असार, काठमाडौं — बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। गाईवस्तु चराउन गएका बेला अचानक आएको बाढीले उनीहरूलाई नदीको बीचको टापुमा फसाएको थियो।
उद्धार गरिएकामा ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन्। ती सबैको अवस्था सामान्य रहेको र कुनै पनि प्रकारको चोटपटक नलागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
उनीहरू बाढीमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगञ्ज, बाँकेबाट खटिएको गोताखोरसहितको विशेष टोलीले बुधबार उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।
स्थानीय बासिन्दाहरूले सशस्त्र प्रहरीको तिब्र प्रतिक्रिया र उद्धार सफलतापूर्वक भएकोमा आभार व्यक्त गरेका छन्। हाल देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गइरहेको सन्दर्भमा यस्तो उद्धार कार्यले जनताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको देखाएको छ।

