काठमाडौँ । युट्युबले आधिकारिक रूपमा सन् २०१२ देखि आफ्ना सफल कन्टेन्ट क्रियटरलाई सम्मान गर्न ‘युट्युब क्रियटर अवार्ड्स’ को रूपमा प्ले बटन दिन सुरु गरेको हो । यसलाई सामान्य भाषामा ‘युट्युब प्ले बटन’ भनिन्छ ।
सुरुवातमा युट्युब एउटा भिडिओ शेयरिङ प्लेटफर्म मात्र थियो । तर समयसँगै यो व्यक्तिका लागि आफ्नो प्रतिभा देखाउने, समुदाय बनाउने र करियर नै स्थापित गर्ने माध्यम बन्यो । युट्युबले यी क्रियटरको मिहिनेत र प्लेटफर्मप्रतिको योगदानलाई कदर गर्न एउटा भौतिक पुरस्कार (Tangible Reward) दिने योजना बनायो । यही सोचले प्ले बटनको अवधारणा जन्मियो ।
युट्युबले आफ्ना क्रियटरलाई ‘प्ले बटन’ दिनुका पछाडि विभिन्न कारण छन् । सबैभन्दा पहिलो र पृथक कारण भनेको अरु प्लेटफर्मभन्दा भिन्न देखिनु । कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मले क्रियटरलाई त्यसरी प्रत्यक्ष रूपमा सम्मान गर्ने गरेका छैनन् । अप्रत्यक्ष रूपमा विभिन्न तरिकाले सम्मान गरे पनि यति ‘फलोअर्स’ ल्याए वापत यो सम्मान गरे भन्ने पाइँदैन । तर, युट्युबले भने सब्स्क्राइबरका आधारमा ‘प्ले बटन’ दिने गरेको छ ।
त्यसबाहेक क्रियटरको कडा परिश्रम, लगनशीलता र सफलतालाई सम्मान गर्दै उनीहरूलाई आधिकारिक पहिचान दिन पनि युट्युबले यो सम्मान दिने गर्छ । लाखौं दर्शकको मायालाई भौतिक रूपमा सम्मान गर्दा उनीलाई थप हौसला मिल्छ । यसका साथै प्ले बटनले क्रियटरका लागि एउटा महत्त्वपूर्ण लक्ष्यको काम गर्छ । यसले गर्दा नयाँ तथा पुराना सबै युट्युबरलाई निरन्तर गुणस्तरीय कन्टेन्ट बनाउन र आफ्नो च्यानललाई विस्तार गर्न प्रेरणा दिन्छ ।
युट्युबको आफ्नै ब्रान्डिङ र समुदाय निर्माणका लागि पनि यो एक सफल रणनीति हो । यसले गर्दा युट्युब र क्रियटरबिचको सम्बन्धलाई बलियो बनाउँछ । प्ले बटनले च्यानलको विश्वसनीयता र सामाजिक प्रमाण (Social Proof) स्थापित गर्छ । तपाईंले जति नै रकम दिए पनि युट्युबबाट ‘प्ले बटन’ खरिद गर्न सक्नुहुन्न । त्यस्तै प्ले बटन पाएको क्रियटर छ भने यसले विश्वसनियता बढाउन पनि मद्दत गर्छ । यसले गर्दा दर्शक र विज्ञापनदाताले त्यस्ता च्यानललाई बढी विश्वास गर्छन् र यसले क्रियटरको आम्दानी र अवसर बढाउन प्रत्यक्ष मद्दत गर्छ ।
युट्युब प्ले बटनका प्रकार र मापदण्ड
सबैभन्दा बढी सब्स्क्राइबर भएको युट्युब च्यानल हो, मिस्टर बिस्ट । उनको च्यानलमा अहिले ४१ करोड ९० लाख बढी सब्स्क्राइबर छन् । ४० करोड सब्स्क्राइबरको आँकडा पार गरेपछि हालै मात्र युट्युबले उनलाई अर्को एक प्ले बटन दिएर सम्मान गरेको छ ।
३० करोडको आँकडा पार गर्ने च्यानलमा सोमबारदेखि टी-सिरिज पनि थपिएको छ । तर, टी-सिरिजले अहिलेसम्म ३० करोड सब्स्क्राइबर पूरा गरेबाफत युट्युबबाट प्ले बटन पाइसकेको छैन । अर्थात अहिलेसम्म ३० करोड सब्स्क्राइबर र ४० करोड सब्स्क्राइबर पूरा गरे बाफत ‘प्ले बटन’ पाउने मिस्टर बिस्ट एक मात्र युट्युब च्यानल हो । यहाँ कति सब्स्क्राइबरको आँकडा पार गर्दा युट्युबले प्ले बटन दिन्छ भन्ने चर्चा गरिएको छ ।
१) सिल्भर प्ले बटन
एक लाख (१,००,०००) सब्सक्राइबरको आँकडा पार गर्ने च्यानलले सिल्भर प्ले बटन पाउँछन् । यो पहिलो र सबैभन्दा सामान्य प्ले बटन हो । यो निकेलले लेपन गरिएको धातुबाट बनेको हुन्छ र यसमा च्यानलको नाम कुँदिएको हुन्छ । यो धेरै युट्युबरका लागि पहिलो ठुलो सपना पनि हो ।
२) गोल्ड प्ले बटन
१० लाख (१ मिलियन) सब्सक्राइबरको आँकडा पार गर्दा युट्युबले गोल्ड प्ले बटन दिन्छ । यो एक महत्त्वपूर्ण उपलब्धि पनि हो । यो सुनले लेपन (Gold-plated) गरिएको हुन्छ भने सिल्भर बटनभन्दा ठूलो र आकर्षक देखिन्छ । १० लाख सब्सक्राइबर पुग्नुले युट्युबरलाई एक प्रमुख क्रियटरको रूपमा स्थापित गर्छ ।
३) डायमन्ड प्ले बटन
एक करोड (१० मिलियन) सब्सक्राइबरको आँकडा पार गर्दा युट्यबले दिने प्ले बटन हो ‘डायमन्ड प्ले बटन’ । यो निकै प्रतिष्ठित पुरस्कार हो र च्यानलले मात्र यो प्राप्त गरेका छन्। यो चाँदीले लेपन गरिएको धातुबाट बनेको हुन्छ र यसको बीचमा प्ले बटनको आकारको ठूलो क्रिस्टल राखिएको हुन्छ ।
युट्युबले पाँच करोड (५० मिलियन) सब्स्क्राइबरको कोशेढुङ्गा पार गर्ने क्रियटरलाई ‘कस्टम प्ले बटन’ दिन थालेको थियो । यो प्ले बटन सुरुवाती केही क्रियटरले मात्र प्राप्त गरेका थिए ।
४) रेड डायमन्ड प्ले बटन
दश करोड (१०० मिलियन) सब्स्क्राइबरको आँकडा पार गर्ने क्रियटरले यो रेड डायन्ड प्ले बटन प्राप्त गर्छन् । सबैभन्दा दुर्लभ अवार्डमध्येको एक हो । यो डायमन्ड प्ले बटन जस्तै डिजाइनमा तर गाढा रातो रङको क्रिस्टलबाट बनेको हुन्छ । हालसम्म यो अवार्ड १४ युट्युब च्यानलले मात्र प्राप्त गरेका छन् ।
५) कस्टम प्ले बटन
युट्युबले सामान्यतया एक लाख, १० लाख, एक करोड र दश करोड सब्स्क्राइबर पुग्ने च्यानललाई ‘प्ले बटन’ दिएर सम्मान गर्ने गरेको छ । तर यसबाहेक युट्युबले केही ठूला र विशेष माइलस्टोनमा पनि पृथक अवार्ड दिएको छ ।
(अमेरिकाज गट ट्यालेन्टले दुई करोड सब्स्क्राइबर पूरा गरेपछि पाएको प्ले बटन)
उदाहरणका लागि ‘अमेरिकाज गट ट्यालेन्ट’लाई दुई करोड सब्स्क्राइबरमा र पाँच करोड पुग्ने च्यानललाई पनि फरक-फरक डिजाइनका प्ले बटन दिइएको थियो ।
(पाँच करोड सब्स्क्राइबर पूरा गरेपछि युट्युबर प्युडिपाईले पाएको प्ले बटन)
हालसम्म २० करोड सब्स्क्राइबरको आँकडा टी-सिरिज र मिस्टर बिस्टले मात्र पार गरेका छन् । ति मध्ये मिस्टर बिस्टले मात्र उक्त प्ले बटन पाएको जानकारी छ । अन्य केही माध्यममा टी-सिरिजले २० करोड सब्स्क्राइबर पुरा गरे वापत प्ले बटन पाएको उल्लेख गरेका छन् । तर, ति पुष्टि हुन सकेनन् । मिस्टर बिस्टले भने २० करोड सब्स्क्राइबरको आँकडा पुरा गर्दा आफ्नै लोगो आकारको प्ले बटन पाएका थिए ।
त्यसबाहेक मिस्टर बिस्ट ३० करोड र ४० करोड सब्स्क्राइबर पुगेर प्ले बटन पाउने एकमात्र युट्युबर हुन् । उनलाई ३० करोड सब्स्क्राइबर पुग्दा दिइएको बटनमा युट्युबको लोगोभित्र हरियो प्ले आइकन थियो भने ४० करोडमा मिस्टर बिस्ट र युट्युबको लोगो मिलाएर बनाइएको एक विशेष बटन दिइएको थियो । यी प्ले बटनको आधिकारिक नाम भने दिइएको छैन ।

