काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको करिब एक महिनापछि मेसेजिङ एप टेलिग्रामले नेपालको कानुनअनुसार दर्ताका लागि निवेदन दिएको छ । टेलिग्रामले शनिबार राति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ईमेल पठाउँदै नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालन गर्न तयार रहेको निवेदन पठाएको हो ।
शनिबार राति पठाएको ईमेल मन्त्रालयले आइतबार दर्ता गरेको छ । अनलाइन ठगी, मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिमा टेलिग्रामको प्रयोग बढेको भन्दै मन्त्रालयको पत्र बमोजिम नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको थियो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टेलिग्रामले नेपालमा दर्ता हुन आउन औपचारिक निवेदन पठाएको पुष्टि गरे । “शनिबार राति ईमेल पाएका हौँ । आज आइतबार ईमेलमा पठाएको निवेदन दर्ता गरिएको छ । निवेदनसहित टेलिग्रामले पठाएका कागजातसहितका दस्ताबेज अध्ययनको क्रममा छौँ । त्यो हेर्न भ्याइसकेका छैनौँ,” ठाकुरले भने ।
सरकारले एपमाथि प्रतिबन्ध लगाएपछि टेलिग्रामले आफ्ना प्रतिनिधि सन्दीप यादवलाई नेपाल पठाएको थियो । यादवसहितको टोलीले सञ्चार मन्त्रालयका अधिकारीहरूसँग के कारण नेपालले टेलिग्राममाथि प्रतिबन्ध लगाएको हो, नेपालले सामाजिक सञ्जालसम्बन्धी लागु गरेका नियमलगायतका विषमा सोधीखोजी गरेको थियो ।
डेढ घण्टासम्म चलेको छलफलमा टेलिग्राम नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालन गर्न चाहे सहजीकरण गर्ने प्रतिबद्धता सञ्चार मन्त्रालयले जनाएको थियो । त्यसका लागि सञ्चार मन्त्रालयका अधिकारीहरूले आवश्यक पर्ने कागजात, दस्ताबेजसहित निवेदन पठाउन टेलिग्रामका अधिकारीहरूलाई सहयोग गरेका थिए ।
“सन्दिप यादव नाम गर्नुभएको व्यक्ति टेलिग्रामको प्रतिनिधित्व गर्दै हामीसँग मन्त्रालयमा छलफलका लागि आउनु भएको थियो । टेलिग्राममा प्रतिबन्ध लगाएपछि उहाँहरू आउनु भएको हो । हामीले सबै विषय बतायौँ । त्यसपछि उहाँहरूले शनिबार ईमेलमार्फत निवेदन पठाउनु भएको हो,” ठाकुरले टेकपानासँग भने ।
मन्त्रालयले सबै कागजात रुजु गर्ने र कानुनसम्मत देखिए सरोकारवालाहरुसँग छलफल गरेर टेलिग्राममाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी अघि बढाएको छ । “कसैले नेपालको कानुनअनुसार सञ्चालन गर्छु, कानुन मान्छु भनेर आयो भने त प्रतिबन्ध लगाइ राख्नुको औचित्य हुँदैन । प्रविधिमाथि प्रतिबन्ध लगाउन हुँदैन भन्नेमा हामी स्पष्ट छौँ । तर, नेपालको कानुनअनुसार सञ्चालन गर्नुपर्छ । टेलिग्रामका कागजात अध्ययन गर्छौँ, त्यसपछि सबैसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ,” ठाकुरले भने ।
सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएपछि विभिन्न २८ ओटा अधिकारवादी तथा नागरिक संस्थाहरूले टेलिग्राममाथि लगाइएको प्रतिबन्धलाई संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको भन्दै फिर्ता लिन माग गरेका थिए । टेलिग्राममाथि प्रतिबन्ध लगाउँदा नेपालको भीपीएन ट्राफिक झन्डै १५ प्रतिशतसम्म वृद्धि भएको छ ।

