काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको सुरुवातदेखि सरकारले नेपालमा आउने विदेशी नागरिकहरूको गतिविधिको रेकर्ड राख्ने प्रणाली कार्यान्वयन गर्ने भएको छ । १७ पुस (१ जनवरी) देखि अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) लागु गर्ने तयारी थालेको हो ।
विभागका अनुसार पहिलो चरणमा १ जनवरीदेखि यो प्रणाली काठमाडौँ उपत्यका भित्रका तारे होटेलहरूमा लागु हुनेछन् । १७ फागुन (१ मार्च) देखि भने नेपालका सबै तारे होटेल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेन्जरहरूमा यो प्रणाली विस्तार गरिने छन् । त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि यो प्रणाली लागु गर्दै लैजाने सरकारी योजना छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरू कुन-कुन स्थानमा बसे र कहाँ-कहाँ पुगे भन्ने विषयको व्यवस्थित अभिलेख अध्यागमन विभागसँग रहने जनाइएको छ । यो अभिलेखले विदेशी नागरिकको आगमन र गतिविधिलाई व्यवस्थित गर्नुका साथै आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने बताइएको छ ।
विभागका कम्प्युटर इन्जिनियर सन्तोषकुमार साहले यो प्रणाली विदेशीको पूर्ण रूपमा निगरानीका नभइ व्यवस्थापनका लागि तयार पारिएको दाबी गरे । विदेशीहरू कुन-कुन स्थानमा पुगे भन्ने लगायतका जानकारी मात्र उक्त प्रणालीमार्फत उपलब्ध हुने उनको भनाइ छ ।
उनले भने, “पासपोर्टको विवरण राखेर सेवा दिने सेवाप्रदायकहरू यो प्रणालीमा दर्ता हुनुपर्छ । कुनै होटेलमा विदेशी नागरिक चेक इन भएको छ भने त्यो होटेलले उनीहरूको पासपोर्ट नम्बर इन्ट्री गर्नुपर्छ । चेकआउट गरेपछि पनि त्यसको इन्ट्री गर्नुपर्छ । यसैगरि आन्तरिक हवाई यात्रा गराउँदाका विवरण पनि राख्नुपर्छ । त्यसपछि उनीहरू कहाँ-कहाँ गएर बसे लगायतका जानकारी मात्र लिने हो । यसले केही आपत परेको अवस्थामा उनीहरूको तत्काल उद्दार गर्न सकिन्छ ।”
सेवा प्रदायकले सेवा दिएपछि यो प्रणालीमा पासपोर्ट नम्बर अपडेट गर्नुपर्ने उनले बताए । पासपोर्ट नम्बर मात्र लिने भएकाले विदेशी व्यक्तिहरूको गोपनीयतामा कुनै पनि असर नगर्ने उनको भनाई छ । कम्प्युटर इन्जिनियर साहले उक्त प्रणालीमा इन्ट्री भएको डेटाको अनुमति अध्यागमन विभागसँग मात्र रहने बताए । अन्य सरकारी निकायलाई आवश्यक परेमा विभागसँग अनुमति लिएर डेटा प्रयोग गर्न सक्नेछन् ।
विभागले उक्त प्रणाली १ असोजदेखि नै लागु गर्ने तयारी गरेको थियो । तर २३-२४ भदौको जेनजी आन्दोलनका कारण उक्त प्रणालीको कार्यान्वयन ढिलो सुरु भएको विभागले जनाएको छ । अब १ जनवरी (१७ पुस) देखि भने उक्त प्रणाली अनिवार्य रूपमा कार्यान्वयनमा लैजाने तयारी विभागले गरेको हो ।
यसरी हुनेछ सेवा प्रदायक दर्ताको काम
अध्यागमन विभागको यो प्रणालीमा सहभागी हुन विदेशीहरूलाई सेवा उपलब्ध गराउने सेवा प्रदायकले अध्यागमन विभागको ‘सर्भिस प्रोभाइडर’ पोर्टलमा आफ्नो संस्था दर्ता गर्नुपर्नेछ । त्यसका लागि यहाँ क्लिक गर्न सकिन्छ ।
त्यसपछि ‘अप्लाई फर रजिस्ट्रेसन’मा क्लिक गरेर माग गरिए अनुसारका विवरण राखेर दर्ता प्रक्रिया अघि बढाउन सकिन्छ । यसबाट सेवा प्रदायकका विस्तृत विवरणहरूलाई अध्यागमन विभागले प्रमाणीकरण गर्ने छ ।
त्यसपछि लग इनका लागि विभागले अनुमति उपलब्ध दिनेछ र ‘सर्भिस प्रोभाइडर पोर्टल’मा गएर विदेशी नागरिकको विवरणहरू सेवा प्रदायकले भर्न सक्नेछन् ।
हाल भने म्यानुअल रूपमा नै डेटा भर्नुपर्ने भए पनि आगामी दिनमा होटेलहरूले आफ्नो पोर्टलमा विभागको एपीआई लिएर पनि दर्ता गर्न सक्ने गरी प्रणालीको विकास गरिने कम्प्युटर इन्जिनियर साहले बताए ।
यो प्रणालीको कार्यान्वयनका लागि ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरूलाई विभागले पत्राचार गरिसकेको छ । विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी संस्था यो प्रणालीमा दर्ता भए नभएको अनुगमन सम्बन्धित जिल्लाबाट नै अध्यागमन विभागले जनाएको छ ।

