28 Oct 2025, Tue

वैज्ञानिकले बनाए पानीबाट ‘फरेभर केमिकल’ हटाउने फिल्टर, प्रदूषण भेट्ने बित्तिकै आफैं चम्किने

काठमाडौँ । वैज्ञानिकहरूले पिउने पानीबाट ‘फरेभर केमिकल’ भनेर चिनिने विषालु तत्वहरू हटाउने फिल्टर विकास गरेका छन् । अमेरिकास्थित युटा विश्वविद्यालयका अन्वेषकहरूले विकास गरेको यो प्रविधिले केही मिनेटमै पानीबाट यी खतरनाक रासायनिक पदार्थ हटाउने दाबी गरिएको छ ।

‘फरेभर केमिकल’ लाई आधिकारिक रूपमा पीएफएएस (Per- and polyfluoroalkyl substances) भनिन्छ । यी मानव निर्मित सूक्ष्म रसायन हुन्, जुन वातावरणमा सजिलै नष्ट हुँदैनन् र समयसँगै मानिस, जनावर र वातावरणमा जम्मा हुँदै जान्छन् ।

सन् १९४० को दशकदेखि यी पदार्थको प्रयोग नन-स्टिक भाँडाकुँडा, चिल्लो नलाग्ने खाद्य प्याकेजिङ, वाटरप्रुफ कपडा र व्यक्तिगत हेरचाहका उत्पादनहरूमा हुँदै आएको छ । यी रसायन वातावरणमा दीर्घकालीन रूपमा बाँकी रहने भएकाले स्वास्थ्यमा गम्भीर असर पार्ने जनाइएको छ ।

सन् २०२० मा प्रकाशित एक अध्ययनअनुसार अमेरिकामा मात्रै करिब २० करोड मानिसको पिउने पानीमा पीएफएएस पाइएको थियो । विज्ञहरूले यी रसायनहरूलाई ‘स्लो पोइजन’ (मन्द विष) को संज्ञा दिँदै यसको सम्भावित स्वास्थ्य प्रभावहरूबारे चिन्ता व्यक्त गरेका छन् । 

सबैभन्दा व्यापक रूपमा प्रयोग हुने ‘फरेभर केमिकल’ मध्ये एक, परफ्लुरोअक्टानोइक एसिड (PFOA) लाई विभिन्न प्रकारका क्यान्सर, कलेजोमा क्षति, प्रतिरक्षा प्रणालीमा समस्या, उच्च कोलेस्ट्रोल र बालबालिकाको विकासमा ढिलाइ जस्ता स्वास्थ्य समस्यासँग जोडिएको छ ।

तर, अब युटा विश्वविद्यालयका वैज्ञानिकहरूले नयाँ समाधानको बाटो देखाएका छन् । उनीहरूले ‘Metal-Organic Framework’ (MOF) नामक क्रिस्टल पदार्थ विकास गरेका छन् । जसले पीएफओए अणुलाई जालोझैं समातेर पानीबाट हटाउने गर्छ । 

उक्त फिल्टरले विषालु पदार्थ हटाउनुका साथै पानीमा पीएफएएस भएको खण्डमा प्रकाश दिने क्षमता वा चम्किने (फ्लोरेसेन्ट) विशेषता राख्दछ । अध्ययन टोलीकी प्रमुख राणा दलपतीले भनेकी छिन्, “पीएफएएस नियन्त्रणमा यो प्रविधि महत्वपूर्ण फड्को हो । यसको प्रयोगले पानी शुद्धीकरण र वातावरण निगरानी दुवैमा ठुलो प्रभाव पार्न सक्छ ।”

पाँच मिनेटमै ९९ प्रतिशत रसायन हटाउन सफल

प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सामग्रीले केवल पाँच मिनेटमा ९९ प्रतिशतभन्दा बढी पीएफओए हटाउन सफल भएको छ । साथै, यसले अन्य पीएफएएस, लवण र जैविक पदार्थको उपस्थितिमा पनि प्रभावकारी रूपमा काम गर्ने देखिएको छ ।

हाल प्रयोगमा रहेका प्रविधिहरू महंगा, ढिलो र लामो समय टिक्दैनन् । नयाँ एमओएफ पाँचपटकसम्म धुन सकिने र अझै ९३ प्रतिशत प्रभावकारिता कायम राख्न सक्ने बताइएको छ ।

वैज्ञानिक टोलीले भविष्यमा यसलाई अन्य प्रकारका पीएफएएस हटाउन पनि प्रयोग गर्ने योजना बनाएको छ ।

हाल यो प्रविधि प्रयोगशालामा मात्रै सीमित रहेको र सर्वसाधारणको लागि उपलब्ध हुन अझै समय लाग्ने वैज्ञानिकहरूको भनाइ छ ।

न्यू योर्क पोस्टको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *