पेजबाट शेयर गरेर थप भ्रम फैलाउन बल पुर्‍याएका छन् ।

एआईको यो भ्रमबाट चर्चित व्यक्ति र समसामयिक राजनीतिक घटनाक्रम पनि अछुतो छैनन् । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रिहा गर्ने आदेश दिएको छ । यसैको प्रक्रिया पूरा गर्न लामिछानेलाई भैरहवा लगिन लागिएको छ । तर, उनलाई काठमाडौँका मेयर बालेन शाहले स्वागत गरेको एआई सिर्जित फोटो सामाजिक सञ्जालमा छ्या‍पछ्याप्ती भइरहेको छ । 

यी प्रतिनिधि घटना मात्र हुन् । यथार्थमा एआईले सिर्जना गरेका सामग्री यति वास्तविक देखिन्छन् कि तिनले मानिसको धारणालाई सजिलै प्रभावित पार्न सक्छन् । यस्ता भ्रमबाट बच्न एआई सिर्जित फोटो र भिडिओ चिन्न निम्न उपायहरू अपनाउन सकिन्छ:

  • आँखाको सूक्ष्म अवलोकन: वास्तविक फोटोमा दुवै आँखाको नानीमा देखिने प्रकाशको परावर्तन समान आकार र प्रकृतिको हुन्छ । एआई सिर्जित फोटोमा यी परावर्तनहरू प्रायः नमिल्ने, फरक आकारका वा नानीको आकार नै पूर्ण रूपमा गोलाकार नहुने हुन सक्छ । साथै डिपफेक भिडिओमा पात्रले अस्वाभाविक रूपमा धेरै वा थोरै आँखा झिम्क्याउने गर्छन् ।
  • हात र औंलाको बनावट: एआईका लागि मानव हात सबैभन्दा चुनौतीपूर्ण अङ्ग हो । फोटोमा औंलाहरू पाँचभन्दा बढी वा कम हुनु, औंलाहरू आपसमा पग्लिएर मिसिएको जस्तो देखिनु वा नङहरू स्पष्ट नहुनु एआईको स्पष्ट सङ्केत हो । भिडिओमा हात चल्दा औंला अचानक पृष्ठभूमिमा हराउने वा अर्को अंगसँग जोडिने हुन सक्छ ।
  • छालाको बनावट र चमक: एआईले छालालाई अत्यधिक चिल्लो, प्लास्टिक जस्तो वा ‘ग्लाज्ड’ बनाउँछ । वास्तविक छालामा हुने साना छिद्रहरू, चाउरीपना, दागहरू वा पसिनाका कणहरू एआईले प्रायः सही रूपमा उतार्न सक्दैन ।
  • भीडभाडमा हुने त्रुटि: भीडको फोटोमा एआईले अक्सर मानिसहरूको शरीर एकअर्कासँग अस्वाभाविक रूपमा जोडिदिन्छ । एउटै शरीरबाट धेरै हात-खुट्टा निस्किएको देखिन सक्छ । भीडको अगाडि रहेका पात्र स्पष्ट भए पनि पछाडिका मानिसको अनुहार धमिलो, पग्लिएको वा आँखा-नाक नभएको जस्तो देखिन्छ ।
  • अक्षर र चिह्नहरुको विश्लेषण: भीडमा मानिसले बोकेका प्लेकार्ड, ब्यानर वा पसलका बोर्डमा भएका अक्षरहरू ध्यान दिएर हेर्नुहोस् । एआईले अक्षरहरूलाई बाङ्गाटिङ्गा, बुझ्न नसकिने वा अपरिचित भाषा जस्तो बनाउँछ ।
  • अनुहार र घाँटीको मिलन: कुनै प्रसिद्ध व्यक्तिको फोटोमा अनुहार र घाँटीको छालाको रङ्ग नमिल्नु वा अनुहारको किनारामा हल्का धमिलोपन देखिनुले ‘फेस स्वाप’ (अनुहार साटिएको) प्रविधि प्रयोग भएको सङ्केत गर्छ ।
  • अप्राकृतिक वन्यजन्तु र संवेग: जनावरको अनुहारमा मानवीय मांसपेशीको संकुचन देखाएर रुन लागेको जस्तो संवेग देखाउनु एआईको काम हुन सक्छ । साथै जनावरको भुत्ला वास्तविक नभई पेन्टिङ जस्तो वा प्लास्टिक जस्तो टल्किने देखिन्छ ।
  • भौतिक विज्ञान र वातावरण: एआई सिर्जित दृश्यमा भौतिक नियमहरू प्रायः मिल्दैनन् । जस्तै: हात्ती वा मानिस हिलो र हिउँमा हिँड्दा पदचाप नदेखिनु, पानीमा तैरिँदा लहरहरू गलत दिशामा बहिनु, लुगा वा झन्डा पनि हावा चलेको बिपरीत दिशामा फहराउनु । 
  • प्रकाश र छायाँको तालमेल: यदि कुनै पात्रको अनुहारमा एउटा दिशाबाट प्रकाश परेको छ तर उसको छाया अस्वाभाविक वा अर्को नमिल्दो दिशामा छ भने त्यो फोटो नक्कली हो ।
  • पोसाक र लोगोको सूक्ष्मता: सुरक्षाकर्मी वा कर्मचारीको पोसाकमा भएका लोगो, टाँक वा नेम-ट्याग एआईले प्रायः विकृत बनाउँछ । प्रख्यात ब्रान्डका लोगो पनि अलि फरक वा नबुझिने हुन सक्छन् ।
  • अडिओ र भिडिओको सिङ्क्रोनाइजेसन: भिडिओमा पात्रले बोलेको आवाज र ओठको चाल (लिप-सिङ्क) पूर्ण रूपमा मिल्दैन भने त्यो डिपफेक हो । एआई आवाजमा मानिसले श्वास फेरेको आवाज हुँदैन र शब्दहरू लाटो जस्तो वा एकनासको सुनिन्छ ।
  • प्राविधिक र डिजिटल परीक्षण: कुनै फोटो शंकास्पद लागेमा गुगल लेन्स वा टिन-आई जस्ता ‘रिभर्स इमेज सर्च’ टुल प्रयोग गरेर त्यसको वास्तविक स्रोत पत्ता लगाउन सकिन्छ । साथै पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्मले एआई सामग्रीमा ‘AI-generated’ भन्ने लेबल लगाउन थालेका छन् । 
  • हाइभ मोडरेसन, फेक इमेज डिटेक्टर, साइट इन्जिन लगायतका टुलमा पनि फोटो एआई सिर्जित हो वा होइन भन्ने छुट्याउन प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *