काठमाडौँ । नेपालमा जडान गरिएका घरेलु बायोग्यास प्लान्टहरूमध्ये ५४ प्रतिशत प्लान्टहरू प्रयोग विहीन वा बन्द अवस्थामा रहेको पाइएको छ । काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले १० जिल्लाका २ हजार ५५९ घरधुरीमा गरेको सर्वेक्षणले यस्तो चिन्ताजनक तथ्य बाहिर ल्याएको हो ।
विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल नेचरमा यो अनुसन्धान रिपोर्ट प्रकाशित छ । जस अनुसार बायो ग्यास प्लान्टहरू बन्द हुनुको मुख्य कारण उपकरणहरू बिग्रनु रहेको छ । विशेष गरी फिडस्टक मिसाउने ‘मिक्सर’ र ग्यास पाइपको मुख्य भल्भ बिग्रिएका कारण धेरै प्लान्टहरू बन्द भएका छन् ।
बन्द भएका प्लान्टहरूमा मिक्सर बिग्रने दर ८३ प्रतिशत रहेको पाइएको छ । त्यस्तै ८२ प्रतिशत बन्द प्लान्टहरूमा मुख्य भल्भ खराब भएको देखिएको छ ।
प्राविधिक समस्याका साथै पशुपालनमा आएको कमी, युवाहरूको वैदेशिक रोजगारीका कारण भएको बसाइँसराइ र मर्मत सम्भार गर्ने दक्ष प्राविधिक तथा स्पेयर पार्ट्सको अभावले पनि बायो ग्यासको प्रयोग घटाएको अध्ययनमा उल्लेख छ ।
बायो ग्यासको प्रयोग छाडेर घर-परिवारहरू एलपी ग्यास तर्फ आकर्षित हुँदा देशलाई ठुलो आर्थिक भार परेको छ । अध्ययनका अनुसार बायो ग्यास बन्द हुँदा नेपाली घरधुरीले एलपी ग्यासका लागि वार्षिक करिब ७० करोड रुपैयाँ थप खर्च गर्नुपरेको छ ।
यसले गर्दा वार्षिक ६ लाख ६० हजार टन कार्बन डाइअक्साइड उत्सर्जन बढ्ने अनुमान गरिएको छ । जसले नेपालको सन् २०४५ सम्मको ‘नेट-जिरो’ उत्सर्जन लक्ष्यमा बाधा पुऱ्याउने निष्कर्ष अध्ययनले निकालेको छ ।
बायो ग्यासको अभावमा दाउरा सङ्कलन गर्नुपर्दा विशेष गरी महिला र बालबालिकाहरूको समय खेर जाने र स्वास्थ्यमा समेत असर पर्ने देखिएको छ । नेपालमा सन् २०२३ सम्म करिब ४ लाख ५० हजार बायो ग्यास प्लान्ट जडान भइसकेको तथ्याङ्क छ । तर, दिगोपनको अभावले गर्दा ठुलो लगानी बालुवामा पानी जस्तै भएको छ ।
विज्ञहरूले अबको सरकारी नीति केवल नयाँ प्लान्ट जडानमा मात्र नभई मर्मत सम्भार र दीर्घकालीन सञ्चालनमा समेत केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । स्थानीय सरकारले घर-परिवारहरूको आवश्यकता र क्षमता पहिचान गरी मर्मत केन्द्रहरू स्थापना गर्न र कार्यसम्पादनमा आधारित अनुदान प्रदान गर्न आवश्यक रहेको अध्ययनको निष्कर्ष छ ।

