काठमाडौँ । नेपाल टेलिकमले आफ्नो बिलिङ प्रणालीमा आएको प्राविधिक गडबडीका कारण ग्राहकले दोहोरो खरिद गरेका, तर प्रयोग नभएका डेटा प्याकेजको रकम फिर्ता गरेको छ । सोमबार दिउँसो भएको यो गडबडीका कारण प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको थियो ।
दिउँसो पौने २ बजेदेखि करिब ६ बजेसम्म देशभर सेवा प्रभावित हुँदा प्रयोगकर्तालाई टेलिकमको शर्टकोड १४१५ नम्बरबाट प्याकेजका साथै रिचार्ज गर्दा पाइने बोनस ‘एक्स्पायर्ड’ भएको भन्दै गलत एसएमएससमेत गएको थियो । कतिपय प्रयोगकर्ताले डेटा प्याक छँदै सकिएको मेसेज आएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् ।
एउटा प्याकेज कायम रहँदा रहँदै प्रयोगकर्ताले अर्को प्याकेज किन्दा प्रयोग भएको ब्यालेन्स फिर्ता गरिएको टेलिकमले जनाएको छ ।
“२०८२/०४/१२ गते दिउँसो यस कम्पनीको नेटवर्कमा समस्या आएका कारण उक्त समयावधिमा ग्राहक महानुभावहरूले दोहोरो पर्ने गरी खरिद गर्नु परेको तर प्रयोगमा नआएका Package हरूको रकम सम्बन्धित ग्राहकको Balance मा फिर्ता गरिसकिएको छ । सो सम्बन्धमा केही गुनासो वा जिज्ञासा रहेमा नेपाल टेलिकमको नम्बरबाट १४९८ मा डायल गर्नुहुन समेत अनुरोध छ,” टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।
कम्पनीले फोरजी तथा भोल्टे सेवामा प्राविधिक समस्या आएको दाबी गरे पनि बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा देशभर डेटा सेवा प्रभावित बनेको थियो ।
टेलिकमको नेटवर्कमा देखिएको समस्या गम्भीर भएको विश्लेषण गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान अघि बढाइसकेको छ ।

