28 Oct 2025, Tue

बैँक खाता अर्कैलाई दिँदा अनलाइन ठगीको बात, लोकसेवाको तयारी गर्न भन्दै ढाँटेर पुलिसको चक्कर

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनलाइन ठगी शाखा ‘पिल्लर-३’ । ढोकाको छेउमा राखिएका दुई बेन्चमा भरिभराउ ‘पीडित/पीडक?’ छन् । कोठाका हरेक कुनामा छरिएका छन्, अनुसन्धानमा खटिने प्रहरीका डेस्क अनि कुर्सी ।

पछाडिपट्टिका झ्यालबाट अप्ठ्यारो मान्दै भित्रिएको चिसो हावाको सिरेटोमा किबोर्डको टिकटिक आवाज मिसिएको छ । त्यही आवाजमा मिसिएको छ, ‘डिजिटल युग’मा रुमलिएका युवा युवतीको श्वास ।

कोठाको दायाँपट्टिको एक कुनामा ३०-३२ वर्षका एक युवक वैशाखीको सहारामा उभिएका छन् । उनको अनुहारमा डर, पश्चात्ताप र भविष्यको अनिश्चितताको बादल एकैसाथ मडारिएको छ । फोन खोलेर मोबाइल डेटा अन-अफ गर्छन्, अनि वाईफाई खोलेर निःशुल्क नेटवर्क खोज्न थाल्छन् । केही महत्त्वपूर्ण सूचना देखाउन तम्सिन्छन् । काम नभएपछि दिक्क मानेर फोन फेरि गोजीमा राख्छन् । एकैछिन पछि फेरि निकालेर उही सिलसिला दोहोऱ्याउँछन् । 

उनी हुन् लाहान सिराहाका ३१ वर्षीय ‘मिलन साह’ (नाम परिवर्तन) । उनको हरेक श्वासमा एउटा प्रश्न अड्किएको छ । अस्पष्ट, लरबरिएको र काँपीरहेको स्वरमा उनी आफ्नो अगाडि भएका एक प्रहरी अधिकारीलाई सोध्छन्, “सर, मैले कति ठगेछु ? म कति वर्ष जेल पर्छु ?”

यो केवल सामान्य प्रश्न मात्र होइन । यो त नियतिको एउटा क्रूर ठट्टामा पिल्सिएका साहको चित्कार हो । यो त्यही मिलनको आवाज हो, जो ५ लाख रुपैयाँ नहुँदा आफ्नो खुट्टाको उपचार नगराई जीवनभर अपाङ्ग भएर बस्न विवश भए । तर आज उनीमाथि १० लाख रुपैयाँ अनलाइन ठगीको गह्रुङ्गो भारी छ ।

समयले उनको जीवनको लय नै बिथोलि दियो । केही वर्षअघि उनी एउटा सामान्य जीवन बाँचिरहेका थिए । मार्केटिङको काम, परिवारको सपना र आफ्नै खुट्टामा उभिएको स्वाभिमान । तर, २०७६ मा भएको एउटा बाइक दुर्घटनाले सबै चकनाचुर बनाइदियो । दुर्घटना यति भयानक थियो कि मङ्गलबार पछारिएका उनलाई शनिबार मात्र होस आयो । कसले हान्यो, कतिबेला हान्यो, को भाग्यो, केही थाहा भएन । जब होस खुल्यो, उनी अर्कै संसारमा पुगिसकेका थिए ।

उपचारका लागि आफन्त र शुभचिन्तकको सहयोगमा चार-पाँच लाख रुपैयाँ जुटाए । लाहानदेखि दिल्लीसम्मका अस्पताल चहारे । तर अन्तिममा डाक्टरले ‘हिप रिप्लेसमेन्ट गर्नुपर्छ, सात-आठ लाख खर्च लाग्छ । तर, प्रत्यारोपणपछि पनि तपाईँ पहिला जस्तो हिँड्न सक्नुहुन्छ भन्ने ग्यारेन्टी छैन’ भने । 

त्यसपछि उनले हिप रिप्लेसमेन्ट नगराउने निर्णय लिए । “ऋणको भारी बोकेर अनिश्चित भविष्य अँगाल्नु भन्दा बरु यही अपाङ्ग शरीर स्वीकार्छु जस्तो लाग्यो,” उनी भन्छन् । 

दुर्घटनामा परेपछि भने उनी शारीरिक रूपमा धेरै काम गर्न नसक्ने अवस्थामा पुगे । शरीरले साथ नदिएपछि मार्केटिङमा भएको थोर बहुत सीप पनि काम लागेन । 

विकल्पको खोजी गर्दा लोकसेवाको तयार गर्न थालेका थिए । श्रीमतीको जिम्मामा रहेको पसल सामान्य तवरमै चलिरहेको थियो । त्यसैको आम्दानीले घरखर्च र पाँच वर्षे छोरीलाई स्कुल पढाउने खर्च धानिरहेको थियो । 

सुसाइड स्क्वाड नामक चलचित्रमा अमान्डा वालर चरित्रले भन्छ, “मान्छेमा यस्तो कमजोरी हुन्छ, जसलाई अरू कसैले हतियारका रूपमा प्रयोग गरिदिन सक्छ ।” हो ठ्याक्कै मिलनको जीवनमा पनि यस्तै भयो । 

उनको जागिर खाने सपना र आर्थिक अभावमाथि उनका छिमेकी ‘सरवनकुमार साह’को गिद्दे नजर लाग्यो । मिलनका अनुसार विदेश बसेर फर्केका २५-२६ वर्षको सरवन गाउँमा ‘फटाहा’ भनेर चिनिन्थे । उनी बेलाबेला मिलनको पसलमा आउँथे, बस्थे र उनको अवस्था नियाल्थे । 

एकदिन उनले मिलनको त्यही दुखिरहेको नशामा हात राखे । “भैया, एउटा काम छ । आफ्नो बैँक खाता दिनुस् । त्यसमा २१-२२ हजार आउँछ । आधा तपाईँ राख्नुस्, आधा मलाई दिनुस्,” सरवनले मिलनलाई फकाउन थाले ।

मिलनबाट बैंक अकाउन्ट भाडामा माग्ने सरवनको फेसबुक आईडीमिलनबाट बैंक अकाउन्ट भाडामा माग्ने सरवनको फेसबुक आईडी

मिलनले उक्त प्रस्ताव सुरुमा ठाडै अस्वीकार गरे । “इलिगल काम म गर्दिनँ, फसिन्छ,” उनले भने । तर सरवन धूर्त निस्किए । उनले आफ्नो बैँक स्टेटमेन्ट देखाए, जहाँ लाखौँको कारोबार थियो । उनले त्यही स्टेटमेन्टको आडमा भने, “मलाई केही भयो त ? बैँक अकाउन्ट दिने हो, बस काम बन्यो । महिना महिनामा तलब जसरी पैसा आउँछ ।”

सरवनले मिलनलाई थप आश्वस्त पार्दै भने, “भैया, केही हुँदैन । तपाईँलाई पढ्न पैसा पुग्छ । आरामले पढ्नु । घरमा बस्नुभन्दा काठमाडौँ गएर पढ्नु ।”

मिलनको स्वाभिमान डगमगायो । लोकसेवा पढ्ने सपनाको अगाडि उनको विवेक कमजोर बन्यो । “त्यतिखेर लाग्यो १० हजार आयो भने मेरो एउटा समस्या सल्भ हुन्छ,” उनी आफ्नो कमजोरी स्वीकार्छन् । सरवनको स्वभाव थाहा नपाउने गाउँमा कोही थिएनन् । उनले अरूलाई फाइदा हुने काम दिन्छन् भन्नेमा गाउँका कसैलाई विश्वास नै थिएन । स्वार्थ नभई सरवन कसैको नजिक पनि पर्दैनन् भन्ने बुझेका थिए, सबैले । यी सबै जान्दाजान्दै पनि मिलनको मन बहकियो । उनले यो कुरा श्रीमतीलाई सुनाए । त्यतिबेलै उनकी श्रीमतीले भनेकी थिइन्, “यसले फसाउँछ तपाईँलाई । यस्तो काम नगर्नुस् । किन मागेको हो पनि थाहा छैन ।” तर, सपनाको मात लागेको बेला मिलनले श्रीमतीको कुरा सुनेनन् । उनले आफ्नो बैँकको खाता नम्बर र पासवर्ड सरवनलाई सुम्पिदिए । सरवनलाई दिएको केही मिनेटमा उनको सिममा ओटीपी कोड आयो । मिलनले ओटीपी कोड पनि सरवनलाई बुझाए ।

त्यसपछि उनको खातामा पैसाको बाढी आयो । पसलको मोबाइल बैङ्किङ पनि उनको मोबाइलमा लगइन थियो । पसलमा कसैले अनलाइनबाट रकम पठाउँदा मिलनको मोबाइलमा नोटिफिकेसन बजिरहेको हुन्थ्यो । सुरुसुरुमा उनले पसलकै पैसा होला भन्ने ठाने । “पसलमा दिनमा क्यूआर कोडबाट चार पाँच सय रुपैयाँ आउथ्यो । त्यसको नोटिफिकेसन बजिरहेको हुन्थ्यो । त्यो दिन पनि त्यही नोटिफिकेसन होला भन्ने सोचेँ मैले,” उनी भन्छन् । 

तर, अस्वाभाविक रूपमा तारन्तार नोटिफिकेसन आउन थालेपछि उनलाई शङ्का लाग्यो । रातको समयमा मोबाइल प्रयोग गर्दै गर्दा उनले बैंक स्टेटमेन्ट हेरे । उनको खाताबाट लाखौँ लाखको कारोबार भएको देख्दा उनको होस हवास् नै उड्यो । 

मिलनले थाहा नपाई उनको खाताबाट लाखौँको कारोबार भइसकेको थियो । उनी आत्तिए । यति धेरै रकमको कारोबार, त्यो पनि यति थोरै समयमा । उनले तत्कालै लख काटे । यो सबै सरवनकै काम हो । त्यसपछि उनले खाता बन्द गर्न लगातार गलत पासवर्ड हानेर प्रयास गरे । र, उनको अकाउन्ट ब्लक भयो । “मैले के जुक्ति लगाएँ भने रातको समयमा कसलाई कहाँ फोन गरेर भन्ने ? मसँग कुनै उपाय थिएन । गलत पासवर्ड राख्यो भने केही समयका लागि बैंक अकाउन्ट लक हुन्छ भन्ने थाहा थियो, त्यही गरेँ,” उनी भन्छन् । कारोबार त रोकियो, तर मनको डर रोकिएन ।

उनले सरवनलाई यो कुरा सुनाउँदा उनले हाँसेर भने, “केही हुँदैन । त्यो बैँकमा जानै छोड्देउ ।” उल्टै उनले थप लोभ देखाउन थाले, “बरु तिम्रो अर्को खाता पनि ल्याउ, म तिमीलाई ४० हजार नगद दिन्छु ।” अब मिलनलाई आफू एउटा अदृश्य पासोमा परिसकेको कुरा थाहा भइसकेको थियो । उनी बैँक जान डराए, कतै प्रहरीले पक्राउ गर्ला कि भन्ने त्रासले रातको निद्रा र दिनको भोक हरायो । 

तर, उनलाई जुन कुराको डर थियो, आखिरी त्यही भयो । केही समयपछि उनको अपाङ्गता भत्ता खातामा आयो । त्यही थोरै पैसा झिक्न उनी बैँक पुगे । कर्मचारीको एउटै वाक्यले उनको पैतालामुनिको जमिन भासियो – “तपाईँको खाता ब्लक छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्नुहोला ।” उनले थाहा पाइसकेका थिए, यो सबै त्यो ११ हजार रुपैयाँको लोभले निम्त्याएको परिणाम हो । “म अपाङ्गको सहारामा दुई छोराछोरी, आमा-बुबा र श्रीमती छन् । प्रहरीले मलाई घरमै आइ पक्राउ गरे भने उनीहरू आत्तिन्छन् जस्तो लाग्यो,” उनी मोबाइलमा आफ्नो परिवारको फोटो देखाउँदै भक्कानिन्छन्, “म अब लोक सेवा पढ्छु भनेर बुढीलाई फकाएँ । अनि यहाँ आएँ ।”

आज उनी त्यही कार्यालयमा छन्, जहाँ अपराधको अनुसन्धान हुन्छ । उनलाई प्रहरीले बोलाएकै थिएन । तर ढिलोचाँडो बोलाउने कुरा पक्का जस्तै थियो । प्रहरीले बैँकलाई खाता ब्लक गर्न अनुरोध गरेपछि ग्राहकले खाता बन्द हुनुको कारण सोध्छन् । त्यसपछि बैँकले प्रहरी कार्यालयमा उपस्थित हुन सुझाव दिन्छ । धेरैजसो व्यक्तिहरू आफैँ प्रहरीकहाँ जान डराउँछन् वा भनौँ प्रहरीले नै नबोलाई जाँदैनन् । तर नबोलाए पनि प्रहरी कार्यालयमा पुग्ने केही सीमित व्यक्तिमा पर्छन्, मिलन साह । 

कार्यालय पुगेपछि उनले थाहा पाए ११ हजारको लोभमा अर्कैको जिम्मा लगाएको खाताबाट सर्वसाधारणको करिब साढे नौ लाख रुपैयाँ ठगिएको रहेछ । पैसा विभिन्न व्यक्तिको खातामा पठाइ सकिएको थियो । उनलाई थाहै नदिई उनको पहिचान प्रयोग गरेर ठुलो आर्थिक अपराध भइसकेको थियो । 

मदन शर्मा (नाम परिवर्तन) ले आफू अनलाइन लगानी गर्ने नाममा ठगिएको भन्दै कार्यालयमा निवेदन दिएका थिए । त्यही निवेदनमा मदनले एक लाख रुपैयाँ पठाएको भन्दै मिलनको खाता नम्बर उल्लेख गरेका दिए । त्यही निवेदनका आधारमा मिलनको खाता ब्लक भएको थियो । 

अहिले मदनको नजरमा मिलन ठग हुन् । तर, यता पर्दा पछाडि भने सरवन छन् । सरवन पनि आफैँ यसमा आबद्ध छन् वा उनले पनि अरूकै लागि काम गर्छन् भन्ने मिलनलाई थाहा छैन । ‘उनलाई अहिले लोकसेवा आयोग’ पास गरेर राम्रो कमाई गर्ने सपना पनि अधुरै रहन्छ कि भन्ने पीर छ । त्यसैले त उनी ‘मैले कति ठगेको रहेछु सर ?’, ‘म कति वर्ष जेल बस्नु पर्छ सर ?’ भन्दै बारम्बार प्रश्न गरिरहेका हुन्छन् । उनलाई ‘जेल परेपछि लोक सेवाको परीक्षा दिन पाइँदैन होला’ भन्ने पीर छ । ‘म ठगी भएको रकम तिर्छु र पीडितलाई मुद्दा फिर्ता लिन लगाउँछु’ भन्न आर्थिक हैसियतले दिँदैन । 

यसरी उनकै अघि उनको सपनाले साथ छोड्न आँटेको छ । यी सबै पीडा गुम्साएर बस्नुभन्दा ‘आत्महत्या’ गरे सन्तोष मिल्छ कि भन्ने सोच उनको मनमा छ । “म बरु मरेँ भने परिवारलाई अप्ठ्यारो पर्दैन होला । एक त अपाङ्ग, अर्को ठगको आरोपको भारले थिचिएको मलाई मेरो परिवारले कसरी सम्हाल्छ होला ?,” उनी आँसु झार्दै आफ्नो पीडा सुनाउँछन्, “श्रीमतीले विश्वास नगर्न भनेकै थिइन् । मैले ‘तँलाई के था ?’ भन्दै उल्टै झपारेँ ।” अहिले उनलाई त्यही जवाफ सम्झेर ग्लानी भइरहन्छ । श्रीमतीलाई वास्तविकता सुनाउने सामर्थ्य उनीसँग छैन । 

यसभन्दा भयानक अर्को आगो पनि उनको छातीमा दन्किरहेको छ । “मलाई जेलै बस्नुपरे पनि बस्छु । म कसैलाई जेल परेको कुरा सुनाउँदिन । तर यहाँबाट जुन दिन छुट्छु, त्यो दिन त्यो केटालाई म के गर्छु मलाई मात्र थाहा छ,” उनी आफूभित्रबाट क्रोधको चित्कार बाहिर निकाल्छन् । 

“मैले गल्ती गरेँ, लोभमा फसेँ,” उनी भन्छन्, “तर मैले एक रुपैयाँ पनि पाएको छैन । अब मेरो लोकसेवा पढ्ने सपनाको के हुन्छ ? मेरो परिवारको के हुन्छ ?” उनको यो प्रश्नको जवाफ उनले पाएका छैनन् । 

अपाङ्ग शरीरको आडमा उनले सहानुभूति बटुल्न यी सबै बाहाना बनाएका हुन् कि भन्ने शङ्का गर्न पनि सकिन्छ । “काम गर्न नसक्ने भएकाले सजिलै गर्न सकिने किसिमको काम गर्न खोज्दा उसले नै ठगीको धन्दा चलाएको पनि हुनसक्छ,” घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी भन्छन्, “अहिले एक जनाको मात्र निवेदन परेको छ । तर, यो अहिले अनुसन्धानकै क्रममा छ ।”

उस्तै त्रासदीपूर्ण पीडामा मदन शर्मा !

कीर्तिपुरको कुनै कुनामा रहेको एउटा सानो कोठा । त्यही कोठामा एउटा ठुलो सपना बुनिरहेका थिए, मदन शर्मा (नाम परिवर्तन) । बझाङको मध्यमवर्गीय परिवारको आशाको त्यान्द्रो बनेर उनी काठमाडौँ आएका थिए । सपना थियो- ‘कुनै सरकारी बैँकको ठुलो कुर्सीमा बसेर परिवारको नाम चम्काउने’ । नेपाल कमर्स क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर सकेर उनी त्यही सपनालाई साकार पार्न लोकसेवा आयोगको तयारीमा घोटिइरहेका थिए । 

लोक सेवाका तयारी कक्षाले पठाउने सूचना र अध्ययन सामग्रीका लागि मदनले टेलिग्राम एप चलाउँथे । उनको दैनिकी किताब, नोट र त्यही टेलिग्रामको च्यानलमा सीमित थियो । एक दिन त्यही अध्ययनको माध्यम बनेको टेलिग्राममा एउटा नौलो मेसेज आयो, “के तपाईँ अनलाइनबाटै घर बसीबसी कमाउन चाहनुहुन्छ ?”

सुरुमा उनले यस्ता मेसेज बेवास्ता गरे । तर, फरक-फरक अकाउन्टबाट उस्तै प्रकृतिका मेसेज लगातार आउन थालेपछि उनको मनमा पनि जिज्ञासा पलाउन थाल्यो । “सुरुमा त मैले वास्तै गरेको थिइनँ,” मदन त्यो क्षण सम्झिन्छन्, “तर दिनदिनै म्यासेज आउन थालेपछि के रहेछ त यो भनेर बुझ्न मन लाग्यो ।”

उनले एउटा मेसेजको रिप्लाई दिए । तत्कालै उताबाट ‘‘ETSY Company’ नामक एक अमेरिकी ई-कमर्स प्लेटफर्मको प्रतिनिधि हुँ’ भन्दै कुरा सुरु भयो । कुराकानीलाई थप विश्वसनीय बनाउन ‘आकृति मल्ल’ नाम गरेकी एक नेपालीभाषी युवतीलाई सामेल गराइयो । आकृतिले प्रस्ट नेपालीमा कम्पनीको काम, त्यसको अन्तर्राष्ट्रिय पहुँच र घरमै बसेर हजारौँ कमाउन सकिने सपना देखाइन् ।

नेपाल सरकारबाट सञ्चालनको मान्यता पाएको देखाउने नक्कली प्रमाणपत्रनेपाल सरकारबाट सञ्चालनको मान्यता पाएको देखाउने नक्कली प्रमाणपत्र

मदनको मनमा अझै शङ्का थियो । उनले कम्पनीबारे प्रमाण मागे । आकृतिले तुरुन्तै कम्पनीको दर्ता प्रमाणपत्र, वित्तीय विवरण जस्ता आकर्षक र आधिकारिक देखिने कागजातहरू पठाइन् ।

कम्पनी विश्वव्यापी रूपमा सञ्चालन छ भन्ने देखाउन प्रयोग भएको नक्कली प्रमाणपत्रकम्पनी विश्वव्यापी रूपमा सञ्चालन छ भन्ने देखाउन प्रयोग भएको नक्कली प्रमाणपत्र

“त्यसले मलाई कम्पनीको डकुमेन्ट पठायो । मैले शङ्का लागेर गुगलमा ‘ETSY Company’ भनेर खोजेँ, त्यहाँ पनि देखायो,” मदन भन्छन्, “गुगलमा जे देखियो, त्यो साँचो हो भन्ने भ्रममा परेँ । मुख्य गल्ती र सबैभन्दा ठुलो विश्वास त्यहीँबाट सुरु भयो ।”

गुगलमा भेटिएको जानकारी र आकर्षक कागजातले उनको मनमा रहेको अन्तिम शङ्का पनि मेटाइदियो । त्यसपछि उनीहरूले मदनलाई एउटा सानो अनलाइन तालिम दिए । काम थियो – अनलाइनमा देखाइएका सामानको ‘अर्डर’ लाई एसेप्ट गर्ने अनि ‘सब्मिट’ गरेर प्रक्रिया पूरा गर्ने । त्यो सानो काम सकेबापत उनको खातामा तुरुन्तै ६०० रुपैयाँ आयो । बिना लगानी आएको त्यो रकमले मदनको विश्वास झनै बलियो बनायो ।

पहिलो दिनको सफलताले मदनलाई हौस्यायो । दोस्रो दिन आकृतिले भनिन्, “अब तपाईँले ११ हजार रुपैयाँ लगानी गर्नुपर्छ ।”

६०० रुपैयाँ सित्तैमा पाएका मदनले ११ हाल्न धेरै सोचेनन् । उनले तोकिएको काम पूरा गरे लगत्तै उनको खातामा १६ हजार रुपैयाँ फिर्ता आयो । तेस्रो दिन फेरि ११ हजार लगानी गर्न लगाइयो र केही समयपछि काम सकिएपछि थप २२ हजार लगानी गर्न भनियो । कुल ३३ हजारको लगानीपछि उनको खातामा ४२ हजार रुपैयाँ आयो ।

यो प्रक्रिया चौथो दिन पनि चल्यो । ३० हजार लगानी गर्दा ४५ हजार छ सय रुपैयाँ आयो । अब मदनलाई यो काममा ‘नशा’ लाग्न थालिसकेको थियो । उनलाई लाग्यो – यो त पैसा कमाउने सबैभन्दा सजिलो बाटो रहेछ ।

रिकन्स्ट्रक्ट गरिएको स्क्यामर र मदनको च्याट (मेसेज पढ्न स्क्रोल गर्नुहोला)

https://investment-scam-tp.netlify.app

“अघिल्लो दिन पैसा आइरहेको थियो, अब आज पनि आउँछ कि भन्ने लाग्यो,” उनी त्यो बेलाको आफ्नो मनोविज्ञान सुनाउँछन्, “दिनकै हजारौँ रकम फाइदा हुन थालेपछि ‘जागिर त के खानु’ भन्ने सोच पनि आयो । अरूलाई पनि यो काम लगाइदिन्छु भन्ने सोचेँ ।”

उनी अगाडि थप्छन्, “त्यही लोभले मलाई फसायो । मान्छेको स्वभावै हो, पैसा आउन थालेपछि झन् धेरै कमाउन मन लाग्ने ।”

पाँचौँ दिन उनलाई ५० हजार रुपैयाँ लगानी गर्न लगाइयो । तर यसपटक खेल बदलियो । काम सकेपछि पैसा फिर्ता आएन । उताबाट मेसेज आयो, “तपाईँलाई ‘डबल टास्क’ परेको छ, यो विशेष अवसर हो । अब तपाईँले थप एक लाख ६२ हजार रुपैयाँ हाल्नुपर्छ, अनि मात्र सबै पैसा एकैचोटि आउँछ ।”

अघिल्लो लगानी डुब्ने डर र थप नाफाको आशामा उनले होस गुमाए । आफूसँग भएको ५० हजार रुपैयाँ सकिएपछि उनले साथीभाइ र आफन्तसँग हारगुहार गर्न थाले । उनीहरूले ‘एट एक्स’ जस्ता विभिन्न बहाना बनाउँदै उनलाई पटक-पटक गरी चार लाख २४ हजार रुपैयाँसम्म हाल्न लगाए ।

यसरी पहिलो चरणमा उनले कूल १२ लाख रुपैयाँ दिनेशकुमार महतो, राकेशकुमार साह, दीपेश चौधरी, विकासकुमार मल्ल जस्ता विभिन्न व्यक्तिका नाममा रहेका बैंक खातामा जम्मा गरिसकेका थिए । उनको अनलाइन खातामा २४ लाख ३६ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भएको देखाइएको थियो । यतिबेलासम्म ‘ठगिँदै छु’ भन्ने चालसम्म पाएका थिएनन्, उनले । 

आफ्नो अनलाइन खातामा २४ लाखभन्दा बढी रकम देखेपछि मदनले त्यो पैसा झिक्न (विथड्र) खोजे । तर, यहीँ ठगको अन्तिम र सबैभन्दा घातक चाल सुरु भयो । उताबाट मेसेज आयो, “तपाईँले एकैचोटि सबै रकम झिक्न खोजेर गल्ती गर्नुभयो । सिस्टमले यसलाई अवैध मानेको छ । अब यो रकम अनलक गर्न तपाईँले जम्मा भएको रकमको ५० प्रतिशत अर्थात् १२ लाख रुपैयाँ फेरि जम्मा गर्नुपर्छ ।”

उनले गुमाएको रकमको सबैभन्दा दर्दनाक कथा एउटा छ । शिक्षक पेसामा रहेका उनका एक जना दाइले हालै मात्र जग्गा किन्न १४ लाख रुपैयाँ जम्मा गरेर राखेका थिए । मिलनले उनैलाई विश्वासमा पारे ।

आफ्नो र साथीभाइको गरेर १२ लाख डुबिसकेको अवस्थामा मदनसँग अर्को कुनै विकल्प थिएन । उनले फेरि ऋण खोजेर १२ लाख रुपैयाँ हाले । तर, पैसा फिर्ता आएन । यसपछि ठगहरूले नयाँ माग अघि सारे – ‘खाता बाइन्डिङ फि’ ।

“उनीहरूले मेरो पैसा मर्चेन्टको खातामा अड्किएको छ र त्यो पैसा मेरो खातामा पठाउन १५ लाख रुपैयाँ ‘बाइन्डिङ फि’ लाग्छ भने,” मदनले आफ्नो पीडा पोखे, “मैले अब एक रुपैयाँ पनि दिन सक्दिनँ भनेपछि उनीहरूले नौ लाख भए पनि हाल्नुस्, तपाईँको पैसा फिर्ता आउँछ भन्न थाले ।”

त्यसपछि भने बल्ल मदनको होस खुल्यो । उनले आफू नराम्ररी ठगिएको चाल पाए, “पैसा झिकिसकेपछि मेरो खातामा आउनुपर्ने हो । यो ‘बाइन्डिङ फि’ भन्ने कहाँबाट आयो?,” उनले भने, “त्यसपछि मलाई शङ्का लाग्यो र साथीहरूको सल्लाहमा म सिधै टेकु प्रहरीकहाँ पुगेँ ।”

“मैले साथीहरूलाई यस्तो यस्तो अन्तर्राष्ट्रिय कम्पनी छ, डकुमेन्ट पनि छ, पैसा आउँछ भनेरै मागेँ,” उनी गह्रुङ्गो मनले गल्ती स्वीकार्छन्, “एक जना दाइले त जग्गा किन्छु भनेर जम्मा गर्नुभएको १४ लाख रुपैयाँ दिनुभयो । पैसा छिट्टै फिर्ता हुन्छ भन्नेमा हामी सबै ढुक्क थियौँ । अब के झुट बोल्नु, जे भयो भयो ।”

अहिले मदनले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा आफू ठगिएको निवेदन दिएका छन् । उनको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यस्ता अपराधको अनुसन्धानका क्रममा प्रहरी सबैभन्दा पहिला पीडितले रकम पठाएका खाता ब्लक गर्नतर्फ लाग्छ । यसरी मदनले रकम पठाएको खाता ब्लक गर्ने क्रममा माथि उल्लेख भएका पात्र ‘मिलन’को खाता पनि ब्लक भएको हो । रकम पठाउन प्रयोग हुने अधिकांश खाता मिलन जस्तै पात्रका छन् । “केहीले गुटखाको लोभमा खाता दिएका छन्,” अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, “अब बुझ्नुस्, उनीहरूले कसरी लाखौँ रकम तिर्न सक्छन् होला ?”

यता मदन आफूलाई त्यस काममा लगाउने व्यक्तिको इनबक्समा हार गुहार गर्छन् । “म मर्न मात्र बाँकी छ दाइ, कृपया मेरो पैसा फिर्ता गरिदिनु । मलाई बढी चाहिदैन,” मदन ती स्क्यामरलाई भन्छन् । उताबाट रिप्लाई आउँछ, “भनेको जति रकम हाल तिमी आफ्नो पैसा पाइहाल्छौ । नदिने भए उहिल्यै ब्लक गरिसक्थेँ ।”

ठगीको यो जालो यति जटिल छ कि मुख्य योजनाकारसम्म पुग्न प्रहरीलाई पनि हम्मेहम्मे परेको छ । अहिले पीडक मिलन र पीडित मदन देखिएका छन् । तर, यी दुबै पीडित पक्षमा पर्छन् । केही हजार रकमको लोभमा खाता बेच्ने मिलन जस्ता सयौँ पात्र छन् । अधिकांश विद्यार्थी, गृहिणी र बेरोजगार युवायुवती छन् । बैँक अकाउन्ट दिएकै भरमा केही रकम पाउने भएपछि उनीहरू खाता नै सुम्पिन तयार हुन्छन् । 

यता सरकारी जागिरको सपना बोकेर हिँडेका मदन आज २२ लाखभन्दा बढीको ऋणको भारीले थिचिएका छन् । उनको लोक सेवाको तयारी र उज्ज्वल भविष्यको सपना दुवैमा ग्रहण लागेको छ । जग्गा किन्न राखेको पैसा डुबाएका दाइलाई दिने जवाफ उनीसँग छैन । 

“अब रोएर सुख छैन । गल्ती भइहाल्यो, अब कानुनी लडाइँ लड्नुको विकल्प छैन,” उनी निराश भए पनि दृढ सुनिए, “जे हुनु भइसक्यो । कम्तीमा मेरो यो कथाले अरू कोही यसरी नफसुन् । गुगलमा देखिने हरेक कुरा पत्याउने र सजिलै पैसा कमाउने लोभले जीवनभरको कमाइ र सपना दुवैलाई कसरी खरानी बनाउँछ भन्ने पाठ सबैले सिकुन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *