काठमाडौँ । नेपाली ई-स्पोर्टस् टोली ‘होरा ईस्पोर्ट्स’ पब्जी मोबाइल विश्वकपमा प्रतिस्पर्धा गर्न मङ्गलबार साउदी अरब प्रस्थान गरेको छ । २५ जुलाई (९ साउन ) देखि सुरु हुने ‘ईस्पोर्ट्स वर्ल्डकप’ अन्तर्गत पब्जी मोबाइल विधामा नेपालको प्रतिनिधित्व गर्दै होरा ईस्पोर्ट्सले विश्वका उत्कृष्ट टोलीहरूसँग भिड्नेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ई-स्पोर्ट्स संघ (इशान) का अध्यक्ष अञ्जन धमलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । टोलीमा खेलाडीहरू आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामा रहेका छन् भने व्यवस्थापकमा उमेश बुढथापा तथा अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी छन् ।
टोलीले विश्वकप जित्ने लक्ष्यका साथ प्रतियोगितामा भाग लिन लागेको जनाएको छ । “हाम्रो मानसिकता विश्वकप जित्ने नै हो र सोहीअनुसार तयारी गरेका छौं,” टोलीका अफिसियल सञ्जन गौतमले भने ।
होरा ईस्पोर्ट्सले हालै कजाखस्तानमा सम्पन्न ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२४’ मा दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट भएको हो । विश्वका २४ उत्कृष्ट टोली सहभागी हुने यस प्रतियोगितामा नेपालबाट छनोट हुने होरा एक्लो टोली हो ।
प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर (अनुमानित ४१ करोड नेपाली रुपैयाँ) रहेको छ । जसमा विजेताले मात्रै करिब सात करोड रुपैयाँ प्राप्त गर्नेछ ।
होरा ईस्पोर्ट्सले आफ्नो पहिलो चरणको खेल २५-२७ जुलाईमा खेल्नेछ । उक्त चरणमा उत्कृष्ट प्रदर्शन गरेमा टोली सोझै फाइनलका लागि छनोट हुनेछ, अन्यथा जुलाई २८ र २९ मा हुने अर्को चरणमा पुनः प्रतिस्पर्धा गर्नुपर्नेछ ।

