1 Apr 2026, Wed

लगातार भिडिओ राख्दा पनि युट्युबमा भ्युज आएन ? यसो गर्नुहोस्

काठमाडौँ । “म हरेक दिन युट्युबमा भिडिओ राख्छु, तर मेरो च्यानलको ग्रोथ नै भइरहेको छैन ।” यो कन्टेन्ट क्रिएसनको यात्रामा लागेका अधिकांश युट्युबरको साझा गुनासो र समस्या हो ।

भिडिओको सङ्ख्या बढाउँदा पनि भ्युज र सब्सक्राइबर नबढेपछि धेरैले बीचमै हार मान्ने गरेका छन् । यसै समस्यालाई मध्यनजर गर्दै युट्युबले च्यानल विस्तार (ग्रोथ) गर्नका लागि केही महत्त्वपूर्ण टिप्सहरू सुझाएको छ । 

युट्युबमा सफल हुन अपनाउनुपर्ने तीन प्रमुख नियम यसप्रकार छन्:

१) सुरुवाती तीन सेकेन्ड र क्लिकेबल टाइटल

अडियन्सले कुनै पनि भिडिओ हेर्ने वा नहेर्ने भन्ने निर्णय निकै छिटो गर्छन् । युट्युबका अनुसार दर्शकको ध्यान खिच्न तपाईंसँग मात्र तीन सेकेन्डको समय हुन्छ । त्यसैले भिडिओको सुरुवाती तीन सेकेन्डमै अडियन्सलाई ‘हुक’ गर्ने अर्थात् बाँधेर राख्ने प्रयास गर्नुपर्छ ।

यसका साथै टाइटल र थम्बनेलले अडियन्समा पार्ने ‘फर्स्ट इम्प्रेसन’ बलियो हुनुपर्छ । उदाहरणका लागि यदि तपाईं बिहानको टिप्स दिँदै हुनुहुन्छ भने टाइटलमा केवल ‘मर्निङ रुटिन’ लेख्नुभन्दा ‘मैले ३० दिनका लागि बिहान ४ बजे उठ्ने च्यालेन्ज लिएँ, हेर्नुहोस् यस्तो भयो परिवर्तन’ वा यस्तै किसिमका उत्सुकता जगाउने टाइटल राख्नुपर्छ ।

एकपटक दर्शकले भिडिओमा क्लिक गरेपछि उनीहरूलाई च्यानलमै टिकाइराख्न ‘यहाँबाट सुरु गर्नुहोस्’ वा ‘२०२५ हाइलाइट्स’ जस्ता प्लेलिस्ट बनाएर गाइड गर्न सकिन्छ ।

२) कन्टेन्ट मात्र होइन, कनेक्सन बनाउनुहोस्

मानिसहरू केवल तपाईंको भिडिओका मात्र फ्यान होइनन्, उनीहरू तपाईंको विचार र दृष्टिकोणका पनि फ्यान हुन्छन् । त्यसैले अरूभन्दा फरक देखिन आफ्नो व्यक्तिगत शैली भिडिओमा मिसाउनुहोस् । जस्तै ‘पोखराको ट्राभल भ्लग’ भन्नुको सट्टा ‘मैले पोखरामा १००० रुपैयाँमा कसरी दिन बिताएँ ?’ भन्ने जस्ता एङ्गलबाट भिडिओ बनाउन सकिन्छ ।

दर्शकलाई आफूसँग जोडी राख्न कमेन्टको रिप्लाई गर्ने वा कम्युनिटी ट्याबमा पोल राखेर ‘अर्को गेम कुन खेलौँ ?’ वा ‘तपाईंलाई के बारे जान्न मन छ ?’  भनी प्रश्न सोध्ने बानी बसाल्नुपर्छ । यस्तो ‘कनेक्सन’ले सामान्य दर्शकलाई ‘लोयल फ्यान’मा बदल्न मद्दत गर्छ ।

३) डेटा र ट्राफिकको विश्लेषण

तपाईंको च्यानलको ‘युट्युब स्टुडियो’ भित्र हुने एनालिटिक्स नै तपाईंको सबैभन्दा राम्रो शिक्षक हो । दर्शकले भिडिओ कुन पोइन्टमा पुगेपछि हेर्न छोडे वा कुन भाग दोहोर्‍याएर हेरे भन्ने कुरा डेटाबाट थाहा हुन्छ ।

उदाहरणका लागि यदि धेरैजसो दर्शक १ मिनेट २० सेकेन्ड पुगेपछि भिडिओ बन्द गर्छन् भने अर्को पटक आफ्नो इन्ट्रोलाई छोटो बनाउनु बुद्धिमानी हुन्छ । 

साथै भिडिओ अपलोड गर्ने समय र क्रम एउटै राख्ने र आफ्ना दर्शक सक्रिय हुने प्लेटफर्ममा भिडिओका हाइलाइट्स वा टिजर शेयर गर्नाले च्यानल ग्रोथमा सघाउ पुग्ने युट्युबको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *